२४ पुस २०८१, बुधबार | January 8, 2025

ईन्जिनियरिङ परिसदका अध्यक्ष शाही र राष्ट्र बैंकका इडी पौडेलको प्रमुख आतिथ्यमा एनभिएको ३ दिने तालिम सम्पन्न


January 6, 2025
9.5k
Shares

काठमाडौं,२२ पुस । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए)ले मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको क्षमता अभिबृद्धि गर्ने उद्देश्यसहित ३ दिने तालिम सम्पन्न गरेको छ । राजधानीको एक होटलमा शुक्रबारदेखि संचालन गरिएको सो तालिम आइतबार समापन गरिएको हो ।

नेपाल ईन्जिनियरिङ्ग परिषदका अध्यक्ष प्रा.डा.पदम बहादुर शाहीको प्रमुख आतिथ्य र एनभिएका अध्यक्ष ई.सञ्जय कुमार महतोको सभापतित्वमा उक्त तालिम सुरु भएको थियो भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समापन कार्यक्रमका प्रमुख अतिथि थिए ।

 

समापन कार्यक्रमलाई सम्बोधन गर्दै एनभिएका अध्यक्ष ई.सञ्जय कुमार महतोले भ्यालुयर्स इन्जिनियरहरुले बदमासी गरे एनभिएले कारबाही गर्ने चेतावनी दिए । उनले राम्रो कामको समर्थन,सहयोग र नराम्रो काम गरेमा विरोध मात्र होइन आवश्यक परे कारबाही गर्ने समेत बताए । इन्जिनियरहरुले अन्जानमा गरेको गल्तीलाई एनभिएले समर्थन गर्दै होस्टेमा हैसे गर्ने पनि स्पष्ट पारे । तर बैंकसँग मिलेर जनताको पैसामाथि खेलवाड गरेमा भने संस्थाले साथ नदिने पनि दोहोह्राए ।

त्यसैगरी,राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले बैंक,वित्तिय संस्था बदमास भए इन्जिनियरहरुलाई सहयोग नगर्न आग्रह गरे । “कर्जा प्रवाह गर्ने उद्देश्य राखेर बदमासी तरिकाले काम गर्छन् भने तपाईहरु त्यसको सहयोगी नभइदिनुस्”–उनले आग्रह गरे । इन्जिनियरहरुको मनिटरिङ इन्जिनियरिङ काउन्सिलले गर्ने कुरा मस्यौदाको रुपमा पेश गरेको जानकारी दिंदै उनले त्यसबारे निर्णय कार्यान्वयन हुन बाँकी रहेको बताए ।

यस्तै,उद्घाटन सत्रमा बोल्दै नेपाल ईन्जिनियरिङ्ग परिषदका अध्यक्ष प्रा.डा.पदम बहादुर शाहीले एनभिएलाई सहयोग गर्न परिषद तत्पर रहेको बताए । उनले एनभिएले इन्जिनियरहरुलाई आगामी दिनमा दिने तालिमलाई ईन्जिनियरिङ्ग काउन्सिलबाट प्रमाणित गराएर काउन्सिलको लोगोसहितको प्रमाणपत्र वितरण गर्ने व्यवस्था मिलाउने समेत प्रतिवद्धता गरे ।

यस्तै,वरिष्ठ प्रशिक्षक ई.देवेन्द्र कुमार श्रेष्ठले पछिल्लो समयमा नयाँ पुस्ता अत्यन्तै अल्छी भएको आरोप लगाए । सक्रिय भएर नयाँ टेक्नोलोजी मैत्री बन्न पनि प्रत्येक इन्जिनियरहरुलाई सुझाव दिए ।  एनभिएका उपाध्यक्ष एवं तालिम,प्रकाशन र अन्तर्राष्ट्रिय विभाग प्रमुख ई.दिनेश कुमार पाठक र ई.शुसिल कुमार अमात्य कार्यक्रमको प्रमुख प्रशिक्षक थिए भने एनभिएका उपाध्यक्ष एवं तालिम,प्रकाशन र अन्तर्राष्ट्रिय विभाग प्रमुख ई.पाठकले कार्यक्रमको संयोजन समेत गरेका थिए । कार्यक्रमको सञ्चालन भने एनभिएका महासचिव अशोक सिलवालले गरेका थिए ।

ईन्जिनियरहरुको क्षमता बृद्धिका लागि एशोसिएशनले आयोजना गरेको विशेष कार्यक्रमले भ्यालुयर्स इन्जिनियरहरुको दक्षता,ज्ञान र सिप अभिबृद्धि भई काममा थप कुशलता आउने पनि विश्वास लिएको एनभिएका सचिव ई.रबिन्द्र अधिकारीले बताए । सो कार्यक्रममा ३० जना इन्जिनियरहरुले सो सम्बन्धि तालिम लिएका थिए ।

प्रतिक्रिया