१० पुस २०८१, बुधबार | December 26, 2024

कति छन् नेपालमा इन्टरनेट प्रयोगकर्ता ?


November 9, 2024
332
Shares

काठमाडौं,२४ कात्तिक । नेपालको कुल जनसंख्याभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा कुल ४ करोड ३५ लाख २३ हजार ५ सय ८८ वटा इन्टरनेट प्रयोगकर्ता रहेका छन् । प्राधिकरणको तथ्यांकनुसार द्रुत गतिको इन्टरनेट जडित मोबाइल प्रयोगकर्ताको संख्या मात्रै ३ करोड १२ लाख ११ हजार रहेको छ । इन्टरनेट सेवा प्रदायकहरूबाट घरघरमा जडित इन्टरनेटको संख्या १ करोड २३ लाख १२ हजार ५ सय पुगेको छ ।

आर्थिक वर्ष २०६५–६६ सम्म कुल जनसंख्याको २२ दशमलव ९४ प्रतिशतमा टेलिफोन सेवाको पहुँच रहेको र इन्टरनेट प्रयोगकर्ता मात्र १ दशमलव ८७ प्रतिशतमा सीमित रहेकामा आव २०८०–८१ को असार महिनाको अन्त्यसम्म आइपुग्दा कुल जनसंख्याको १२४ दशमलव २२ प्रतिशतमा टेलिफोन सेवाको पहुँच पुगेको छ भने इन्टरनेट प्रयोगकर्ता १४९ दशमलव २३ प्रतिशत पुगेको छ ।

प्राधिकरणको तथ्यांकनुसार फिक्स्ड भ्वाइस–सेवाको घनत्व २ दशमलव शून्य ५ प्रतिशत, मोबाइल सेवाको घनत्व १२२ दशमलव १६ प्रतिशत रहेको छ । प्राधिकरणका अनुसार इन्टनेटतर्फ फिक्स्ड ब्रोडब्यान्डको ९वायर–फाइवर० सेवाको घनत्व ४२ दशमलव १२४ प्रतिशत र मोबाइल ब्रोडब्यान्ड सेवाको घनत्व १०७ दशमलव शून्य २ प्रतिशत गरी जम्मा इन्टरनेट घनत्व १४९ दशमलव २३ प्रतिशत पुगेको हो ।

नेपाल सरकारले अवलम्बन गरेको नीतिअनुरूप प्राधिकरणले राष्ट्रव्यापी रूपमा ब्रोडब्यान्ड पूर्वाधार निर्माण एवं विस्तार गर्ने र दूरसञ्चार सेवालाई अझ गुणस्तरीय एवं प्रभावकारी बनाई आमउपभोक्ताको सहज पहुँच सुनिश्चितता गर्ने कार्यलाई प्रभावकारिताका साथ अगाडि बढाएका कारण इन्टरनेट प्रयोगकर्ताको संख्या बढेको भनाइ प्राधिकरणको छ ।

आव २०७६–७७ मा दु्रतगतिको ब्रोडब्यान्ड प्रयोगकर्ता २ करोड १ लाख ८३ हजार रहेको थियो । आव २०७७–७८ मा आइपुग्दा ३ करोड ९ लाख ९३ हजार रहेको थियो । यसैगरी, आव २०७८–७९ मा ३ करोड ८३ लाख, आव २०७९–८० मा ३ करोड ९८ लाख रहेकामा आव २०८०–८१ मा आइपुग्दा यो संख्या ४ करोड ३५ लाख २३ हजार पुगेको छ ।

– ३ करोड १२ लाख मोबाइलमा ब्रोडब्यान्ड

– दूरसञ्चार प्राधिकरणको नाफा २४ करोड

इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या बढेसँगै नेपाल दूरसञ्चार प्राधिकरणको नाफा पनि पाँच गुणाले बढेको छ । आव २०७९–८० मा ३ अर्ब ८७ करोड ४७ लाख १ हजार रुपैयाँ नाफा गरेको प्राधिकरणले गत आवमा भने २३ अर्ब ८५ करोड ६५ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको भन्दा १९ अर्ब ९८ करोड १८ लाख रुपैयाँले बढी हो ।

प्राधिकरणले आव २०८०–८१ मा २४ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा भने प्राधिकरणको आम्दानी ४ अर्ब ३४ करोड रुपैयाँ मात्र थियो ।

आव २०८०–८१ को वार्षिक प्रतिवेदनअनुसार प्राधिकरणको सञ्चित नाफा र आम्दानी शीर्षकमा एकै वर्ष १३ अर्ब ४१ करोड रुपैयाँ थपिएको छ । यससँगै सो शीर्षकमा ३५ अर्ब ४५ करोड ५७ लाख पुगेको छ ।

