८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

केपी ओलीको प्रधानमन्त्रीकालमा साढे ३ खर्बको व्यापार घाटा


October 24, 2024
166
Shares

काठमाडौं,८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेपछिको समय अर्थात् गत साउनयता नेपालको कुल व्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख ४ हजार रुपैयाँ पुगेको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्ममा कुल ३ खर्ब ९० अर्ब ७५ लाख २३ हजारको आयात भएको छ भने निर्यात ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार रुपैयाँको मात्र भएको छ ।

– युद्धग्रस्त युक्रेनसँग व्यापार घाटा, रसियासँग भने नाफामा

– १० अर्बका साढे ६ लाख स्मार्टफोन आयात

भन्सार विभागको तथ्यांकनुसार गत वर्षको सोही अवधिमा आयातको हिस्सा ९० दशमलव ८९ प्रतिशत रहेकामा यसपटक आयातको हिस्सा बढेर ९१ दशमलव शून्य ६ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा निर्यातको हिस्सा ९ दशमलव ११ प्रतिशत रहेकामा १ दशमलव ८४ प्रतिशतले खुम्चेर ८ दशमलव ९४ प्रतिशतमा सीमित भएको छ ।

गत वर्षको तीन महिनाको तुलनामा यस वर्षको साउनदेखि असोजसम्ममा आयातमा ४ दशमलव १७ प्रतिशतले कमी आएको छ भने निर्यात ६ दशमलव ११ प्रतिशले घटेको छ ।

आयात र निर्यातमा आएको कमीसँगै मुलुकको तीन महिनाको व्यापारको स्थितिमा पनि ४ दशमलव ३५ प्रतिशतले कमी आएको छ । मुलुकले गत वर्षको पहिलो तीन महिनामा कुल ४ खर्ब ४८ अर्ब ६३ करोड ३८ लाख ६६ हजारको वैदेशिक व्यापार गरेकामा यस वर्ष ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको व्यापार गरेको छ ।

यसपटकको व्यापार घाटा भने गत आवको पहिलो तीन महिनाको तुलनामा घटेको छ । आव २०८०–८१ को पहिलो तीन महिनामा मुलुकले ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ घाटा बेहोरेका थियो । गत आवको असोज मसान्तसम्म ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँबराबरको वस्तु आयात हुँदा यस वर्ष ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँबराबरको मात्र वस्तु आयात भएको देखिएको छ । दसैं–तिहारको अवधिमा आयात बढ्नुपर्ने भए पनि गत १० देखि १२ असोजको अविरल वर्षाका कारण आएको बाढीपहिरोले लोकमार्गहरू अवरुद्ध हुँदा पनि आयात प्रभावित भएको बताइएको छ ।

बाढीपहिरोले भारत पनि प्रभावित भएपछि उताबाट आउने सामान रोकेका कारणले र अरनिको लोकमार्गमा रहेका दुई पुल बाढीले बगाएका कारण चीनबाट आउने सामान पनि भन्सार पार नभएका कारण यस वर्ष आयातमा कमी देखिएको बताइएको छ ।

विगतमा झैं अहिले पनि भारतसँग अधिक व्यापार घाटा रहेको छ । भारतसँग मात्र २ खर्ब १६ अर्ब ६ करोड ६८ लाखको व्यापार घाटा रहेको छ । यसैगरी, चीनसँग भने ७८ अर्ब ८ करोड ६६ लाख ८९ हजार रुपैयाँको व्यापार घाटा रहेको छ । युद्धग्रस्त युक्रेनसँग ६ अर्ब ५१ करोड २२ लाख ९६ हजार रुपैयाँको व्यापार घाटा रहेको छ ।

यसैगरी, अस्ट्रेलियासँग ५ अर्ब ५ करोड ९५ लाख २७ हजार व्यापार घाटा रहेको छ । अर्जेन्टिनासँग भने ४ अर्ब ९५ करोड, कतारसँग ४ अर्ब २७ करोड, इन्डोनेसियासँग ४ अर्ब १ करोड, मलेसियासँग ३ अर्ब ५७ करोड, थाइल्यान्डसँग २ अर्ब ७९ करोड व्यापार घाटा रहको छ । यसैगरी, बहराइनसँग २ अर्ब ३४ करोड, ओमानसँग २ अर्ब, यूएईसँग १ अर्ब ५९ करोड, भियतनामसँग १ अर्ब ५५ करोड र साउदी अरेबियासँग १ अर्ब ३८ करोड रुपैयाँले व्यापार घाटा रहेको छ ।

नेपालले तीन महिनामा १ सय ३२ देशसँग व्यापार गरेकामा २८ मुलुकसँग मात्र नाफा कमाएको छ । नाफा गरेका देशमध्ये अधिकांशमा आयात अत्यन्तै कम वा शून्य र निर्यात मात्रै गर्दा नेपाललाई फाइदा भएको तथ्यांकमा देखिएको छ । भन्सार विभागका अनुसार सबैभन्दा बढी व्यापार नाफा अफगानिस्तानसँग रहेको छ । सो मुलुकसँग २८ करोड ४४ लाख नाफा रहेको छ । सो मुलुकमा २ लाख ३० हजार रुपैयाँको मात्र निर्यात भएको छ ।

यसैगरी, डेनमार्कसँग ८ करोड ८२ लाख रुपैयाँ व्यापार नाफा रहेको छ । युद्धग्रस्त रसियासँग ६ करोड ६६ लाख रुपैयाँको व्यापार नाफा रहेको छ । मेरिकासँग भने ५ करोड ५८ लाख रुपैयाँको व्यापार नाफा भएको छ । व्यापार नाफा भएका मुलुकहरूमा अस्ट्रिया, बोस्निया एन्ड हर्जगोभिना, केम्यान आइल्यान्ड, चाड, कंगो, क्रोएसियालगायतका छन् । आयात निर्यातबाट मुलुकले यस अवधिमा १ खर्ब १२ अर्ब १२ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

तीन महिनामा सबैभन्दा बढी डिजेलको आयात गरिएको छ । डिजेल मात्रै २२ अर्ब १५ करोड ७० लाख रुपैयाँको आयात भएको छ । पेट्रोल भने १६ अर्ब ६२ करोड रुपैयाँको आयात भएको छ । डिजेल बढी परिमाणको आयात भए पनि पेट्रोलबाट सरकारलाई १० करोड ६९ लाख ६६ हजार रुपैयाँ राजस्व उठेको छ । डिजेलबाट भने ९ करोड ७९ लाख रुपैयाँ राजस्व उठेको छ । तीन महिनामा ६ लाख ५५ हजार ६ सयवटा स्मार्ट फोन भित्रिएका छन् । ९ अर्ब ८३ करोड २८ लाख ९८ हजार रुपैयाँका स्मार्टफोन आयात हुँदा १ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया