३ मंसिर २०८१, सोमबार | November 18, 2024

देश रोइरहेको छ : रायमाझी


November 18, 2024
1.9k
Shares

प्रकाश रायमाझी । नेपालको वर्तमान अवस्था दिन प्रतिदिन भयावह बन्दै छ । भ्रष्टाचार र राजनीतिक माफियाहरूका कारण देशले आफ्नो गति गुमाइसकेको छ । अर्थतन्त्र डामाडोल छ । उद्योग र व्यवसाय खस्किँदै गएका छन् । ठूला उद्योगीले मात्र होइन, साना व्यवसायी र स्वरोजगारले पनि आफ्नो व्यवसाय टिकाउन सकेका छैनन् । राजधानीका सडक किनारका पसलहरू ताला लागेर बन्द भइरहेका छन् । मानिसहरू एकातिर महँगीको मारमा परेका छन् भने अर्कातिर सरकारका नयाँ नयाँ करले उनीहरूको ढाड सेकिएको छ ।

धेरै जना देशमै केही गर्ने आशा बोकेर संघर्ष गरिरहेका छन्, तर ती सपना पूरा हुन नसक्दा उनीहरू विदेश पलायन हुने बाध्यतामा पुगेका छन् । ५५ डिग्रीको घाममा घन्टौं ड्युटी गर्न खाडी मुलुक जाने हुन्, वा मानव तस्करहरुको चंगुलमा फसेर ज्यानै जोखिममा राखेर भए पनि युरोप अमेरिका छिर्ने सपना देख्ने हुन्, सबैका आफ्ना बाध्यता छन् । देशमै केही गर्ने सपना पूरा हुन नसक्दा प्रियजन अनि स्वर्गभन्दा सुन्दर मातृभूमि त्यागेर विदेशिनु परेको दुःख यी सबैको मनमा छ । अनि, देशलाई तहसनसह पार्ने राजनीतिक नेतृत्वहरुप्रति घृणा अनि आक्रोश । राजनीतिक नेता विदेश भ्रमणमा जाँदा तिरस्कृत हुनुपर्ने अवस्था त्यसै आएको होइन ।

साना व्यवसायीहरूको कुरा गर्ने हो भने, घर बहाल कर, व्यवसाय कर, र साइनबोर्ड करले तिनीहरूको व्यवसाय धराशायी बनाएको छ । एक जना साना व्यवसायीले आफ्नो पसल बन्द गर्दै गर्दा भनेका थिए, पसलको आम्दानीले कर तिर्न पनि पुग्दैन, परिवार पाल्नु त परको कुरा भयो । अब पसल बेचेर आएको पैसाले विदेश जाने हो ।

सरकार भने कर उठाउन झन् कडा हुँदै छ । महँगो मूल्य अभिवृद्धिकर र अन्य विभिन्न करले जनताको ढाड भाँचिसकेको छ । नेपाल अहिले संसारकै सबैभन्दा कर लादिएको देशमध्ये एक भएको छ । तर पनि, राजनीतिक माफियाहरूलाई जनताको रगत पसिना चुस्न अझै पुगेको छैन ।

बैंकहरूको चर्को ब्याजदरले ऋण लिनेहरूलाई ठूलो संकटमा पारेको छ । ऋण तिर्न नसक्ने व्यवसायीहरू आफ्नो घरखेत गुमाउँदै छन् । कतिपयको अवस्था यति बिग्रिसकेको छ कि उनीहरूले आत्महत्या गर्नसम्म बाध्य हुनुपरेको छ । एउटा दर्दनाक उदाहरण, गत वर्ष एक व्यवसायीले बैंकको चर्को ब्याज तिर्न नसेको र देशमा गरिखाने वातावरण नभएको भन्दै संसद भवन अगाडि नै आत्महत्या गरे । यो घटनाले धेरैको मन छोयो तर समाधानमा कुनै ठोस कदम चालिएन ।

सहकारीको नाममा ठगिएका हजारौं पीडितहरूको समस्या पनि नयाँ होइन । राजनीतिक भागबण्डाको कारणले यो समस्या झन् जटिल बनेको छ । सहकारीमा डुबेको निक्षेप फिर्ता पाउने आशामा बसेका लाखौँ पीडितको पीडा समाधान गर्नुको सट्टा सरकार र राजनीतिक दलहरूले यसलाई आफ्नो अभीष्ट पूरा गर्ने र विरोधीलाई तह लगाउने राजनीतिक अस्त्र बनाएका छन् । जनताका आधारभूत आवश्यकताहरू—औषधी, स्वास्थ्य सेवा, शिक्षा, गाँस, बास र कपास सुरक्षित छैनन् । ग्रामीण भेगमा सिटामोलको अभावले मानिसको ज्यान जाने अवस्था छ । सरकारी अस्पतालहरूमा औषधी र उपकरणको अभाव छ, तर नेताहरूलाई भने विदेशमा उपचार गराउन पनि पुगेकै छ । शिक्षा क्षेत्रमा पनि यो समस्या छ । सरकारी विद्यालयहरूको स्तरोन्नति हुन नसक्दा अभिभावकहरू बच्चाहरूलाई निजी विद्यालयमा पठाउन बाध्य छन् । शिक्षा जस्तो पवित्र क्षेत्रलाई पनि राजनीतिक कार्यकर्ता भर्ना गर्ने र ढुंगामूढा गर्ने गोठाला उत्पादन गर्ने केन्द्र बनाएका छन्, नेताहरुले । देशमा अहिले माफियाहरूको राज्य छ । जसले राजनीतिको नाममा आफ्नो निजी स्वार्थ पूरा गर्दै छन् । ठूला ठूला परियोजना, विकास योजनाहरू राजनीतिक पहुँच भएकाहरूकै पेवा भएको छ । यी प्रक्रियामा पारदर्शिताको नहुँदा जनताले पाउने सेवाको गुणस्तर र प्रभावकारिता नकारात्मक असर पुगेको छ ।

नेपाल रोइरहेको छ । देशले आफ्नो अस्तित्व बचाउन संघर्ष गरिरहेको छ । जनताले सहनशीलताको हद पार गरिसकेका छन् तर समाधानको मार्ग अझै टाढा छ । अब समय आएको छ—जनताका आवाजलाई प्राथमिकता दिने, भ्रष्टाचारको अन्त्य गर्ने, र सबै नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार दिलाउने । यो देशको भविष्य अझै पनि हामी जनताको हातमा छ, तर यसको लागि ठूला परिवर्तन आवश्यक छन् । अहिलेको दुर्दशा परिवर्तन गर्न जनताको एकता र दृढ संकल्प अपरिहार्य छ ।
(रायमाझी राजनीतिक विश्लेषक हुन् )

 

प्रतिक्रिया