३ माघ २०८१, बिहिबार | January 16, 2025

घरजग्गा कारोबारमा किन आएन सुधार ?


November 19, 2024
249
Shares

काठमाडौं,४ मंसिर । घरजग्गामा कित्ताकाट खुलेपछि र बैंकहरूमा लगानीयोग्य पुँजीको अधिक तरलतासँगै घरजग्गा कारोबारमा सुधार हुने अपेक्षा गरिए पनि खासै प्रगति नभएको पाइएको छ ।

दसैंका बेला चाडपर्व मनाउन विदेशबाट नेपाल आउनेहरूले घरजग्गा किन्ने समयमा पनि उत्साह नदेखिएको पाइएको छ । अपेक्षित कारोबार नभए पनि कात्तिकमा गत वर्षको कात्तिकमा भन्दा कारोबार बढेको देखिएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत वर्षको कात्तिकमा २६ हजारवटा कारोबार भएकामा यस वर्षको कात्तिकमा ३३ हजार ५ सय १४ वटा लिखत पारित भएको छ । गत असोजमा भने ३० हजार ५ सय २७ वटा लिखत पारित भई कारोबार भएको थियो ।

यसैगरी, असोजमा ३१ हजार ४ सय १४ वटा कित्ताकाट भएकामा कात्तिकमा ३२ हजार १ सय ६० पटक कित्ताकाट भएको छ । कित्ताकाट र कारोबार बढे पनि राजस्व भने असोजको तुलनामा कात्तिकमा १२ दशमलव २४ प्रतिशतले घटेको छ । गत असोजमा ३ अर्ब ८१ करोड रुपैयाँ राजस्व उठाउँदा कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँ मात्रै राजस्व उठेको विभागको तथ्यांक छ ।

सरकारले भू–उपयोग ९दोस्रो संशोधन० नियमावली, २०८१ संशोधन गरी भू–उपयोग क्षेत्र वर्गीकरण नभएको स्थानीय तहमा २०८२ असार मसान्तसम्म चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नुपर्ने व्यवस्था गरेकामा पालिकाहरूले सोको निर्णय नगर्दा अन्योल कायम भएकाले पनि अपेक्षित कारोवार नभएको बताइएको छ ।

गत आर्थिक वर्षको तुलनामा भने चालू आवको कात्तिकमा घरजग्गा कारोबारको लिखत पारितसँगै राजस्वमा केही सुधार देखिएको छ । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ रुपैयाँबराबरको राजस्व संकलन गरेका छन् ।

असोज महिनाको तुलनामा भने कात्तिकमा राजस्वमा कमी आएको छ । असोजमा ३ अर्ब ८ करोड १२ लाख ४१ हजार ४ सय ८१ रुपैयाँबराबरको राजस्व संकलन भएको थियो ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार मालपोत कार्यालय सिर्दिवासमा कुनै कारोबार भएन भने सबैभन्दा बढी कारोबार इनरुवा सुनसरीमा भएको पाइएको छ । इनरुवामा एक महिनामा १ हजार २ सय ४६ वटा लिखत पारित भएको थियो । त्यसपश्चात् बढी लिखत पारित भएका मालपोत कार्यालयहरूमा क्रमशः मोरङ, धनुषा, राजविराज, भद्रपुर, धनगढी, मलंगवा, सिरहा र नेपालगन्ज रहेका छन् ।

मालपोत कार्यालय मोरङबाट १ हजार १ सय १२ वटा लिखत पारित भएको छ । मालपोत कार्यालय जनकपुरधाम धनुषाबाट १ हजार २४, राजविराज सप्तरीबाट १ हजार २२, भद्रपुर झापाबाट ९ सय ९८, धनगढी कैलालीबाट ८ सय ६३, मलंगवा सर्लाहीबाट ७ सय ४७, सिरहाबाट ७ सय १२ र नेपालगञ्ज बाँकेबाट ७ सय ४ वटा लिखत पारित भएका छन् ।

उपत्यकामा सबैभन्दा बढी भक्तपुर मालपोतमा ६ सय ७७ वटा लिखत पास भएका छन् । राजस्व संकलनका हिसाबले भने लगनखेलबाट बढी राजस्व संकलन भएको छ ।

काठमाडौं उपत्यकाभित्रका नौवटा मालपोत कार्यालयहरूमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार ८ सय ५८ रुपैयाँबराबर राजस्व संकलन गरेको छ ।

मालपोत कार्यालय गोटीखेल ललितपुरले ४ लाख ६७ हजार ७ सय २० रुपैयाँ, भक्तपुरले १७ करोड ६९ लाख २३ हजार ६ सय ४५ रुपैयाँ, डिल्लीबजारले १५ करोड ७७ लाख २० हजार ५ सय ४५ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।

चाबहिल मालपोत कार्यालयले भने २१ करोड ४२ लाख ४६ हजार ९ सय ९२ रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी, कलंकी मालपोत कार्यालयले १७ करोड ८ लाख ४४ हजार ७ सय ५१ रुपैयाँ, साँखु कार्यालयले ४ करोड ७९ लाख ५४ हजार ९ सय ४२ रुपैयाँ, मनमैजु कार्यालयले ५ करोड ५० लाख ९३ हजार ६ सय ३२ रुपैयाँ, टोखा कार्यालयले ३ करोड ५७ लाख २७ हजार ६ सय ६५ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकरलगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन ९दर्ता० दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।

विभागका अनुसार मुलुकभरका १ सय ३३ मालपोत कार्यालयहरूले कात्तिक महिनाभरीमा १७ करोड ७८ लाख ३८ हजार ४ सय ६६ रुपैयाँबराबरको सेवा कर उठाएको छ । यस्तै, रजिस्ट्रेसन शुल्क १ अर्ब ८२ करोड ९५ लाख ३० हजार १ सय ३१ रुपैयाँ, पुँजीगत लाभकर ९३ करोड ७७ लाख ९१ हजार ८ सय २० रुपैयाँ संकलन गरेको छ ।

चालू आव २०८१÷८२ को कात्तिकमा देशभर ३३ हजार ५ सयको संख्यामा घरजग्गा कारोबार भएको छ । साउन, भदौ र असोजमा भएको कारोबारका आधारमा भने कात्तिकमा कारोबार बढेको भए पनि उत्साह बढ्ने खालको नभएको भनाइ घरजग्गा व्यवसायीहरूको रहेको छ ।

असोजमा देशभर ३० हजार ५ सय २७ संख्यामा घरजग्गा कारोबार भएको थियो । भदौमा देशभर ३२ हजार ७ सय संख्यामा घरजग्गा कारोबार भएको थियो । साउनमा देशभर ४३ हजार ८ सय संख्यामा घरजग्गा कारोबार भएको विभागको तथ्यांक छ ।

यद्यपि, गत आव २०८०–८१ को कात्तिक महिनाको तुलनामा भने यस वर्ष कात्तिकमा २८ दशमलव ६७ प्रतिशतले घरजग्गा कारोबार बढेको देखिन्छ ।

गत वर्ष कात्तिकमा देशभर २ हजार ६ सय संख्यामा घरजग्गा कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकले २ करोड रुपैयाँसम्मको कर्जालाई व्यक्तिगत आवासअन्तर्गत राखेको र कर्जा–आम्दानी अनुपात ६० प्रतिशत हुनुपर्ने प्रावधान भएकाले कारोबार नबढेको बुझाइ व्यवसायीहरूको छ । यसमा परिवर्तन गरेर ८० प्रतिशत बनाउनुपर्ने माग उनीहरूको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया