अदालतमा रविको इन्कारी बयान
पोखरा,१२ पुस। पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिहीबारदेखि बयान सुरु भएको छ । पहिलो दिनको बयानका क्रममा उनले कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईसमक्ष इन्कारी बयान दिएका छन् ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत मुद्दाका लामिछानेसमेत पाँच जना प्रतिवादीको सोमबारदेखि कास्की जिल्ला अदालतमा बयान सुरु भएको थियो ।
चार दिनपछि बल्ल सुरु भएको बयानका क्रममा लामिछानेले पहिलेझैं इन्कारी बयान दिएको उनका वकिलले बताएका छन् ।
कास्कीसहित विभिन्न जिल्लाका सरकारी वकिलसमक्ष प्रहरीले लिएको बयानमा समेत उनले आफूलाई राजनीतिक प्रतिशोध साँधिएको र सहकारी ठगीलगायतका क्रियाकलापमा संलग्न नभएको जिकिर गर्दै आएका छन् ।
बिहीबार साँझसम्म उनको बयान नसकिएपछि शुक्रबार पनि उनीबाटै प्रारम्भ हुने अदालतका निमित्त स्रेस्तेदार ख्यामनारायण लामिछानेले जानकारी दिए । उनले भने, ‘उहाँ ९लामिछाने०को बयान आज ९बिहीबार० बल्ल प्रारम्भ भयो, भोलि ९शुक्रबार० दिनभरमा सकिन्छ कि भन्ने छ ।’ उनका अनुसार लामिछानेपछि अर्का प्रतिवादी रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको बयान लिइनेछ ।
हालसम्म गोर्खा मिडियाका पूर्वसञ्चालक पूर्वडीआईजी छविलाल जोशी र गुल्मी मुसिकोट नगरपालिका–४ की लीला पछाईंको मात्र बयान सकिएको छ ।
प्रतिवादीहरूको बयानपछि बल्ल थुनछेक बहस हुनेछ । बयानको समय हेर्दा र थुनछेक बहससमेत बाँकी न्यायाधीशको आदेश आउन आगामी सातासम्म कुर्नुपर्ने हुन्छ । न्यायाधीश राईले नै प्रतिवादीहरूलाई थुनामा पठाउने, धरौटी वा साधारण तारेखमा रिहामध्ये एक आदेश दिनेछन् ।
यसैबीच, सूर्यदर्शन सहकारी ठगीका फरार प्रतिवादीहरूमध्ये अन्य दुई जनालाई पनि बिहीबार अदालत उपस्थित गराइएको छ । गण्डकी प्रदेशका पूर्वसांसद मीना गुरुङ र आरती गुरुङलाई दुई दिनअघि कास्की प्रहरीले पक्राउ गरेको थियो ।
कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा सहकारी ठगी मुद्दा गत वर्षदेखि नै विचाराधीन छ । गत वर्ष १८ असोजमा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जिबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएको थियो ।
कास्की प्रहरीको पछिल्लो अनुसन्धान प्रतिवेदनसँगै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार र आइतबार गरी सोही मूल मुद्दामा थप प्रतिवादी बनाई पूरक अभियोगपत्र दायर गरेको हो । आइतबार दायर पूरक अभियोगपत्रमा रास्वपा सभापति लामिछाने, जोशीसमेत ४४ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३१ जना व्यक्ति, ८ कम्पनी छन् । अन्य पाँच जनाको सम्पत्ति जफत गर्न थप अभियोजन दर्ता गरिएको थियो ।
कुल ६३ प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो कायम गरेर दायर मुद्दामा हिरासतमा रहेका प्रतिवादीहरूको बयान लिन थालिएको हो । राजधानी दैनिकबाट