८ मंसिर २०८१, शनिबार | November 23, 2024

अस्वस्थकर खानाले समस्या


November 23, 2024
166
Shares

डा.नरनाथ न्यौपाने । पहिला जस्तो जमाना अब रहेन । हामीले कुनै पनि स्वास्थ्य र रोगसम्बन्धी अर्थात् जीवनमा आइपर्ने समस्याका कारण र समाधानका उपायसमेत आवश्यक परे क्षणभरमै पढ्न र सुन्न पाउँछौँ । सूचना प्रविधिको यो युगमा अब हामीलाई कुनै पनि विषयमा जानकारी नभएको भन्न पाउने छुट छैन । हामीले यस्ता प्रविधिको प्रयोग के कसरी गरिरहेका छौँ, त्यो ज्ञानबर्धक हो होइन र त्यो सामग्री हेर्दा वा सुन्दा हामीले नयाँ कुरा पायौँ कि पाएनौँ र त्यो नयाँ जानकारी अनुसार व्यवहारमा परिवर्तन गर्न सक्यौँ कि सकेनौँ भन्ने महत्वपूर्ण हो । अचेल भन्ने गरिन्छ कि व्यक्ति कुनै पनि सूचनाबाट वञ्चित छैन, उसले आफ्नो स्वास्थ्यका लागि सबै जानकारी पाएको छ । उसले त्यो व्यवहारमा अपनाउँदैन भने त्यो सूचनाको उसले सदुपयोग गर्ने धारणामा परिवर्तन नआएको हो, त्यस कारण धारणामा परिवर्तन ल्याउन सके मात्र व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ । अहिलेको सूचना र शिक्षाले धारणामा परिवर्तन ल्याएर व्यवहारमा परिवर्तन गराउने हुनु पर्छ भन्ने विज्ञहरूको मत छ ।

हामीले जताततै र विभिन्न अवसरमा विभिन्न माध्यमबाट सुन्दै आएको विषयवस्तु हो, ‘आफ्नो स्वास्थ्य स्वस्थ बनाउन हानिकारक खाद्यपदार्थ नखाऔँ र त्यस्ता खराब खानेकुरा खाएर रोग ननिम्त्याऔँ ।’ यस्ता अर्ती उपदेशयुक्त भनाइ एउटा कानले सुन्ने र अर्कोले उडाउने गरिन्छ किनकि यस्ता कुरा सुन्दा सुन्दा हामीलाई वाक्कदिक्क लागिसकेको छ । अब त सुन्नै नसक्ने अवस्थामा पुगिसकिएको छ । अहिले हाम्रो जिब्रो अनावश्यक पत्रु खाना र मासुजन्य पदार्थ सेवनका कारण फरक बन्दै गएको छ ।

जिब्रोले प्राकृतिक खाना कस्तो हुन्छ भनेर स्वाद थाहा पाउन नसक्ने अवस्थामा पुगेको छ । यस्तो हुनुका पछाडि हामी आफैँ जिम्मेवार छौँ । एक त हामी आफैँलाई यस्ता खाना मन पर्छ, जन्म दिन मनाउन, चाडपर्व मनाउन अपरिहार्य मानिएको छ, यस्ता खाना पाउन सजिलो छ, बनाउनु परेन, झन्झट भएन भने अर्कातर्फ हामीले हाम्रा बच्चालाई फकाउन, फुलाउन, पढाउन, काम गराउन, खुसी बनाउन प¥यो भने यस्तै पत्रु तथा मासुजन्य पदार्थ दिँदा बच्चा पनि खुसी र दिने व्यक्ति पनि आनन्दित हुने संस्कृतिको विकास गरिरहेका छौँ । त्यस कारण यो समस्याबाट अब फुत्किन अप्ठेरो छ, किनकि अब हामीले हाम्रै र बच्चाको शरीरलाई त्यस्ता खाना खाने बानी बसालिसकेका छौँ । के अब हामी त्यस्ता बानीबाट बाहिर निस्कन खोजिरहेका छौँ रु त्यस्तो विचार आएको भए मात्र यो आलेखले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । यस आलेखमा राखिएका स्वास्थ्य बचाउन त्यस्ता खाना किन परित्याग गर्न आवश्यक छ भन्ने सन्देशलाई गम्भीरतापूर्वक अध्ययन गर्न जरुरी छ । अब हामी मांसाहार, पत्रु खाना र ती खानाले स्वास्थ्यमा पार्ने सकारात्मक तथा नकारात्मक असरबारे केही छलफल गरौँ ।

