३ माघ २०८१, बिहिबार | January 16, 2025

सुनिताको बालेनलाई प्रश्न– कुन कानुनमा टेकेर कसलाई सोधेर एमालेलाई पत्र काट्नु भो ?


November 27, 2024
4.2k
Shares

काठमाडौं,१२ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको स्टन्टबाजीको विरुद्ध उपमेयर सुनिता डंगोल र वडा अध्यक्षबीच भनाभन भएको छ । मेयर साहको निर्देशनमा गएको शुक्रवार एमाले तीन जिल्ला समितिले दरबारमार्गमा आयोजना गरेको जागरणसभामा फोहोर संकलन नगरेको आरोपमा १ लाख रुपियाँ जरिवाना गरेको थियो ।

मेयर साहको निर्देशनमा महानगर प्रहरीले एमाले मुख्यालयमा पत्र पठाएको थियो । मुख्यालयले सो पत्र नबुझेपछि सोमबार इमेल र हुलाकबाट पत्र पठाएको थियो । एमालेमाथि आक्रोशित मेयर साहले एकलौटी रूपमा पत्र पठाएको भन्दै उपमेयर डंगोल र महानगरको समितिमा रहेका करिब ८ वडा अध्यक्षले विरोध गरेका छन्।

मेयर साहले एमालेलाई कारबाही गर्नुअघि उपमेयरलगायत वडाअध्यक्षसँग सल्लाह नगरी एमालेसँग बदला लिन एकलौटी निर्णय गरी पत्र पठाएको आरोप लागेको थियो। त्यस विषयमा उपमेयर डंगोल र वडाअध्यक्षले मेयरसँग जानकारी लिएका थिए। कानुनी सवाल उठेपछि बैठकमा कानुन विभाग प्रमुख वसन्त आचार्यले पत्र काट्नु नियमसंगत भएको जवाफ दिएका थिए। कानुन विभागप्रमुख आचार्यले जवाफ दिनासाथ मेयरले एकलौटी गरेको भन्दै वडाअध्यक्ष र मेयरबीच भनाभन भएको थियो।

लगत्तै उपमेयर डंगोल र वडाअध्यक्षले कुन कानुनमा टेकेर कसलाई सोधेर पत्र पठाएको भन्दै प्रतिप्रश्न गरेका थिए । बैठकमा कामपा–८ का अध्यक्ष आशामान संगत, ९–का रामजी भण्डारी, ११ का हीरालाल तण्डुकार, १५–का ईश्वरमान सिं डंगोल, २२–का चिनीकाजी महर्जन, २४–का मचाकाजी महर्जन र २६–का ख्याम तिवारीको उपस्थिति रहेको थियो ।

बैठकमा उपमेयर डंगोलले एकलौटी निर्णय नगर्न आग्रह गर्दै टिमवर्कमा काम गर्न सुझाउनुभएको थियो । महानगरले यही २९ गते महानगर दिवस आयोजक समितिको बैठक राखेको थियो । बैठकमा मेयरविरुद्ध सबै खनिएका थिए । बैठकमा उपस्थित उपमेयर र समितिका अध्यक्षले सो जागरणसभामा एमालेले फोहोर गरे वा नगरेको विषयमा सीसीटिभी फुटेज हेरेर कस्तो कारबाही गर्ने कति जरिवाना लिने भन्ने विषयमा निर्णय गर्ने भएको छ ।

मेयर साह अझै पनि १ लाख जरिवाना तिराउने प्रयास गरिरहनुभएको छ। एमाले नेताहरूले भने बालेन्द्रको प्रोपोगान्डाको संज्ञा दिइरहेका छन् । एमालेको सभालगत्तै महानगरले जरिवानाको पत्र पठाएको थियो भने दुई दिनपछि पार्टीको मुख्यालयमै अर्को पत्र दिन गएको थियो । एमालेले कार्यक्रम स्थलमा संकलन गरिएको फोहोर ढुवानी गर्न कामपासँग सवारी साधन माग गरेको बताइरहेको छ।

सो विषय सकिएलगत्तै महानगर दिवसमा कसलाई प्रमुख अतिथि बनाउने भन्ने विषयमा समेत विवाद भएको थियो । मेयर साहले राष्ट्रपति रामचन्द्र पौडेललाई र उपमेयर डंगोलले प्रधानमन्त्री केपी ओलीलाई आमन्त्रण गर्नुपर्ने बताउनुभएको थियो । प्रधानमन्त्रीप्रति आक्रोशित मेयर साह राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउन चाहनुभएको बुझिएको छ । बैठकमा उपमेयर डंगोलले विगतको परम्पराअनुसार प्रधानमन्त्रीलाई प्रमुख अतिथि र महानगरसँग सरोकार राख्ने तालुकदार सहरी विकासमन्त्री महानगरका सांसदलाई अतिथि बनाउनुपर्ने धारणा राखेका थिए।

मेयर साहको अडानका कारण प्रमुख अतिथि कसलाई बनाउने भन्ने विषयमा समिति बनाएर निर्णय गर्ने भएको छ । गृह मन्त्रालयले राष्ट्रिय स्तरको दिवस मनाउँदा कसलाई प्रमुख अतिथि बनाउने व्यवस्था छ सोहीअनुसार गर्नुपर्ने सहमति भएको थियो । बैठकमा मेयरको अध्यक्षतामा उपमेयर डंगोल, सामाजिक समितिका संयोजक राजकुमार केसी सदस्य रहेको समितिले प्रमुख अतिथिको विषयमा सिफारिस गर्ने निर्णय भएको थियो । बैठकमा सैनिक मञ्चमा कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। बैठकको अधिकांश समय मेयरको कार्यशैलीप्रति प्रश्न उठाएको थियो । समाचारपत्र

प्रतिक्रिया