८ आश्विन २०८१, मंगलबार | September 24, 2024

डेंगु संक्रमणले सकसपूर्ण बन्दै काठमाडौं


September 24, 2024
581
Shares

काठमाडौं,८ असोज । देशव्यापी रूपमा भारी बर्षा भएसँगै काठमाडौंमा डेंगु संक्रमितको संख्या ह्वातै बढेको छ । यही अवस्था रहने हो भने अबको दुई सातामा काठमाडौंमा डेंगु संक्रमणको भयावह अवस्था आउने चेतावनी चिकित्सकले दिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आकस्मिककक्षमा हरेक दिन सय जनाभन्दा बढी डेंगुका बिरामी आउने गरेको र ओपीडीमा पनि त्यतिकै बिरामीको भीड रहेको सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनले बताउनुभएको छ।

सरुवा रोगका लागि नेपाल सरकारको एकमात्र विशेष अस्पताल टेकुमा यतिबेला बिरामीको चाप अत्यधिक रहेको छ। यहाँ आउने बिरामी डेंगुको मात्र नभई स्क्रब टाइफस र रेविजका बिरामी पनि भएको उहाँले बताउनुभयो ।

विशेषगरी ओपीडीमा आउने बिरामी पनि डेंगुका नै धेरै रहेका छन् डा।पुन भन्नुहुन्छ – अस्पतालमा आउने भन्दा नआउनेको संख्याअझ धेरै रहेको पाइन्छ । डा।पुनले दुई सातादेखि बिरामीको संख्यामा वृद्धि भएको र एक सातादेखि ह्वातै बिरामीको चाप अस्पतालमा बढेको बताउनुभयो । उहाँ भन्नुहुन्छ– ‘यतिबेलाटेकु अस्पतालमा डेंगुका बिरामीको चाप बढेकै कारण बेडको अभाव भएकोछ । हाल अस्पतालमा भर्ना भएरै उपचार गराई रहेका बिरामीको संख्या ५५ जना रहेकोछ । १ सय ९५ जनाले उपचार लिएर गइसकेका छन् र आकस्मिक सेवा लिन आउनेको संख्या दैनिक सय जनाभन्दा बढी रहेकोछ।’

समुदायस्तरमा विशेष गरी काठमाडौंमा डेंगुका बिरामी बढ्नुका साथै धेरै मानिसलाई गम्भीर प्रकारको पीडा दिइरहेको छ । डा।पुन भन्नुहुन्छ– ‘मैले गत साउन महिनामा नै भनेको थिएँ काठमाडौंमा डेंगुको लार्भा नष्ट गर्न सकिएन भने यो वर्ष भदौको अन्तिमदेखि असोज महिनाभरि डेंगुको भयावह स्थिति आउँछ ।’ यसको प्रमुख कारण वर्षाद्का समय धेरै लार्भा उत्पादन हुने र २ वर्ष अघि काठमाडौंमा डेंगुको महामारी फैलिएको र ती व्यक्तिहरूमा विकास भएको रोगसँग लड्ने क्षमतामा २ वर्ष पछि कमीआउने भएकाले यसले विकराल रूप लिन थालेको छ।

दुई हप्तादेखि बढ्दै गएको डेंगु संक्रमण यतिबेलाउच्च घातक रोगकारूपमा देखा परेकोछ। यसले मृत्यु भन्दापनि पीडा बढी दिन्छ। अन्य रोगका संक्रमण भएका र दीर्घ रोगीहरूलाई डेंगु भयो भने मृत्युकै मुखमा पुर्‍याउने चिकित्सकहरु बताउछन्।

डेंगुका बिरामीका बारेमा सरकार गम्भीर भएर लाग्नुका साथै विशेष निगरानीको खाँचो छ। यही अवस्था रहने हो भने केही दिनमा काठमाडौंमा सकसपूर्ण अवस्था आउँदैछ। डेंगुको उच्च संक्रमण अझै ५ देखि ६ हप्ता रहन्छ। यदि, रक्षात्मक विधि नअप्नाउने हो भने हरेक घरमा डेंगुका बिरामी हुन्छन् डा।पुन भन्नुहुन्छ । उच्च ज्वरो आउने, पेट दुख्ने, पेट ढुस्सिने, दिशा पिसाबमा रगत देखिने, कोभिड मोडल छ भने नजिकैको स्वास्थ्य संस्था तथा चिकित्सकको सल्लाह तथा परामर्श लिएर स्वास्थ्य सुरक्षा अपनाउन डा।पुन सल्लाह दिनुहुन्छ ।

यो वर्ष जनवरीदेखि हालसम्म गम्भीर रूपमा डेंगु प्रमाणित हुनेको संख्या ११ हजार ५ सय ४५ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ । नेपालको ७७ जिल्लामा हुम्लाबाहेक ७६ जिल्लामा डेंगु फैलिएको छ काठमाडौं र वागमती प्रदेशमा बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँले यसको नियन्त्रणका लागि हरेक व्यक्तिले हप्ताको एकपटक सरसफाइमा ध्यानदिनुपर्ने बताउनुभयो ।

विगत ५ वर्षको तुलनामा अब देखिने डेंगु बढी पीडादायी र गम्भीर बन्दै गएकोछ । यस विषयमा मन्त्रालयले तीनै तहका सरकारसँग समन्वय गरी नियन्त्रण तथा उपचारलाई सहज बनाउन पहल गरेको छ । यतिले मात्र पुग्दैन डा।बुढाथोकीले भन्नुभयो।

हालसम्म काठमाडौंका १ सय ९५ जना डेंगुका बिरामीले उपचार लिएका छन भने स्क्रब टाइफसका १३ जना र सर्पले टोकेका ७१ जना बिरामी भर्ना भएको अस्पतालको तथ्यांकमा उल्लेख गरिएको छ । १ सय शैयाको स्वीकृत प्राप्त टेकु अस्पताल हाल ८५ शैयामा सञ्चालन भइरहेको छ । जतिबेला सरुवा रोगको महामारी हुन्छ त्यतिबेला टेकु अस्पतालमा बिरामीको चाप बढ्ने गरेको छ।

डेंगुका लक्षणहरू
डेंगु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डीतथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने र रक्त श्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्षण देखा पर्छन् । वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्त श्राव हुने जस्ता लक्षण देखापर्ने हुन्छ । समाचारपत्रबाट

प्रतिक्रिया