२ माघ २०८१, बुधबार | January 16, 2025

भागवण्डाले अड्कियो नियुक्ति : कुरा मेरिटोक्रेसीको काम राजनीतिक भागवण्डा


December 4, 2024
664
Shares

काठमाडौं, १९ मंसिर । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजंग बरालले त्रिविमा रानजीति भागवण्डा अन्त्य गरी मेरिटोक्रेसिको आधारमा डीन, डाइरेक्टर र क्याम्पसप्रमुख नियुक्ति गर्ने घोषणा गरेर विज्ञापन प्रकाशित गरेको चार महिना पुग्दा पनि कुनै पदमा नियुक्ति हुन सकेको छैन् । उपकुलपति प्राडा बरालको लहडका कारण डीन नियुक्तिमा ढिलाइ भएको हो ।

त्यति मात्रै नभई क्याम्पस प्रमुख, त्रिवि योजना निर्देशनालय र तीन अनुसन्धान केन्द्रको निर्देशकको नियुक्ति पदाधिकारीकै कारण अड्किएको छ। राजनीतिक भागवण्डाबाट नियुक्ति भएका तीन पदाधिकारीका कारण त्रिविमा मुख्य पद खाली रहेको छ। ‘पदाधिकारीले मेरिटोक्रेसीको आधारमा नियुक्ति गर्ने हल्ला चलाएर त्रिविको शैक्षिक अवस्था भद्रगोल पार्न खोजिएको छ’ –त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकालले भन्नुभयो।

उहाँले राजनीतिक भागवण्डामा नियुक्ति भएका पदाधिकारीले मेरिटोक्रेसीको कुरा गरेर ८ संकायको डीन, १८ क्याम्पस प्रमुख र ४ निर्देशक नियुक्तिलाई गुमराहमा राखेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘मेरिटोक्रेसीको कुरा गर्ने पदाधिकारीले सबै पदमा सिफारिस भएका ३–३ जनाको नाम किन सार्वजनिक गर्न सक्दैनन्।’

उहाँले आफूहरु राजनीतिक भागवण्डाको आधारमा नियुक्ति भएकाहरुले अन्य पदमा किन राजनीतिमा लागेको व्यक्ति हुनुहुँदैन भनी निर्णय गरेका हुन् भनी पदाधिकारीलाई प्रश्न गर्नुभयो । ‘उपकुलपति प्राडा बरालले बाहिर मेरिटोक्रेसीको हौवा फैलाएर भित्रभित्रै राजनीतिक भागवण्डा गरेका छन्’ –संघका अध्यक्ष ढकालको आरोप थियो।

‘अहिले त पदाधिकारीले के गरिरहेका छन् भने मैले सुनेको कथाजस्तोे भएको छ– स्यालले चील आयो चील आयो भनेर हल्ला गर्छन्, मान्छेले त्यतैतिर आँखा लैजाँदा स्यालले घरको चल्ला झ्यापझुप पारेर लैजान्छ अहिले पदाधिकारीले त्रिविमा यस्तै गरिरहेका छन्, हामी मेरिटोक्रेसीको आधारमा नियुक्ति गर्छौं भनी हल्ला फैलाएका छन्, पछि मेरिटोक्रेसी होइन राजनीतिक भागवण्डामा नियुक्ति गरेर हामीलाई बेबकुफ पार्छन्’ –उहाँको आरोप थियो । त्रिविका पदाधिकारीले मनोमानी रुपमा नियुक्ति गरे कडा संघर्षमा उत्रने चेतावनी दिँदै उहाँले भन्नुभयो– ‘कोको सर्टलिस्टमा परेका छन् तत्काल नाम सार्वजनिक गरियोस्।’

पदाधिकारीका कारण १८ क्याम्पस निमित्तको भरमा चलिरहेको छ । ८ वटा डीन रिक्त छ, ४ निर्देशक नियुक्ति हुन सकेको छैन। त्रिविका रेक्टर प्राडा खड्ग केसीले ६ जना सहनियन्त्रक नियुक्ति भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मधेस प्रादेशिक परीक्षा नियन्त्रण कार्यालय स्थापना गरी जनकपुरमा सहनियन्त्रक नियुक्ति गरेका छौं । त्यसबाहेक कोहलपुर, विराटनगर, पोखरा र काठमाडौंमा २ गरी ६ जना नियुक्ति गरेका छौं । सहपरीक्षा नियन्त्रकमा ६४ जनाले आवेदन दिएका थिए । तीमध्ये १५ जना सर्टलिस्टमा परेका थिए ।’ हात्तीसार खाद्य क्याम्पस धरान, बागलुङ र पोखरा वन क्याम्पसमा आजसम्म क्याम्पस प्रमुख नियुक्ति भइसक्ने उहाँको भनाइ थियो ।

डीन, निर्देशक र १८ क्याम्पस प्रमुख केही दिनभित्र नियुक्ति भइसक्ने जानकारी दिँदै उहाँले भन्नुभयो– ‘रातदिन लागेर नियुक्ति गर्ने प्रक्रियामा लागेका छौं, केही साताभित्र सबै पदमा नियुक्ति भइसक्ने छ।’ स्रोतका अनुसार धेरै विद्यार्थी संख्या भएका शिक्षा र मानविकी संकायको डीनमा माओवादी निकटका प्राध्यापक नेतालाई डीन बनाउन खोज्दा नियुक्तिमा विलम्ब भएको हो।

उपकुलपतिको बागडोर सम्हालेकै दिन मेरिटोक्रोसीको आधारमा डीन नियुक्ति गर्ने उद्घोष गर्नुभएका उपकुलपति प्राडा बरालले आफ्नै वाचा भुलेर माओवादी निकटका प्राध्यापकलाई डीन बनाउन खोजेपछि समस्या बढेको हो। नियुक्ति गर्न अन्तर्वार्ता दिएको करिबकरिब दुई महिना पुगिसक्दा समेत डीनलगायत कुनै पनि पदमा नियुक्ति हुन सकेको छैन।

नेपाली कांग्रेस र माओवादीबीच भागवन्डा नमिलेका कारण समस्या परेको स्रोतको दाबी छ। कांग्रेसले निकट प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले राम्रालाई हटाएर हाम्रालाई नियुक्ति गर्न लागेकोमा विरोध जनाइसकेको छ। संघले त्रिविको विनियम मिचेर, त्रिवि प्रशासन अघि बढेमा प्रतिकारमा उत्रने चेतावनी दिएको छ। कांग्रेस निकट प्राध्यापक संघले मानविकी संकायमा आफ्नो पार्टी निकटका प्राध्यापक डीनमा नियुक्ति हुनुपर्ने जनाइसकेको छ।

स्रोतका अनुसार चिकित्सा शिक्षा संकायमा एमाले, कृषि तथा वनमा नेपाली कांग्रेसले लिने आन्तरिक सहमति भइसकेको छ । तर उपकुलपति प्राडा बरालले मानविकी तथा सामाजिक र शिक्षा संकायको डीन माओवादीको भागमा पर्नुपर्ने अडान राखेको कारण समस्या भएको हो । दुई संकायमा एमाले, कांग्रेस र माओवादी तीनै संगठनको दाबी छ, सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत मानविकी संकायमा सबै पार्टी निकट प्राध्यापक संघ र संगठनले दाबी गरिरहेका छन् । समाचारपत्र

प्रतिक्रिया