१० माघ २०८१, बिहिबार | January 23, 2025

सीआईबीले लोकेसन नै पत्ता लगाउन सकेन, इन्सपेक्टर बिनु शाही अझै फरार


November 22, 2024
996
Shares

काठमाडौं,७ मंसिर । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोपमा प्रहरी निरीक्षक ९इन्सपेक्टर० बिनु शाहीसहित ६ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा पुगेको छ । भैंसेपाटी प्रहरी प्रभागमा रहँदा हनी ट्र्यापसँग मिलेर करिब ३० लाख रुपियाँ लिएको आरोप लागेकी प्रहरी निरीक्षक शाहीको प्रमुख भूमिका देखेपछि मुद्दा चलाउनुपर्ने रायसहित मुद्दा दर्ता गर्ने तयारीमा छ ।

ठूलाठूला अनुसन्धानमा आरोपितलाई सजिलै पक्राउ गर्न सक्ने प्रहरीले फरार सूचीमा रहेकी शाहीलाई हालसम्म पक्राउ गर्न नसक्नु अपत्यारिलो भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०का एसपी तथा प्रवक्ता होबिन्द्र बोगटीले नेपाल प्रहरीले खोजी गर्दा फेला नपरेको जानकारी दिनुभयो ।

सूक्ष्म अध्ययन गरेर अधिकांश आरोपितलाई पक्रन सफल भएको सीआईबीले फरार प्रहरीलाई पक्राउ गर्न नसक्नुको कारणबारे जानकारी लिँदा प्रवक्ता एसपी बोगटीले भन्नुभयो– ‘उहाँ पनि प्रहरी नै हुनुभयो, कहाँ बस्दा पक्राउ गर्न सकिँदैन भन्ने ज्ञान भएकाले हालसम्म पक्राउ गर्न कठिन भएको हो ।’

उहाँका अनुसार शाहीलाई पक्राउ गर्न सबै प्रहरी युनिटमा खबर भइसकेको बताउनुभयो । प्रहरी निरीक्षक शाही प्रहरीलाई नै चक्मा दिएर फरार भएकी छन् । मुद्दा दर्ता भएपछि अदालतमा हाजिर हुन आउने सम्भावना रहेको स्रोतको भनाइ छ । सीआईबीले प्रहरी निरीक्षक शाहीसहित ६ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको जनाएको छ । सीआईबीले आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय दिएको छ ।

यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो । अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापाको समेत कनेक्नस देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो । सीआईबीले भैंसेपाटीकै सहायक हवल्दार महेन्द्र हमाल, सुनसरीको इटहरीका सुष्मा विक, ताज स्लाम र भीमादेवी थापा छन् ।
सहायक हवल्दार हमालमाथि युवतीको प्रयोग गरेर ९हनी ट्र्याप० व्यवसायीबाट असुल गरिएको रकम दुईपटक आफैंले बैंकमा जम्मा गर्न लगाएको आरोप छ ।

हिरासतमै रहेकी सुष्मा विक हनी ट्र्यापमा व्यवसायीलाई फसाउन प्रयोग भएकी युवती र ताज स्लाम हनी ट्र्यापको मुख्य योजनाकार रहेको सीआईबीको निष्कर्ष छ । ती व्यवसायीसँगको सम्बन्धबारे थाहा पाएपछि उनीहरूले सुष्मालाई प्रयोग गरेर रकम असुल गरेको प्रहरीको निष्कर्ष छ । सीआईबीले एसपी थापा दोषी नभएको प्रतिवेदन तयार गरेको थियो ।

हनी ट्र्यापमा फसाउने योजनाअनुसार सुनसरीबाट ताज र दर्शन जहाजमा र सुष्मा र भीमा गाडी चढेर काठमाडौं आएर ७ असोजमा शान्ति सुरक्षामा असर पारेको भन्दै एक व्यवसायीविरुद्ध प्रहरी प्रभाग भैंसेपाटीमा निवेदन दिएका थिए । त्यसपछि इन्सपेक्टर शाहीको निर्देशनमा रकम बार्गेनिङ गर्न शुरू भएको थियो ।

इन्सपेक्टर शाही र दर्शन पोखरेललाई फरार प्रतिवादी बनाउँदै सीआईबीले फाइल बुझाएको छ । घटनाको दोषी देखिएपछि फरार तत्कालीन भैंसेपाटी प्रभागका प्रहरी निरीक्षक विनुकुमारी शाहीले घटनालाई अन्तै मोड दिन विभिन्न क्रियाकलाप गर्न थालेकी थिइन् । सीआईबीले अन्ततः प्रहरी निरीक्षक शाही नै दोषी देखाएपछि उनी पक्राउ पर्ने प्रायः निश्चित छ । भैंसेपाटीबाट जिल्ला प्रहरी परिसरमा तान्दा जान इन्कार गरेकी थिइन् ।

बजेट नचल्ने प्रभावमा प्रमुखको जिम्मेवारी पाएकी शाहीले छानबिन गर्न जिल्ला प्रहरी परिसरमा तानेपछि भैंसेपाटी प्रभागको कुर्सी छाड्ने क्रममा प्रहरीका लागि खरिद गरेको थाल कचौरा, प्रभाग इन्चार्जले प्रयोग गर्ने खाटलगायतका जिन्सी सामग्रीसमेत डेरामा लगेकी थिइन् ।

स्रोतका अनुसार प्रहरी परिचालन गरी विभिन्न व्ययसायीसँग रकम असुल्ने गरेको आरोप उनीमाथि लागेको थियो । फरार इन्सपेक्टर शाहीले आफू जोगिन शक्तिकेन्द्र धाइरहेकी छन् । सीआईबीले मुद्दा चलाउन सिफारिस गरेपछि उनले आत्मसमर्पण गर्ने कि प्रहरीले खोजेर पक्राउ गर्ने भन्ने विषय मुख्य रहेको छ । प्रहरीले उनको प्रत्यक्ष संलग्नता देखेपछि असोज १८ मा उनलाई निलम्बन गरिएको थियो । लगत्तै पक्राउ पुर्जी जारी गरेपछि उनी फरार छिन् । समाचारपत्र

प्रतिक्रिया