३ माघ २०८१, बिहिबार | January 16, 2025

इन्टरनेसनल ह्युमन राइट्स अर्गनाइजेसन नेपालले मनायो अन्तराष्ट्रिय मानव अधिकार दिवस


December 10, 2024
3.1k
Shares

काठमाडौं, २५ मंसिर । हरेक वर्षको १० डिसेम्बरमा अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईन्छ, सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिवसको सम्झनास्वरुप यो दिवस मनाईन्छ ।

सोही अवसरमा आज इन्टरनेसनल ह्युमन राइट्स अर्गनाइजेसन नेपाल (आइएचआरओ–नेपाल) ले ८६औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस भव्यताका साथ सम्पन्न गरेको छ । संस्थाले काठमाडौंको अनामनगरस्थित एक होटलमा भव्य समारोहकाबीच मंगलबार कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आइएचआरओ–नेपालका राष्ट्रिय अध्यक्ष भिकेएस ठकुरीले आइएचआरओ–नेपालको विशेष पहलमा सरकारले महिला ट्राफिक प्रहरीलाई महिनाबारी भएको ४ दिनसम्म बिदा दिने निर्णय गरेको बताउनु भयो । आफ्नो संस्थाले गरेको विशेष पहल स्मरण गराउँदै उहाँले त्यसलाई आइएचआरओ–नेपालको ठुलो उपलब्धी भएको पनि दाबी गर्नु भयो ।

तत्कालिन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई भेटेर आइएचआरओ–नेपालका अध्यक्ष ठकुरी,महासचिव सुरज अर्याल र उपाध्यक्ष शिला न्यौपानेलगायतको टोलीले सो विषयमा ध्यानकर्षण पत्र बुझाएको थियो । कार्यक्रममा संस्थाले पिछडिएका तथा दुख पाएका महिला, बालबालिका र साइबर क्राइमसम्बन्धि पनि धेरै काम गर्दै आएको अध्यक्ष ठकुरीले जानकारी गराउनु भयो ।

त्यसैगरी लायन्स इन्टरनेसनलका प्रथम भाइस डिष्ट्रिक्ट गवर्नर एमजेएफ लायन्स विनय बस्नेतले कोराना कालपछि बालबालिकाहरुमा विभिन्न प्रकारका विछिप्त अवस्था देखिएको बताउनु भयो । विद्यार्थीहरुका त्यस्ता समस्या कम गर्न आइएचआरओ–नेपालले विभिन्न सहयोगका कार्य गर्दै आएको जानकारी दिनुभयो । त्यस्ता विद्यार्थीहरुको सहयोगार्थ कार्यक्रमहरु लायन्स क्लबले सोसल इमोशनल लर्निङमार्फत काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गतका केही स्कुलहरुबाट सुरुवात गरेको बताउनु भयो । प्रमुख अथिति बस्नेतले आफ्नो संस्थाले गर्न लागेका सो कार्यक्रमार्फत अभिभावक,त्यो समुदायका महिलाहरु र शिक्षकहरुलाई पनि सामाजिक शिक्षा र मानव अधिकारसम्बन्धि तालिमको व्यवस्था गर्दै जाने पनि जानकारी दिनुभयो ।

यस्तै, पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री चन्दा चौधरीले कुनै ठाउँमात्र कार्यक्रम र समारोह गर्दैमा मानव अधिकारका चेलीबेटी सम्बन्धि समस्या समाधान नहुने तर्क गर्नु भयो । त्यसका लागि केन्द्रीय स्तरमै छलफल र पहल हुनुपर्ने उहाँको भनाइ थियो । विशेष अतिथि मन्त्री चौधरीले महिला ट्राफिक प्रहरीलाई आइएचआरओ–नेपाल कै पहलमा सरकारले बिदा दिएको भन्दै धन्यवाद दिनुभएको थियो । तर जस भने अरुले नै पाएकोमा गुनासो समेत गर्नुभयो । उहाँले भन्नुभयो,“यो आइएचआरओ–नेपालको सफल उपलब्धी हो । जस गृहमन्त्रीलाई गएपनि । यो तपाईहहरुकै सोच,तपाईहरुकै कन्सेप्ट,तपाइहरुकै मेहेनत तर गृहमन्त्री हाइ हाइ हुनुभयो ।” आइएचआरओ–नेपालले पूर्व मन्त्री चन्दा चौधरीलाई कार्यक्रममा सम्मान गरेको छ । आइएचआरओ–नेपालका अध्यक्ष ठकुरी र प्रमुख अतिथि विनय बस्नेतले सो सम्मान गर्नुभएको हो ।

कार्यक्रममा अतिथिहरुमा एसओएस बालग्रामका पूर्व राष्ट्रिय निर्देशक शंकर प्रधानाङ्ग,युलेन्स स्कूल बाँसबारी काठमाण्डूका प्रिन्सिपल बुनु कार्की थापा,नर्भिक अस्पतालका वरिष्ट इन्डिक्रिलोजिस्ट डा.मधु पाण्डे चौधरी हुनुहुन्थ्यो भने लायन्स क्लब इन्टरनेसनलका सिनियर लिडरहरु, आमन्त्रित पाहुनाहरु, पत्रकार, टेलिभिजनकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य अन्तराष्ट्रिय मानव अधिकार संगठन नेपालका महासचिव सुरज अर्यालले गर्नु भएको थियो । अन्तराष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा आइएचआरओ–नेपालका भाइस प्रेसिडेन्ट शिला न्यौपाने, बोर्ड अफ डाइरेक्टर, जेनरल मेम्बर लगायतको उपस्थिति थियो ।

 

प्रतिक्रिया