७ प्रतिवादीसहित रिहा भएका रविलाई परिवारको जिम्मा लगाइयो
पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतले बिहीबार लामिछानेसहित ७ जना प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश दिएसँगै उनी रिहा भएका हुन् । योसँगै करिब ८४ दिन कास्की प्रहरी हिरासतमा रहेका लामिछाने थुनामुक्त भए ।
न्यायाधीश नीतिज राईको इजलासले प्रतिवादीहरूमध्ये लामिछानेसँग ६५ लाख, पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख, लीला पछाईसँग ३७ लाख, रामबहादुर खनालसँग १५ लाख, आरती गुरुङसँग ५ लाख, मीना गुरुङसँग ५ लाख र कृष्णबहादुर गुरुङसँग १ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्ने आदेश गरेको हो । स्रेस्तेदार राजन खनालले फरक–फरक कसुरमा प्रतिवादीहरूलाई पनि फरकफरक धरौटी माग गरिएको जानकारी दिए । उनले भने, ‘यो थुनछेक आदेश मात्र हो । मुद्दा टुंगिएको होइन । अदालतले अब मुद्दा अघि बढाउँदा प्रमाण बुझ्ने तथा साक्षीहरूको बकपत्रलगायत काम गर्नेछ । आदेशमा चित्त नबुझे सरकारी पक्षलाई पुनः पुनरावेदन गर्न पाउने हकदैया हुने कानुनी व्यवस्था छ ।’
हाल अदालत उपस्थित गराइएका ७ प्रतिवादीमध्ये लीला पछाईको हकमा माग गरिएको ३७ लाख धरौटी बुझाउन बाँकी छ । लामिछाने, जोशी र खनालले बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका हुन् । धरौटी बुझाएकाहरू बिहीबार नै हिरासतमुक्त भएका छन् । काठमाडौंको स्वर्णलक्ष्मीलगायत सहकारीमा समेत प्रतिवादी बनाइएका लामिछाने कास्कीबाट थुनामुक्त भए पनि काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ । त्यहाँ लामिछानेसमेतका प्रतिवादीविरुद्ध १ अर्ब १९ करोड ४८ लाख बिगो मागदाबी गर्दै गत साता मुद्दा दायर भएको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा ६३ जनालाई प्रतिवादी बनाएर कास्की अदालतमा अभियोगपत्र दायर भएको थियो । गत वर्ष १८ असोजमा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएकामा उनीहरूविरुद्ध यस वर्ष गत ५ पुसमा जिल्ला सरकारी वकिल कार्यालयले थप अभियोगपत्र लगेको हो । त्यस्तै, ७ पुसमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी जोशीसमेत थप ४४ जनालाई प्रतिवादी बनाएर पूरक अभियोगपत्र जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अदालतमा दायर गरेको थियो । अभियोगपत्रमा ती प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो मागदाबी गरिएको छ ।
अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि खुसीयालीमा रास्वपा कार्यकर्ता एवं रवि समर्थित ।
लामिछानेलाई सहकारीको रकम अपचलन तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौं वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा ल्याइएको थियो । त्यसअघि ८ असोजमा छविलाल जोशी पक्राउ परेका हुन् । अनुसन्धान गर्दै जाँदा लामिछानेसमेत जोशी, सहकारीका संस्थापक जीबी राई, रामबहादुर खनाल र लीला पछाईविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दासमेत लगाइएको थियो ।
कास्की प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा लामिछानेसमेतलाई सहकारी ठगी प्रकरणमा विभिन्न जिल
