११ माघ २०८१, शुक्रबार | January 25, 2025

कांग्रेसमा ‘भद्रगोल’ विचार समूह : संस्थापन र इतर समूहबीच द्वन्द्व बढ्दै


December 11, 2024
4.1k
Shares

काठमाडौं,२६ मंसिर । देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र संस्थापनपक्ष र इतर समूहबीचको द्वन्द्वले चरम रूप लिन थालेसँगै अहिलेको दुई विचार समूह भद्रगोल हुने देखिएको छ। सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला पक्ष दुई धारमा प्रस्ट देखिएको कांग्रेसमा पछिल्लो समय नेताहरूबीच समूह अदलबदलको समस्याले भद्रगोल बन्दै गएको हो।

सभापति शेरबहादुर देउवा पक्षले गत १४औं महाधिवेशनमा देउवासँगै सभापति लडेर करिब ४७ प्रतिशत मत ल्याउनुभएका डा। शेखर कोइरालाला समूहलाई हरेक अवसरमा निषेध गरेर जाने नीति लिएको सो समूहका नेता सुनील शर्माले बताउनुभयो।

संस्थापन पक्षले शेखर कोइराला र उनको समूहलाई पेलिरहे ०८४ अघि कांग्रेस दुर्घटनामा जाने टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘पार्टी क्याप्चर गरेर शेखर समूहलाई पेलेर अघि बढ्ने दिवास्वप्न नदेख्नुहोला । गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा शेरबहादुर देउवालाई पार्टीभित्र सम्मानजनक दिइएको कुरा बिर्सनुहुँदैन । संस्थापन पक्षले यही रवैया अपनाएर गए कांग्रेस पार्टीभित्र दुर्भाग्य हुन्छ । ०८४ अगाडि कांग्रेस दुर्घटनामा जान सक्छ ।’

नेता कोइरालालाई वरिष्ठ नेताको भूमिका दिनुपर्ने संस्थापन यताका नेताहरूको माग छ । एक वर्षअघि नै सभापति देउवाले कोइरालालाई वरिष्ठ नेताको जिम्मेवारी दिने बताए पनि आधिकारीक रूपमा कांग्रेसमा अहिले कोही वरिष्ठ नेता छैनन् । यसअघि सभापतिका निकटतम प्रतिस्पर्धीलाई वरिष्ठ नेता बनाउने चलन थियो । तर, सभापति देउवाले पराम्परालाई निरन्तरता दिन सक्नुभएको छैन ।

गत २२ मंसिरमा भएको पार्टीको कोशी प्रदेश भेलामा समेत डा। शेखर कोइरालालाई वरीयतामा तल राख्ने भएपछि कार्यक्रम नै बहिष्कार गरेर चितवन हानिनुभएको थियो। त्यसयता कांग्रेसभित्र थप विवाद चर्किएको छ। कोइरालाले पार्टीभित्र र सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ।

सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई अनुसन्धानका क्रममा गरिएको व्यवहार ठीक नभएको, कांग्रेस सम्मिलित सरकारले सुशासन र नागरिकका पक्षमा काम गर्न नसकेकोलगायत विषयमा आएका कोइरालाका सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीको पदाधिकारी बैठकले उहाँलाई सचेत गराएको थियो।

कोइराला समूहका पछिल्ला गतिविधिप्रति सोही समूहका नेताहरू पनि एकजुट हुन सकेका छैनन्। आगामी नेतृत्वमा को जाने र कसलाई पठाउने भन्ने विषयमा दुई पक्षका नेताहरू तितरबितर भएका छन्।

आगामी नेतृत्वमा वर्तमान सभापति देउवाले कसलाई सहयोग गर्नुहुन्छ त्यसैको पल्लाभारी हुने एकाथरीको बुझाइ छ। तर, देउवा टिमबाट प्रभावशाली नेताहरू मोहनबहादुर बस्नेत, बालकृष्ण खाँण, एनपी साउदलगायत नेताहरू कोइराला क्याम्पमा जाने तयारी रहेका छन्।

यता कोइराला समूहबाट महामन्त्री बन्नुभएका गगन थापा १५औं महाधिवेशनमा आफैं सभापति बन्ने तयारीका साथ लाग्नुभएपछि कोइरालालाई ठूलो धक्का लाग्ने देखिन्छ। यद्यपि, थापा शेरबहादुर समूहबाट उम्मेदवार बन्ने सम्भावना कम रहेको नेताहरूले बताएका छन्।

अहिलेको परिस्थिति हेर्दा आगामी सभापतिका लागि कांग्रेसमा डा। शेखर कोइराला, गगन थापा र शेरबहादुर देउवा समूहबाट समेत गरी तीन जनाको उम्मेदवारी रहने करिब पक्का भएको छ। यसरी समूहभित्रै विद्रोह हुँदा विचार समूह नै भद्रगोल हुने अवस्थामा पुगेको नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले बताउनुभयो। शाही कोइराला समूहका नेता भए पनि आफ्नो छुट्टै अभियान चलाएर महामन्त्रीको तयारीमा लाग्नुभएको छ।

पार्टीको नियमित महाधिवेशन २०८२ मंसिरमा हुनुपर्ने कांग्रेसको नयाँ नेतृत्वका लागि नेताहरूले अहिलेबाटै तयारी थालेका छन्। विधानअनुसार महाधिवेशनको समय १ वर्ष थप्न मिल्ने भएकाले सभापति देउवाले उक्त सहुलियत उपयोग गर्नेमा धेरै नेताहरू विश्वस्त छन्। यसरी महाधिवेशनको मिति नियमितभन्दा पर सारे पनि २०८३ सालभित्र १५औं महाधिवेशन सम्पन्न गर्न वैधानिक व्यवस्था छ।

तर, महाधिवेशन नियमित समयसीमाभित्रै गर्नुपर्नेमा कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले बहस चलाउन थालेका छन्। उक्त समूहका नेता डा। शेखर कोइरालाले कांग्रेसको महाधिवेशन जति ढिला गर्‍यो उति नै कांग्रेस कमजोर हुने दाबी गर्नुभएको छ।

१५औं महाधिवेशनमा सभापति बन्ने अठोटका साथ तयारीमा लाग्नुभएका नेता कोइरालाले संस्थापन पक्षका कतिपय नेताहरूलाई आफ्नो समूहमा भित्र्याइसक्नुभएको छ। तर, कोइराला समूह पनि विभाजन भएर गगन समूह बन्ने खतरा रोक्न कोइरालालाई चुनौती थपिएको छ । समाचारपत्रबाट

प्रतिक्रिया