प्राधिकरणका अनुसार यसअघि आव २०७८–७९ मा पनि प्राधिकरणको सञ्चित नाफा र आम्दानी २२ अर्ब ६१ करोड रुपैयाँ मात्र थियो भने अघिल्लो वर्ष २०७७–७८ मा ३५ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो ।

रकम प्राधिकरणले प्रत्येक वर्ष नेपाल सरकारको संघीय सञ्चित कोषमा दाखिला गर्दै आएको छ । जसका कारण प्रत्येक वर्ष प्राधिकरण कोषमा रहेको नगद मौज्दात घट्दो क्रममा रहेको छ । प्राधिकरणको कुल सम्पत्ति आव २०७५–७६ मा ४२ अर्ब १५ करोड ९७ लाख १ हजार रुपैयाँ रहेकामा आव २०८०–८१ मा कुल सम्पत्ति ४१ अर्ब ६२ करोड ६६ लाख ३६ हजार रुपैयाँ रहेको छ । प्राधिकरणको कुल दायित्व आव २०७५–७६ मा ८ अर्ब ९३ करोड ३२ लाख ५५ हजार रुपैयाँ रहेकामा आव २०८०–८१ मा ६ अर्ब १७ करोड २५ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

प्राधिकरणको सञ्चालन आय २४ अर्ब ११ करोड ८१ लाख २७ हजार रुपैयाँ रहेको छ । कुल सञ्चालन आयमा ९९ दशमलव २६ प्रतिशत हिस्सा अनुमतिपत्र दस्तुर तथा त्यसको नवीकरण, संशोधन, बिक्री वा हक हस्तान्तरण दस्तुरबापत प्राप्त रकमको रहेको छ । प्राधिकरण कोषमा रहेको रकमको ब्याज आम्दानी पनि प्राधिकरणको आन्तरिक आयको अर्को स्रोत हो । आव २०८०–८१ मा प्राधिकरणले १७ करोड ५१ लाख ३५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

प्राधिकरणले गत आवमा सञ्चालन आय लक्ष्यभन्दा ५ सय ६९ प्रतिशत बढी हासिल गरेको छ । अनुमतिपत्र दस्तुरबाट पनि लक्ष्यभन्दा ५ सय ८० प्रतिशत प्रगति हासिल गरेको पाइएको छ । यस्तै, ब्याज आम्दानी पनि लक्ष्यभन्दा १ सय ६८ प्रतिशतले बढी हासिल भएको छ । जसका कारण प्राधिकरणको आम्दानी बढेको हो । कुल ४ अर्ब २३ करोड रुपैयाँको आम्दानी गर्ने लक्ष्य लिएको प्राधिकरणले गत आवमा २४ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन लक्ष्यभन्दा ५ सय ६९ प्रतिशतले बढी हो ।

दूरसञ्चार क्षेत्रको नियमन गर्ने निकाय प्राधिकरणले सार्वजनिक गरेको यस वार्षिक विवरणको अन्तिम लेखापरीक्षण हुन बाँकी छ । प्राधिकरणका अनुसार दूरसञ्चार ऐन, २०५३ ले प्राधिकरणको छुट्टै कोष हुने व्यवस्था गरेनुसार सोही कोषमा जम्मा भएको रकमको एकमुष्ठ विवरण सार्वजनिक गरिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकको बजार हिस्सा ११ प्रतिशत रहेकामा आव २०७९–८० मा भ्वाइस सेवाको बजार हिस्सा ७७ प्रतिशत र इन्टरनेट ९नेटवर्क सेवा प्रदायकसमेत० सेवा प्रदायकको बजार हिस्सा २३ प्रतिशत रहेको जनाएको छ ।

दूरसञ्चार सेवाको बजारको हिस्सालाई राजस्वका आधारमा हेर्दा आव २०७५–७६ मा भ्वाइस सेवाको राजस्वमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ४० प्रतिशत र एनसेल आजियाटा लिमिटेडको ६० प्रतिशत बजार हिस्सा रहेकामा आव २०७९–८० मा भ्वाइस सेवाको राजस्वमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ५१ प्रतिशत र एनसेल आजियाटा लिमिटेडको ४९ प्रतिशत बजार हिस्सा रहेको छ ।

आव २०७९–८० मा प्राप्त गरेको वार्षिक आयको २ प्रतिशतले हुने रकम १ अर्ब ७४ करोड २६ लाख ६७ हजार ३ सय ८३ रुपैयाँ ४ पैसा मात्र सेवा प्रदायकहरूबाट यस अवधिमा ग्रामीण दूरसञ्चार विकास कोषमा दाखिला भएको जनाइएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया