२ माघ २०८१, बुधबार | January 16, 2025

ढुंगेधारामाथि भवन बनाउन खोजेपछि बालेन कै सम्पदा सल्लाहकारले रोके काम


November 29, 2024
249
Shares
Screenshot

काठमाडौं,१४ मंसिर । ढुंगेधारामाथि सामुदायिक भवन बन्न लागेपछि काठमाडौं महानगरका सम्पदा सल्लाहकारले उत्खनन गर्न माग गर्दै भवन निर्माणमा रोक लगाएका छन्।

महानगरकै करिब १ करोड ३८ लाख लागतमा निर्माण हुन लागेको सो भवनको जग खन्न नपाउँदै काम रोकिएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका सम्पदा सल्लाहकार यादवलाल कायस्थले ढुंगेधारमाथि भवन बनाउन नहुने भन्दै रोक लगाउनुभएको हो ।

उहाँका अनुसार कस्तो किसिमको ढुंगेधारा हो रु भन्ने विषयमा निक्र्योल भएपछि मात्र भवन निर्माण चालू हुनेछ । सो स्थानमा कोटेश्वर समाज सुधार सामुदायिक भवन निर्माणको क्रममा थियो । गत सोमबार जग खन्ने क्रममा कायस्थसहितका अभियन्ताले ढुंगेधारा भएको स्थानमा भवन बनाउनुअघि उत्खनन गर्नुपर्ने बताएका थिए ।

कामपा सार्वजनिक निर्माण विभागको आर्थिक सहयोगमा निर्माण हुन लागेको सो भवनको लागत १ करोड ३८ लाख रुपियाँ भए पनि १ करोड ७ लाखमा ठेक्का परेको थियो । कामपा वडा नं ३२ मा पर्ने सो भवन निर्माणमा अवरोध भएपछि वडाअध्यक्ष नवराज पराजुलीले उत्खनन भएपछिमात्र थप काम अघि बढ्ने बताउनुभयो । पराजुलीले भन्नुभयो –‘खासै ठूलो विषय होइन, सानो धारा थियो । त्यस स्थानमा फोहोर फ्याँक्ने भएपछि क्लब भवन बनाइएको थियो । अहिले कामपाको सहयोगमा भवन बनाउने तयारी हुँदा विरोध भएको छ ।’

उहाँले धारा भए पनि प्राचीन नभएको जिकिर गर्नुभयो । ‘अब राम्रोसँग जाँचबुझ गरेपछिमात्र निर्माण शुरू गर्नेछांै । वर्षौंदेखि सो स्थानमा क्लब घर थियो, हाम्रो सहयोगमा भत्काएर हाल सामुदायिक भवन बनाउन खोजेका हौं’–स्थानीय सुवास रिमालले नेपाल समाचारपत्रसँग भन्नुभयो । उहाँका अनुसार हल्ला फैलाउनको लागि काम रोक्न लगाइएको हो, यहाँका सबै जनता भवन निर्माणकै पक्षमा छन, केहीले अवरोध गरे पनि सो स्थानमा प्राचीन धारा भेटिन सम्भव छैन ।’

‘केही बुढापाकाले २५ वर्षअघि डाँडामा पानी आउँछ कि भनेर धारा राखेका हुन, भीरबाट मान्छे र गाईवस्तु खस्न थालेपछि सो स्थानमा स्थानीयको आर्थिक सहयोगमा सानो क्लबभवन बनाएका हौं’–रिमालले भन्नुभयो । उहाँले सो स्थानमा जसरी भए पनि सामुदायिक भवन बनाएर छाड्ने जिकिर गर्नुभयो । वडाअध्यक्ष पराजुलीले पनि एकाध व्यक्तिले सो स्थानमा प्राचीन ढुंगेधारा रहेको भने तापनि त्यस स्थानमा धारा नभएको बताउनुभयो । उहाँले महानगरकै सहयोगमा भवन निर्माण हुने जानकारी दिनुभयो।

ढुंगेधारा रहेको स्थानमा सामुदायिक भवन बनाउन थालेपछि सम्पदा सल्लाहकार कायस्थले बिहीबार पुरातत्व विभागमा उत्खनन गर्नुपर्ने भन्दै निवेदन दिनुभएको छ । निवेदन दिएलगत्तै विभागले उत्खनन भएपछि मात्र निर्माण गर्न आग्रह गर्दै रोक लगाएको छ। विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले ढुंगेधारा भए नभएको विषयमा आज शुक्रवार पहिलो उत्खनन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘निवेदन आएपछि अवलोकन गरी उत्खनन गर्नेछौं, त्यसपछिमात्र निर्माण गर्न दिने वा नदिने भन्ने विषयमा निर्णय गर्नेछौं । ’

कामपाले ढुंगेधारा भएको स्थानमा भवन निर्माण स्वीकृति दिन महानगरको गल्ती भएको सम्पदा सल्लाहकारको आरोप छ । ‘हामीले धेरै अघिदेखि ढुंगेधारा भएको स्थानमा भवन बनाउन स्वीकृत नदिन आग्रह गरेका थियौं, जबरजस्ती ठेक्का लगाइयो’– सम्पदा सल्लाहकार कायस्थले भन्नुभयो ।

सल्लाहकार कायस्थले पुरिएको ढुंगेधारा कति वर्ष पुरानो हो रु भन्ने विषयमा यकिन नभएको बताउनुभयो । सो ढुंगेधारा ऐतिहासिक भए नभएको विषयमा विभागसँग कुनै रेकर्ड छैन । स्थानीयले करिब तीन दशकअघि स्थानीयकै पहलमा धारा राखेको बताएका छन् । धारा भएको खाल्डोमा गाडी खसेपछि धराप भएको सो क्षेत्रमा क्लब भवन बनाइएको हो । हाल निर्माण हुन लागेको भवनको तल्लो तलामा फल्चा, माथिल्लोमा हल र बाँकी कोठा रहने गरी नक्सा तयार भएको स्थानीय रिमालले जानकारी दिनुभयो । समाचारपत्र

प्रतिक्रिया