४ मंसिर २०८१, मंगलबार | November 19, 2024

धर्मकाटाको डिजिटलाइजेशनले ओभरलोड नियमन प्रभावकारी हुन्छ : महासचिव बानियाँ


November 19, 2024
581
Shares

काठमाडौं,५ मंसिर । नेपाल ट्रक यातायात व्यवसायी महासंघको व्यवस्थापनमा रहेको धर्मकाटाको डिजिटलाइजेशनको औपचारिक शुभारम्भ भएको छ । मंगलबार एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, धुनिबेशी नगरपालिकाका मेयर बाल कृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठले संयुक्त रुपमा डिजिटलाइजेशनको शुभारम्भ धादिङ्गको धार्केमा गरेका हुन् ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले डिजिटल धर्मकाटाले सरकारको यातायात नीति कार्यान्वयनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।  सो धर्मकाटाको डिजिटल रूपान्तरणले ओभरलोड नियन्त्रणमा मद्दत पुग्ने महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले ठाकुवा गरे । “धर्मकाटालाई डिजिटल बनाउने उद्देश्यसँगै ओभरलोडका कारण सडकमा हुने क्षति रोक्न र ट्रक व्यवसायलाई थप व्यवस्थित बनाउन यो कदम चालिएको हो । डिजिटलाइजेशनले धर्मकाटाको सञ्चालनलाई पारदर्शी बनाउने र ओभरलोड नियमन प्रभावकारी हुने आशा राखेका छौं ।”–बानियाँले भने ।

उनका अनुसार देशभरका धर्मकाटालाई डिजिटल बनाउने महासंघको तयारी रहेको छ । हाल देशभर २१ वटा धर्मकाटा संचालनमा छन्। महासंघका अनुसार ती सबै धर्मकाटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढ्नेछ । डिजिटलाइजेशनपछि ओभरलोडको डेटा र ट्रकहरूको जानकारी सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिनेछ।

धर्मकाटाको डिजिटलाइजेशनले सडक संरचनाको दीर्घकालीन संरक्षणमा मद्दत पु¥याउने र ओभरलोडका कारण हुने दुर्घटना तथा सडक बिग्रिने समस्या कम गर्ने अपेक्षा महासंघको छ । महासंघले डिजिटल धर्मकाटाबाट तत्कालै लाभ प्राप्त हुने र अन्य क्षेत्रमा पनि डिजिटल रूपान्तरणलाई प्राथमिकता दिने योजना बनाएको छ ।

 

प्रतिक्रिया