३ आश्विन २०८१, बिहिबार | September 20, 2024

‘दलित मैत्री कानून नबन्दा विभेद,असमानता र उत्पीडन हट्न सकेन’


September 19, 2024
2k
Shares

काठमाडौ,३ असोज । संविधान बनेको ९ बर्ष वितिसक्दा पनि दलितमैत्री कानूनहरु नबनेको वक्ताहरुले निष्कर्ष निकालेका छन् । काठमाडौमा बुधवार संयुक्त राजनीतिक दलित संघर्ष समितिले प्रज्ञाभवनमा आयोजना गरेको ‘नेपालको संविधान,दलित आन्दोलन, सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने अधिकांस वक्ताहरुले यस्तो टिप्पणी गरेका हुन ।

दलित संघका नेता मन्जित ताम्राकारले दलित मैत्री कानूनहरु बन्न नसक्दा समाजमा दलितमाथिको विभेद,असमानता र उत्पीडन नहटेको बताए । अन्तरक्रियामा सहभागी वक्ताहरुले नेपालमा पञ्चायत विरुद्धको आन्दोलन, ०५२ सालको जनयुद्ध, ०६२/६३ को जनआन्दोलन,लगायतका थुपै परिवर्तनका आन्दोलनहरुमा दलित समूदायहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनीहरुले अधिकारको सवाल र राज्यका हरेक निकायमा सहभागिताको सवालमा दलित समूदायमाथि अहिले पनि अन्याय भईरहेको बताएका छन ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले समाजमा दलितमाथि छुवाछुतलाई कलंकको संज्ञा दिदैं यसको अन्त्य गर्न कानुनी तथा सबै क्षेत्रवाट पहल गर्नु पर्ने बताए ।
यस्तै नेकपा माओवादी केन्द्रका उप–महासचिव शक्तिबहादुर बस्नेतले दलितहरुका समस्या समाधान गर्न सबैसंग सहकार्य गर्नुपर्नेमा जोड दिए ।

नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाश शरण महतले नेपालीको बानी नै कुरा ज्यादा र काम कम गर्ने भएको बताए । उनले दलितमाथिको विभेद तथा छुवाछुत हटाउन राज्यले विशेष ध्यान दिनु पर्ने धारणा राखे ।

नेपाल कम्युनिष्ट पार्टीका पिबिएम तथा पूर्व राज्यमन्त्री नविन कुमार सी,नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रभु हजारा पासवान,संविधानसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विनोद पहाडी, सविधानसभा सदस्य कमला विश्वकर्मा, सविधानसभा सदस्य राम अवतार पासवान,पूर्व राजदुत पदम सुन्दास,दलित मुक्ति मोर्चाका संयोजक दलजीत श्रीपाली लगायतका व्यक्तिहरुको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिका संयोजक लोक वहादुर विश्वकर्माको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको स्वागत मन्तव्य रामलाल सीले दिएका थिए भने संचालन नेपाल दलित मुक्ति संगठनका महासचिव घनश्याम रिजालले गरेका थिए ।

 

प्रतिक्रिया