६ पुस २०८१, शनिबार | December 21, 2024

ह्यारिस र ट्रम्पबिच कडा प्रतिस्पर्धाबिच आज चुनाव हुँदै,कसले मार्ला बाजी ?


November 5, 2024
1.2k
Shares

काठमाडौँ, कात्तिक २० गते । विश्व शक्तिराष्ट्र अमेरिकामा राष्ट्रपति चुन्नका लागि हुने निर्वाचन मङ्गलबार सम्पन्न हुँदै छ । निर्वाचनको प्रमुख दिन नोभेम्बर ५ अर्थात् मङ्गलबार राष्ट्रपति चयन गर्न अमेरिकी नागरिक तम्तयार देखिएका छन् । अमेरिकी इतिहासमा ४७ औँ राष्ट्रपति चयन गर्ने निर्वाचनमा १६ करोड ६४ लाख मतदाताले मतदानमा भाग लिँदै छन् । विभिन्न राज्यमा शृङ्खलाबद्ध रूपमा भइरहेको मतदानको पहिलो चरणसम्म आइपुग्दा झन्डै आठ करोड नागरिकले मतदान गरिसकेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प उम्मेदवार हुनुहुन्छ । ह्यारिस अश्वेत महिलाका रूपमा हालसम्मकै चर्चित राष्ट्रपतिको उम्मेदवार दरिनुभएको छ । अर्कोतर्फ व्यापारिक सोचसँगै साम, दाम र दण्डभेदको प्रयोग गर्न सक्ने खुबीका धनी ट्रम्प बलियो दाबेदारका रूपमा हुनुहुन्छ । उहाँहरूको निर्वाचनको प्रचारप्रसारको घम्साघम्सी विश्वमञ्चकै लागि रोचक रह्यो । अत्यधिक चर्चाका बिच अमेरिकास्थित न्युयोर्क टाइम्स, सिएनएनलगायतका ठुला मिडियाले राष्ट्रपतीय निर्वाचनको मतदानको रोमाञ्चक विश्लेषण जारी राखेका छन् । बेलायतको बिबिसी, चीनको सिजिटिएन, मध्यपूर्वको वैकल्पिक मिडियाका रूपमा अल जजिरालगायतका मिडियाको प्रमुख चासो अमेरिकी राष्ट्रपतिको निर्वाचन छ ।

ह्यारिसको पछि पछि ट्रम्प

राष्ट्रपतिका दुई प्रतिस्पर्धीको प्रारम्भिक मत विश्लेषणमा कहिले कछुवा त कहिले खरायोको दौडको झल्को देखिएको छ । सन् २०१६ मा महिला उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै राष्ट्रपति बन्नुभएका ट्रम्प यस पटक पनि महिलासँगै भिडन्तमा हुनुहुन्छ ।

वर्तमान राष्ट्रपति जो बाइडेन सम्भावित उम्मेदवार बन्न खोज्नुभएका बेला उब्जिएको विवादले ट्रम्पलाई खरायोकै दौडमा पु¥याएको छनक देखियो । ह्यारिस उम्मेदवार बन्नु भएपछिको अवस्थाले ट्रम्पका लागि फरक परिदृश्य बनायो ।

इलेक्टोरल मतमा आशङ्का

न्युयोर्क टाइम्सका प्रमुख राजनीतिक विश्लेषक नेट कोहनका अनुसार आममतदानमा ह्यारिसको पकड बलियो देखिए पनि राष्ट्रपति चयनको मानक मानिने इलेक्टोरल कलेजको गणनामा स्थिति कमजोर छ । यसले दुई उम्मेदवारको जितको सम्भावनालाई औसतमा सीमित पारेको छ । यसको अर्थ जुनसुकै बेला एकले अर्कोलाई जित्ने सम्भावना प्रबल छ ।

