९ माघ २०८१, बुधबार | January 22, 2025

पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत निर्यात


December 22, 2024
581
Shares

काठमाडौं,७ पुस। नेपाल विद्युत् प्राधिकरणले गत साउनदेखि मंसिरसम्ममा प्रतियुनिट ७ रुपैयाँ ३९ पैसामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । पाँच महिनामा देशभित्र खपत भई बढी भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो ।

सुक्खायामसँगै थालियो भारतबाट बिजुली आयात

प्राधिकरणले देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज ९आईएक्स०को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ ९भारु०मा हुने गरेको छ । त्यसैले, प्राधिकरणले विद्युत् बिक्री गरी ८ अर्ब १५ करोड भारु आम्दानी गरेको छ ।

साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात गरिएको थियो भने मंसिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको प्राधिकरणले जनाएको छ । भदौमा ३ अर्ब ६८ करोड, असोजमा ३ अर्ब ७ करोड र कात्तिकमा १ अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको नेपाल विद्युत् प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढी पहिरोका कारण मुख्य रूपमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताए । माथिल्लो तामाकोशी बन्द भएका कारण त्यसपछिका महिनामा विद्युत् निर्यात घटेको र सुक्खायाम सुरु भएसँगै जलविद्युत् आयोजनाहरूको उत्पादन घटेकाले पोहोरभन्दा यस वर्ष चाँडै आयात गर्नुपरेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।

प्राधिकरणले मंसिरसम्ममा विद्युत् निर्यात गरेकामा अहिले विद्युत् आयात गर्न थालिएको छ । हिउँदयाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाहरूको उत्पादनमा कमी भई देशभित्रको विद्युत् माग धान्न प्राधिकरणले हिउँदका केही महिनामा विद्युत् आयात गर्दै आएको छ । नदी तथा खोलानालामा पानीको बहाव बढ्न सुरु भएपछि उत्पादन बढ्ने हुँदा त्यसपछि विद्युत् निर्यात पुनः सुरु हुने जनाइएको छ । प्राधिकरणले यस वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बंगलादेश निर्यात पनि सुरु गरिसकेको छ । यद्यपि, त्यो निर्यात सुरुवात गरी सोही दिन बन्द गरिएको थियो ।

चालू आर्थिक वर्षमा करिब ३० अर्ब रुपैयाँ विद्युत् निर्यातको लक्ष्य राखिएको थियो । तर, बाढीपहिरोका कारण जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा निर्यात लक्ष्य प्रभावित हुने अनुमान गरिएको छ । बाढी पहिरोले माथिल्लो तामाकोसीसहित अन्य साना जलविद्युत् आयोजना र काबेली करिडोर प्रसारण लाइनमा क्षति पु¥याएको थियो । माईखोलामा आएको बाढीले काबेली करिडोर क्षति पु¥याउँदा सो लाइनमा जोडिएका विभिन्न आयोजनाको करिब २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको थियो । यसका कारण असोज र कात्तिकमा विद्युत् निर्यात प्रभावित भएको थियो ।

माथिल्लो तामाकोसी आगामी १० पुसभित्र सञ्चालनमा ल्याउनेगरी मर्मत सम्भार धमाधम गरिरहेको प्राधिकरणले जनाएको छ । काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । हिउँद सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन कम हुनेछ । उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब विद्युत् निर्यात क्रमशः घट्दै जानेछ ।

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी नेपाल खुद विद्युत् आयातकर्ताबाट खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

पाँच महिनामा भारततर्फको विद्युत् निर्यात
महिना विद्युत् निर्यात ९रुपैयाँ० प्रतियुनिट औसत दर ९रुपैयाँ०
साउन ४ अर्ब १५ करोड ८।३५
भदौ ३ अर्ब ६८ करोड ६।७०
असोज ३ अर्ब ७ करोड ८।५०
कात्तिक १ अर्ब ८७ करोड ६।२९
मंसिर २८ करोड १४ लाख ४।६४
जम्मा १३ अर्ब ४ करोड ७।३९
राजधानी दैनिकबाट

प्रतिक्रिया