२३ पुस २०८१, मंगलबार | January 7, 2025

‘अस्पताल बिरामी लुट्ने ठाउँ भो’


January 6, 2025
3.1k
Shares

संजिब गुरुङ्ग । काठमाडौं,२२ पुस । देशमा भएको राजनीतिक अस्तव्यस्तताले प्रत्येक दिन सर्वसाधारणले सास्ती भोग्नु परेको छ । यसको एक ज्वलन्त उदाहरण हो सरकारी अस्पताल ।
नीजि अस्पतालमा उपचार महँगो हुने हुँदा दैनिक सर्वसाधारणको भिड सरकारी अस्पतालमा बाक्लो देखिन्छ । नीतिगत तहबाट अस्पताल व्यवस्थापन नहुँदा टिकेट काट्नेदेखि डाक्टरबाट पाउने उपचार औषधि ल्याबोरेटरी टेस्ट प्राय सम्पूर्ण सुविधामा सास्ती भोग्न बाध्य छन् सर्वसाधारण ।

पहुँच हुनेहरूले छिटो र राम्रो सुविधा पाउने,आम सर्वसाधारणहरू घन्टौँसम्म लाइनमा बस्दा पनि भनेजस्तो सुविधा नपाउने यो तितो यथार्थ हो । कर्मचारी होस् वा नर्स वा डाक्टर सम्पूर्ण तहका कर्मचारीबाट हुने व्यवहार आम सर्वसाधारणलाई पचाउन निकै अफ्ठेरो पर्छ ।

तल्लो तहको कर्मचारीदेखि माथिल्लो तहसम्म कमिसनको खेलमा लाग्दा उपचारका लागि आएका सर्वसाधारणहरू निराश देखिन्छन् । अस्पतालभित्र खोलिएका फार्मेसीहरूमा औषधि नपाउने र त्यही औषधि बाहिर अन्य फार्मेसीहरूमा पाउने हुनाले त्यहाँ पनि भ्रष्टाचारै भएको हो भन्न सजिलै अनुमान गर्न सकिन्छ ।  एक्सरे सिटी स्क्यान, एमआरआइ जस्ता टेस्टहरू उपकरण बिग्रिएको बहानामा बिरामीहरू नीजि क्लिनिकमा पठाएर कमिसन उठाउन डाक्टरहरू तल्लिन देखिन्छन् । रगत जाँचका टेस्टहरू सोही अस्पतालको मेसिनबाट नहुने भनी बाहिर भएका नीजि क्लिनिकहरूमा पठाएर यो जाँच त नेपालमा हुँदैन भनेर भारत लैजानुपर्छ भन्दै मोटो रकम असुल्नेहरू यति धेरै सक्रिय छन् कि यसको लेखाजोखा छैन् ।

आज राज्यले चलाएको अस्पतालभन्दा कुनै व्यक्तिले चलाएको साधारण क्लिनिकमा हुने ठगी मौलाइरहेको छ । यसरी सर्वसाधारणहरू उपचारबाट वञ्चित भइरहँदा,लुटिरहँदा नीतिगत तहमा रहेका मन्त्रीदेखि सरोकारवालाहरूसम्म मौन बस्दा के उनीहरूको हातसम्म कमिसन पुगेकै हो त ?

यदि यो कमिसनको खेल होइन भने आज हरेक सरकारी अस्पतालमा उपचार गर्ने ठाउँको बेड बिरामी सुत्न लाएकको छैन् । बिरामीले ओड्ने, ब्लायाङ्केट र सिरानी सस्तो सामानलाई महँगोमा खरिद गरी ल्याएको देखिन्छ यसमा पनि सरोकारवालाहरू मौन देखिन्छन् । यसमा छानबिन हुनुपर्छ । अस्पतालका शौचालयहरू सौच गर्न नसकिने अवस्थामा छन् । नियुक्ति गरिएका कर्मचारीहरू काम नगरी चाकडी गर्नमै व्यस्त देखिन्छन् र यसलाई हेर्ने नीतिगत तह नबन्दा अस्पताल लुटी खाने ठाउँ बनेको छ । प्रत्येक ६/६ महिनामा सरकार परिवर्तन हुने र परिवर्तनसँगै आउने नयाँ मन्त्री र नयाँ कर्मचारी प्रशासन फेरबदलले हरेक नीतिगत तह अस्तव्यस्त बनाएको देखिन्छ ।

यसको ज्वलन्त उदाहरण हो वर्तमान स्वास्थ्यमन्त्री । नेपाली सेनाको अस्पताल र नेपाल प्रहरीको अस्पतालमा सर्वसाधारणलाई उपचार गराउनुपर्छ भनि नीति निर्माणमा जुटेको हल्ला सुनेको छु । यदि यो साँचो हो भने स्वास्थ्य मन्त्रीज्यूलाई अवगत छ या छैन् बजेट अभावमा प्रहरी प्रशासन र नेपाली सेनाको अस्पतालमा सोही प्रशासनका कर्मचारीहरूका परिवारले पाउने सेवा सुविधा नै कमी छ । बेलामा मर्मत सम्भार हुन सकेको छैन्, गुणस्तरीय औषधिहरू खुवाउन सकेको छैन् बिरामीको चाप थेग्न सक्ने अवस्था छैन् । यो देख्दै गर्दा मन्त्रीजस्तो गरिमामय पद बोकेको व्यक्ति अनावश्यक स्टन्ट गरेर हिँड्नु नै गलत हुनेछ । आज मन्त्रीको काम नीति बनाउने हो भ्रष्टाचार नियन्त्रण गर्ने हो, कर्मचारी व्यवस्थापन गराई सर्वसाधारणलाई न्यायोचित ढङ्गले न्याय दिने हो । तर मन्त्रीज्यूहरू आसेपासेको भनाइमा र व्यक्तिगत स्वार्थमा लाग्दा सर्वसाधारण सुविधाबाट वञ्चित देखिन्छन् ।

नागरिक स्तरमा राजनीतिक चेतना नहुँदा अयोग्य व्यक्तिहरू सत्तामा पुग्दा, कर्मचारी चाकडीमा लिप्त हुँदा, कमाउ धन्दामा लाग्दा आम सर्वसाधारणले ठूलो सास्ती भोग्नु परेको छ । यसमा सरोकारवालाहरू मौन बस्दा कतै सरोकारवालाहरू पनि भ्रष्टाचारी त होइन ? प्रश्न उब्जिएको छ । यो चिन्ताको विषय हो। आज आम सर्वसाधारणहरू जाग्ने बेला भएको छ । आज देशमा चलिआएको व्यवस्था असफल व्यवस्था भइसकेको छ सचेत भई नयाँ व्यवस्था चाहिने अवस्था श्रृजना भइसकेको छ । सम्पूर्ण राष्ट्रप्रेमी नागरिकहरू मन, वचन र कर्मले एकीकृत भई राष्ट्र निर्माणमा लाग्ने समय भएको छ । नत्र यो देश यस्तै दलालीहरूले लुटी खाने एउटा माध्यम बनाउनेछन् । सर्वसाधारणहरूले पीडामाथि पीडा भोग्नेछन्,आजको आवश्यकता परिवर्तन हो ।
(गुरुङ्ग नेपाल तरुणदलका केन्द्रीय सदस्य हुन् ।)

 

 

प्रतिक्रिया