इलेक्टोरल कलेज राष्ट्रपति निर्वाचित गर्ने निर्वाचनमण्डल हो । जसले विभिन्न राज्यको मतभारलाई आधार मानेर अन्तिम मतपरिणाम दिन्छ । सबै राज्यको छुट्टाछुट्टै प्रतिस्पर्धा हुन्छ । कुन राज्यमा कसको कति मत आयो भन्नेले महत्व राख्छ । अर्थात् कुनै राज्यमा अत्यधिक बढी आएर अर्को राज्यमा कमजोर रह्यो भने जितको सम्भावना कमजोर बन्छ ।

जनताले दिएको मत सिधै उम्मेदवारकोमा गणना नभई इलेक्टोरल कलेजका प्रतिनिधि अर्थात् इलेक्टरलाई जान्छ । अमेरिकाको संवैधानिक व्यवस्था अनुसार इलेक्टरलाई राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने अधिकार छ । अमेरिकाको ५० वटा राज्यमा अत्यधिक मत ल्याउनु भनेको इलेक्टोरल मतमा अगाडि रहनु हो । इलेक्टोरल मतको कुल सङ्ख्या ५३८ मध्येबाट कम्तीमा २७० इलेक्टोरल मत ल्याउन सक्ने उम्मेदवारको जित सुनिश्चित हुन्छ । आमनिर्वाचनमा अत्यधिक लोकप्रिय मत आए पनि निर्वाचन मण्डलले कम मत दिएको खण्डमा जतिसुकै चर्चित उम्मेदवारले पनि हार बेहोर्नु पर्छ ।

त्यसैले सन् २०१६ मा ट्रम्पको आममत हिलारी क्लिन्टनको भन्दा झन्डै ३० लाख कम थियो तर इलेक्टोरल कलेजले हिलारीलाई अविश्वास गर्दै भिटोको प्रयोग गरेर ट्रम्पलाई जिताएको थियो ।

नोभेम्बर ५ को मुख्य निर्वाचनको गणनापछि बल्ल इलेक्टोरल कलेजको बैठक बस्छ । जसमा समग्र मतसँगै उम्मेदवारको विगत र आगतको पक्षधरतामा बहस र विश्लेषण हुन्छ । इलेक्टरको पक्षधरता जुन उम्मेदवारको पक्षमा बढी देखिन्छ उसको जितको सम्भावना उच्च हुन्छ ।

शान्तिप्रिय र सन्तुलित नेतृत्वको आशा

कोभिड–१९ महामारीपछिको आर्थिक मन्दीले विश्वलाई गिजोलिरहेका बेला अमेरिकाको राष्ट्रपतिको नीति भावी विश्वका लागि पनि महत्वपूर्ण मानिन्छ । शक्तिराष्ट्रका रूपमा विश्वमा वर्चस्व कायम राख्न पनि नीति अमेरिकामैत्री मात्र होइन, विश्वमैत्री देखिनु र कार्यान्यवन हुनुपर्ने विश्लेषण भइरहेका छन् । विश्वले लचिलो अर्थनीतिसँगै शान्तिप्रिय र नयाँ बिहानीको आशा अमेरिकामा गरेको छ ।

पूर्वपरराष्ट्र सचिव तथा पूर्वराजदूत डा। जयराज आचार्यले विश्वले शान्ति पक्षधर उम्मेदवारको आवश्यकता अमेरिकाबाट चाहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “स्थिर अमेरिका होस्, रसिया–युक्रेनको युद्ध बन्द होस्, इजरेल–हमास युद्ध बन्द होस् अनि चीनसँगको सङ्कट कम होस्, सुरुमा नयाँ नेतृत्वबाट यही चाहन्छ विश्व ।” आर्थिक मन्दीको सवालमा अमेरिका आफैँ आर्थिक अवस्थामा कमजोर छ । तसर्थ उसको सन्तुलित नीति नै अहिलेको विश्वको आवश्यकता भएको उहाँ बताउनुहुन्छ । गोरखापत्रबाट

प्रतिक्रिया