९ माघ २०८१, बुधबार | January 22, 2025

त्रिविमा मेरिटोक्रेसी गफ मात्रै, भागवण्डामा ८ डीन र ३ निर्देशक


December 16, 2024
415
Shares

–३ कांग्रेस, २–२ एमाले र माओवादी, १ स्वतन्त्र

काठमाडौं,१ पुस । त्रिभुवन विश्वविद्यालयले फेरि तीन दलीय भागबन्डाको आधारमा ८ डीन र १ निर्देशकसहित २ जना अनुसन्धान केन्द्रका निर्देशक नियुक्ति गरेको छ। कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ७ गतेभित्र डीन नियुक्ति गर्न दिएको निर्देशन पालना गर्र्दै त्रिवि कार्यकारी परिषद्ले डीन र कार्यकारी निर्देशक नियुक्ति गरेको हो।

कुलपतिले २७ गते त्रिवि सभाको बैठकमा निर्देशन दिनुभएको थियो । त्यसको २ दिनपछि मंसिर २९ गते डीन र कार्यकारी निर्देशक नियुक्ति भएको हो । नियुक्ति भएकामध्ये ३ नेपाली कांग्रेस, २ एमाले र २ जना डीन माओवादी निकट छन्। चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राडा मोहनराज शर्मा कांग्रेस र एमाले दुवैले आफ्नो दाबी गरेका छन्।

नियुक्ति भएकामध्ये नेपाली कांग्रेसबाट वन विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा। ठाकुर सिलवाल, व्यवस्थापन संकायमा प्राडा महानन्द चालिसे र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्राडा शंकर खनाल नियुक्त हुनुभएको छ। एमालेको तर्फबाट शिक्षाशास्त्र संकायमा प्राडा वेदराज आचार्य र इन्जिनियरिङ अध्ययन संस्थानमा प्राडा सुशीलबहादुर बज्राचार्य नियुक्त हुनुभएको छ।

माओवादीबाट मानविकी तथा सामाजिकशास्त्र संकायमा प्राडा। दुबिनन्द ढकाल र कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा। किशोरचन्द्र दाहाल डीन नियुक्ति हुनुभएको छ। नियुक्ति भएकामध्ये कृषि तथा पशुविज्ञान र वन विज्ञानमा मेरिटोक्रेसी तोडेर सहप्राध्यापकलाई डीन नियुक्ति गरिएको छ।

मेरिटोक्रेसी भन्ने अनि डीन नियुक्ति गर्दा वरिष्ठलाई छाडेर कनिष्ठलाई नियुक्ति गर्न गलत परम्परा हो । कृषि तथा पशुविज्ञानका डीन सहप्राध्यापक दाहाल पूर्वप्रम प्रचण्डका भतिज भएको प्राध्यापकहरूले जनाएका छन्। वन विज्ञानका डीन पनि सहप्राध्यापक हो। त्यसै गरी तीन जना निर्देशक तीन दलबीच भागबन्डा गरिएको छ।

स्रोतका अनुसार योजना निर्देशनालयका निर्देशक डा। सहप्राध्यापक लक्ष्मीकान्त शर्मा माओवादी, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक सहप्राध्यापक डा। राजेन्द्र कुँवर एमाले र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र कार्यकारी निर्देशक प्राडा मीना राजभण्डारी नेपाली कांग्रेस निकट हुनुहुन्छ। योजना निर्देशनालयका निर्देशक शर्मा सहप्राध्यापक हुन्।

भागबन्डा नमिलेपछि त्रिविले डीन नियुक्त गर्न सकेको थिएन । चौतर्फी विरोध शुरू भएपछि त्रिवि कार्यकारी परिषद्ले सिफारिसमा परेका तीन जनामध्ये १÷१ जनालाई नियुक्त गरेको हो । त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकालले मेरिटोक्रेसीको कुरा गर्ने त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले प्रत्येकपटक मेरिटोक्रेसीको कुरा गरे पनि सधंै भागबन्डा हुुने गरेको आरोप लगाउनुभयो।

उहाँले भन्नुभयो–‘मापदण्डअनुसार मेरिटोक्रेसीको आधारमा नियुक्ति गरेको दाबी गर्ने अनि भागबन्डामा नियुक्ति गर्ने परम्परा जारी राखेका छन् ।’उहाँले भन्नुभयो–‘मेरिटोेक्रेसीअनुसार भए कसले कति नम्बर प्राप्त गरे सार्वजनिक गरेर बढी अंक ल्याउनेलाई डीन र निर्देशकमा नियुक्ति गर्नुपर्छ।’ मापदण्डअनुसार डीन र निर्देशकका लागि प्राध्यापक डाक्टर हुनुपर्ने उल्लेख छ।

‘पाटीगत रूपमा नियुक्ति गर्ने भए सधैं किन स्टन्टबाजी गरेर मेरिटोक्रेसीको आधारमा नियुक्ति गर्छौं भन्नुपर्‍यो, दलको माथिको आदेशमा नियुक्ति गरे भइहाल्थ्यो नि रु’ –संघका अध्यक्ष ढकालको आरोप थियो। उच्चस्रोतका अनुसार सिफारिस भएका ३ जनामा को–को परेका छन्,उपकुलपतिबाहेक कसैलाई जानकारी छैन । तर, उपकुलपति बरालले समितिका संयोजकलाई आफू निकटलाई पहिलो नम्बरमा राख्न खोजेका थिए । पछि तीन पदाधिकारीबीच भागबन्डा गर्ने सहमति भएपछि शनिवार नियुक्ति भएको हो ।

यसैबीच पुस १५ भित्र १८ क्याम्पस प्रमुख नियुक्ति हुने भएका छन् । शनिवार राति ८ डीन र ३ निर्देशक नियुक्ति गरलगत्तै त्रिविले क्याम्पस प्रमुख नियुक्ति प्रक्रिया शुरू गरेको हो । स्रोतका अनुसार पुस १५ भित्र रिक्त सबै क्याम्पस प्रमुख नियुक्ति गर्ने तयारी भइरहेको छ ।

रेक्टर कार्यालयबाट नियुक्तिपत्र

त्रिभुवन विश्वविद्यालय उपकुलपति प्राडा केशरजंग बरालले ८ डीन र कार्यकारी निर्देशकलाई नियुक्तिपत्र प्रदान गर्नुभएको छ। उपकुलपति कार्यालयमा स्ववियु सचिव सिद्धान्त भट्टलगायत विद्यार्थीले ४ दिनदेखि ३५ बुँदे माग राखी घेराउ जारी राखेपछि उपकुलपति प्राडा बरालले रेक्टर प्राडा खड्ग केसीको कार्यालयबाट नियुक्तिपत्र दिनुभएको हो ।

आइतबार रेक्टर कार्यालयमा त्रिविका तीन पदाधिकारीसहित उपकुलपति प्राडा बरालले ८ डीन र ३ जना कार्यकारी निर्देशकलाई नियुक्तिपत्र दिनुभएको थियो । नियुक्तिपत्र दिने क्रममा बरालले त्रिविको साख जोगाउन आग्रह गर्नुभएको थियो । समाचारपत्र

प्रतिक्रिया