७ कार्तिक २०८१, बुधबार | October 23, 2024

ब्रिक्स सम्मेलनमा मोदीमाथि चासो


October 23, 2024
581
Shares

एजेन्सी, ७ कात्तिक । रुसको काजानमा भइरहेको ब्रिक्स सम्मेलनलाई विश्वले चासोका साथ लिएको छ । त्यसमाथि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चासोमा परेका छन् ।

ब्रिक्स सम्मेलन पूर्व भारत र चीनबीच सीमा समस्या समाधानमा महत्वपूर्ण सहमति भयो । सीमा क्षेत्रमा दुई देशका सेनाबीच चार वर्ष अघि हिंसात्मक भिडन्त भएपछि पहिलोपटक सहमति भयो । यसबारे भारत र चीनको विदेश मन्त्रालयका अधिकारीले जानकारी दिइसकेका छन् ।

मोदी काजान पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटेका छन् । पुटिनसँग उनको विशेष सम्बन्ध छ । यो यस वर्ष भएको दोस्रो भेट हो । उनले इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग पनि भेटेका छन् ।

मोदीले चीनका राष्ट्रपति सी चिनफिङसँग गर्ने भेटवार्तालाई चासोका साथ हेरिएको छ । दुई नेतापछि लामो समयपछि भेट हुनलागेको हो ।

ब्रिक्सले पछिल्लो समय दायरा फराकिलो पार्दै लगेको छ । भारत, चीन, रुस, ब्राजिल र दक्षिण अफ्रिका मात्र विगतमा सदस्य रहेकोमा यसपटकबाट यूएई, इरान, इथियोपिया, इजिप्ट पनि सदस्य बनेका छन् । अन्य देशलाई पनि सदस्यका लागि आमन्त्रण गरिएको छ ।

ब्रिक्समा मोदीको सहभागिताले माहोल नै फरक देखिएको छ । भारत पश्चिमा देशका अलावा रुससँग सन्तुलित सम्बन्ध बनाइरहेको छ । चीनसँग उसको बढ्दो टकराव केही कम भएको छ ।

युक्रेन युद्ध अन्तका लागि भारतले पहल गरेको देखिएको छ । मोदीले रुस र युक्रेनको पालैपालो भ्रमण गरे केही महिना अघि । उक्त भ्रमणपछि उनले अमेरिकाको पनि भ्रमण गरेका थिए । यी भेटहरु युद्ध अन्तको सुत्रबारे पनि केन्द्रित रहेको खुलेको छ । ब्रिक्समा मोदीको सहभागिताले युक्रेन युद्ध अन्त देखि विश्व व्यवस्थाको बदलावमा समेत भूमिका खेल्ने देखिएको छ ।

प्रतिक्रिया