मासुजन्य खाद्यपदार्थ खान छाड्नाले शरीरमा इन्फ्लामेसन ९सुजन० कम हुन्छ किनकि मासुमा उच्च स्याचुरेटेड चिल्लो हुन्छ, जसले सुजन गराउँछ र यसबाट क्यान्सर तथा अन्य रोगको समेत डर हुन्छ । मासु वा पत्रु खानाले पेटका लाभदायक संरचना र लाभदायक जीवाणु नष्ट हुने गर्छन्, जसले पेटका दीर्घकालीन समस्या निम्त्याउँछ तर यस्ता खाना नखाँदा यस्तो गडबडी केही नहुने हुँदा पेटको स्वास्थ्य राम्रो हुन्छ । मासु छाड्नाले पाचनप्रणाली तथा प्याङ्क्रियाज स्वस्थ भई वंशाणुगत गुणबाट नभई पछिबाट देखिने दोस्रो टाइपको सुगर रोगको सम्भावना पनि कम हुन्छ ।

मासु तथा पत्रु खाना नखाँदा कोलेस्टोरलको मात्रा सन्तुलन हुन्छ किनकि यसमा पाइने स्याचुरेटेड चिल्लोले खराब कोलेस्टोरलले बढाउने हुँदा यस्ता खानाको सेवन नगर्दा त्यस्तो चिल्लो नखाइने हुँदा रगतमा खराब कोलेस्टोरलको मात्रा कम हुन थाल्छ । यस्ता खाना नखाँदा पैसाको पनि बचत हुन्छ किनकि शाकाहारी भोजनमा जति मांसाहारी र पत्रु भोजनमा खर्च हुँदैन र पैसाको पनि बचत भई अन्य काममा खर्च गर्न सकिन्छ । मासुजन्य र पत्रु खाना नखाएमा वातावरण पनि संरक्षण हुन्छ । मासुजन्य र पत्रु खाना जस्ता पदार्थले ग्रिनहाउस प्रभाव पार्ने र कार्बन उत्सर्जन गर्ने भएकाले यस्ता खानाका सट्टा वनस्पतिजन्य खाद्यान्नको प्रयोग गर्दा वातावरणमा पनि सकारात्मक प्रभाव पर्छ ।

मांसाहार र पत्रु खाना त्याग गर्दा तौल कम हुन सक्छ किनकि यस्ता खानामा पाइने अनावश्यक चिल्लो पदार्थ, नुन, हानिकारक मसला वा थप चिनीको मात्रा नखाइने भएकाले बिस्तारै शरीरको तौल कम हुन थाल्छ । मासु सेवन गर्न छाडेर शाकाहारी भोजन गर्दा फलफूल वा तरकारीमा पाइने फाइबर तथा पानीका कारण दिसा पिसाब पनि राम्रोसँग खुलेर आउँछ । बढी मात्रामा पत्रु खाना र पेय पदार्थमा कार्बोहाइड्रेट पाइने र यी जिरो फाइबरयुक्त हुन्छन् । जब पाचन प्रणालीले यस्ता खानालाई टुक्¥याउन थाल्छन् र त्यसबाट ग्लुकोज उत्पन्न भई रगतमा जान्छ र रगतमा यसको मात्रा उच्च हुन्छ । सामान्यतया रगतमा ग्लुकोजको मात्रा बढेपछि प्याङ्क्रियाजबाट निस्कने इन्सुलिनले पाचन गराई शरीरका सबै कोषमा पु¥याउन सहयोग गर्छ तर यस्ता खाना नियमित वा धेरै पटक खानाले इन्सुलिनले पर्याप्त काम गर्न नसकी मोटोपन बढ्ने, सास फेर्न समस्या हुने, दम रोग उत्पन्न हुने र दोस्रो प्रकारको सुगर रोग लाग्न सक्छ ।

यस्ता खानामा पाइने सुगर तथा चिल्लोले बढी क्यालोरी दिने तर कम पोषण तìव पाइने भएकाले शरीरलाई हानि गर्छ । खराब चिल्लोका कारण कोलेस्टोरल बढेर मुटुलाई असर गर्न सक्छ । यस्ता खानामा सोडियम वा नुनको मात्रा पनि अत्यधिक हुन्छ, जसका कारण पानी शरीरमा रहिरहने र पिसाबबाट जान नसक्ने भएकोले सुन्निने, रक्तचाप बढ्ने र पेटमा बढी वायु जम्मा हुने समस्या हुन सक्छ । यस्ता खानाले छालामा विकृति आउने, डन्डीफोर आउने, एक्जिमा तथा छालाका एलर्जीसमेत आउँछन् । सुगर र कार्बोहाइड्रेटका कारण मुखमा अम्ल उत्पन्न भई दाँत खराब हुने, दाँतमा किरा लाग्ने, हाडको घनत्व घटी भाँचिने वा हाडका समस्यासमेत देखिन सक्छन् । बच्चा अवस्थामा यस्ता खाना खानाले मोटोपनको समस्या आउने र अन्य स्वास्थ्य समस्यासमेत देखिन्छन् ।

अन्त्यमा यस्ता खानाले केही अवधिका लागि भोक तृप्त हुन सक्छ, खाँदा स्वादिलो हुने, आनन्द आउने हुन सक्छ तर पछि पेटमा समस्या देखिन थाल्छ । वनस्पतिजन्य खाद्यान्नले लाभदायक जीवाणुको वृद्धि विकास हुन्छ, पाचन प्रणाली मजबुत हुन्छ जसले गर्दा पेटको स्वास्थ्य पनि राम्रो हुन्छ । मासु खाइरहने व्यक्तिले एक्कासि खान छाडेमा निकै कमजोर महसुस हुन सक्छ किनकि नियमित आपूर्ति भइरहने प्रोटिन, आइरन र अन्य तìवको एक्कासि कमी भएमा शक्ति क्षय हुन्छ तर बिस्तारै शरीरले सञ्चित शक्तिबाट आपूर्ति गर्न थाल्छ र केही समयमै क्षतिपूर्ति हुन्छ । त्यस कारण मासु छाडेपछि हरिया सागपात, फलफूल, नट्स, बिन आदि खानु पर्छ, जसले शरीरको अवस्था छिटो यथावत् बनाउँछ ।

यसै गरी मासु नखाँदा अन्य थप तत्वको आवश्यकता पर्न सक्छ । जस्तै भिटामिन बी १२ जस्तो तत्व वनस्पतिजन्य खाद्य पदार्थमा पाउन सकिँदैन तर खाद्य पदार्थलाई मिसाएर खाएमा यस्ता सबै तत्व आपूर्ति हुन्छन् । यसका लागि दाल, भात, हरियो तरकारी, अचार र केही दुग्धजन्य पदार्थ सँगसँगै मिलाएर खानु आवश्यक हुन्छ । हामीले स्वास्थ्य राम्रो बनाउनु छ र दीर्घजीवन बाँच्नु छ भने खानपान पहिलो प्राथमिकता हो । व्यक्तिले जस्तो खाना खान्छ उस्तै मन बन्छ । त्यस कारण खाना र मस्तिष्कबिचको बलियो सम्बन्ध रहेको पुष्टि गर्न सकिन्छ । पाचनप्रणाली हाम्रो शरीरको दोस्रो मस्तिष्क पनि हो । त्यसैले पनि हामीले मासुजन्य तथा जङ्कफुड जस्ता खाना खानुअघि १० पटक सोच्न जरुरी छ । त्यो खाना हामीले किन खाँदैछौँ रु केवल जिब्रोको स्वादका लागि, पौष्टिक तत्व प्राप्त गर्नका लागि, शरीर बनाउन वा पेट बिगार्न, शरीर बिगार्न, मन मस्तिष्क बिगार्न, पैसा नोक्सान गर्न, शरीरलाई छिटै रोगको घर बनाउन वा केका लागि ? गोरखापत्रबाट

प्रतिक्रिया