२४ पुस २०८१, बुधबार | January 8, 2025

बागलुङको भीमगिठे माविको भवन भारतको सहयोगमा निर्माण


January 7, 2025
332
Shares

काठमाडौं, २३ पौष । भारतको सहयोगमा बागलुङस्थित श्री भीमगिठे माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । मंगलबार जिल्ला समन्वय समिति, बागलुङका प्रमुख अमर बहादुर थापा, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंहले संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिलाई औपचारिक रुपमा हस्तान्तरण गरेका छन्।

हस्तान्तरण कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग अन्य सहयोगी संरचनासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको जनाइएको छ । परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो र जिल्ला समन्वय समिति, बागलुङमार्फत कार्यान्वयन गरिएको थियो ।

जिल्ला समन्वय समिति, बागलुङका प्रमुख, बडिगाड गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको सराहना गरे । नवनिर्मित संरचना बागलुङस्थित श्री भीमगिठे माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्न उपयोगी हुने विश्वास लिइएको छ ।

प्राथमिक विद्यालयका रुपमा श्री भीमगिठे माध्यमिक विद्यालय सन् १९५८ मा स्थापना भई सन् १९६८ मा निम्न माध्यमिक विद्यालयका रुपमा स्तरोन्नत भएको हो । सन् १९८८ मा विद्यालय माध्यमिक तहमा स्तरोन्नत भएको हो । विद्यालयले कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएको छ । विद्यालयमा करिब ७०० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिक्रिया