तीर्थयात्रा नेपालको मौलिक पर्यटकीय चिनारी
काठमाडौं । नेपाल पवित्र धार्मिक तीर्थस्थलको सुन्दर देश हो । यहाँको समृद्ध संस्कृतिको पृथक परिचय छ । विश्वभरका लाखौं धार्मिक पर्यटक वर्षेनी नेपाल आउने गर्छन् । यसकारण नेपाललाई तीर्थस्थलका रुपमा पनि चिनिन्छ । हिन्दू र बौद्ध तीर्थस्थल दुवै रहेकाले नेपाल विश्वको आधा जनसंख्याको तीर्थस्थल हुन पुगेको हो ।
यहाँका मठमन्दिर, गुफा, स्तुपालगायतका तीर्थक्षेत्रमा वर्षेनी आउने पर्यटकले पनि नेपालको गरिमा बढाएको छ । नेपालमा विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वको छुट्टै विषेशता छ । यसले पनि पर्यटकहरुलाई आकर्षित गर्दछ । नेपालको समृद्ध संस्कृतिका कारण आन्तरिक तथा बाह्य पर्यटकहरु बढाउन टेवा पुगेको छ । यसले देशको अर्थतन्त्रमा टेवा पु¥याइरहेको छ ।
धार्मिक पर्यटन तथा तीर्थयात्रा संसारकै सबैभन्दा पुरानो पर्यटन मानिएको छ । नेपाल धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको राष्ट्र हो । हिन्दू धर्मालम्बीको पवित्र तीर्थस्थल पशुपतिनाथ, जनकपुरधाम, बराह क्षेत्र, खप्तड क्षेत्र नेपालमा छ । बौद्ध धर्मालम्बीको पवित्र तीर्थस्थल लुम्बिनी, स्वयम्भु, बौद्ध पनि नेपालमा छन् । हिन्दू र बौद्ध दुवैले तीर्थस्थलको रुपमा लिने मुक्तिनाथ, हलेसी जस्ता क्षेत्र पनि नेपालमा छ । यसले पनि नेपाल हिन्दू र बौद्ध धर्मालम्बीहरुको साझा तीर्थस्थल हो ।
धर्म,संस्कृति,परम्परा,खानपान,चाडवाड,संगीतलगायत कुराहरु मानिसहरुको चासोमा पर्छन् भने ती विषयसँग सबन्धित धार्मिक,सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक स्थल र जीवन्त संस्कृति एवं परम्पराहरु पर्यटकीय रुपमा कहिल्यै पुराना हुँदैनन् र दस्तावेजकै रुपमा पनि रहन सक्छन् । पर्यटनको महत्वका कारण अहिले पुरातात्विक,सांस्कृतिक र ऐतिहासिक स्थलहरुको खोजी र संरक्षणका काम भइरहेका छन् । त्यो सकरात्मक पक्ष हो ।
संसारका ६० प्रतिशत भन्दा बढी मानिसहरु कुनै न कुनै धर्ममा आस्था राख्छन् र उनीहरु नै धार्मिक पर्यटनको मुख्य आधार पनि हुन् । नेपालमा प्रशस्त मात्रामा धार्मिक तथा आध्यात्मिक पर्यटनका लागि लामो इतिहास बोकेका धरोहर छन् ।
नेपालमा धार्मिक तथा आध्यात्मिक पर्यटन विशेषत तीन तरिकाले विकसित हुँदै गएका छन् । पहिलो, तीर्थयात्राको दृष्टिले जस्तै पशुपतिनाथ, लुम्बिनी,मुक्तिनाथ, स्वर्गद्धारी,मनकामना,पाथिभरा,स्वर्गद्धारी आदी । दोस्रो, ध्यान योगा गर्ने दृष्टिले गुम्बा,बिहार भ्रमण । तेस्रो, ग्रामिण भेगमा रहेका होम स्टे । यसरी ३ तरिकाबाट धार्मिक पर्यटनको बिकास हुँदैछ र यसबाट राज्यको आम्दानी बढाउन सक्ने प्रचुर सम्भावना देखिन्छ ।
पुरातात्विक महत्वका कैयौं ऐतिहासिक धरोहर लोप पनि भइसकेका छन् भने केही संरक्षणको पर्खाइमा छन् । २०७२ सालको बैशाखमा गएको भुकम्पले क्षति पु¥याएका कतिपय पुरातात्विक महत्वका संरचना अझै पुनःनिर्माण हुन सकेका छैनन् भने कैंयो निर्माणधीन अवस्थामा छन् । कति त जीर्ण अवस्थामा गुज्रिएका छन् । त्यसमा अझै सरकारको आँखा परेको छैन् ।
पशुपतिनाथ मन्दिर
पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो । संसारमा रहेका २७५ शिवको पवित्र स्थान मध्ये यो मन्दिर एक हो । पशुपतिनाथमा मुख्य रूपमा शिवजीको पूजा हुने भएकाले शिवरात्रि पर्व विशेष महत्त्वका साथ मनाइन्छ । काठमाडौँ महानगरपालिका–८ मा बागमती नदीको किनारमा अवस्थित रहेको यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ । सांस्कृतिक सम्पदा अन्तर्गत पर्ने पशुपतिनाथको मन्दिर युनेस्को विश्व सम्पदा क्षेत्रमा पर्दछ । काठमाडौँ उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला सङ्ग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, सौर, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्रको रूपमा रहेको छ । जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।
पाथिभरा मन्दिर
पाथीभरा मन्दिर ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा पर्वतको शिखर नजिक अवस्थित एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा पवर्तमा उत्पन्न भएकी देवी भन्ने अर्थमा त्यहाँका देवलाइ पाथीभरा देवी भनिएको हो । परापुर्वाकालमा गाइ चराउँने गोठालाहरुले स्थापना गरेको पाथीभरा देवी थान शक्ती उपासकहरुका लागि बिशेष ठाउँ हो । यो तिर्थस्थल १२ हजार फिट उचाइमा रहेको छ । देवी पाथीभरा फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीको दर्शन गर्न आउने क्रम बढ्दो छ ।
मुक्तिनाथ मन्दिर
मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक महत्त्वपूर्ण तिर्थस्थल हो । यो तिर्थस्थल समुद्र सतहदेखि ३ हजार ७ सय १० मीटरको उचाईमा नेपालको हिमालपारीको जिल्ला मुस्ताङमा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा भन्दछन् । मुक्तिनाथ वैष्णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो । यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ । शालीग्रामलाई हिन्दू धर्ममा पुजनिय मानिन्छ । यो मुख्य रूपमा कालिगण्डकी नदिमा पाइन्छ । जहाँ मुक्तिनाथ अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ । हिन्दु धार्मिक मान्यताको आधारमा मुक्तिनाथ मानिसहरूलाई मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ । यो हिन्दु धर्मको दुर्गम तिर्थस्थल मध्ये एक हो ।
स्वर्गद्वारी मन्दिर
स्वर्गद्वारी मन्दिर प्युठान जिल्लाको सदरमुकाम खलङ्गाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । नेपालका प्राचीन मन्दिरहरूमध्ये यो मन्दिरलाई एक मानिन्छ । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ । यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ । वैशाख पूर्णिमा, बुद्धजयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ ।
हलेसी महादेव
हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू,किराँत, बौद्ध एवं जैन धर्मालम्बीको पवित्र तीर्थस्थल हो । यो स्थान कोशी प्रदेशको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल देखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिकामा पर्छ । हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी अथवा मरातिक गुफा र किराँत धर्मावलम्बीलेले आदिम भूमि मान्दै आएका छन् । हिन्दू धर्म, बुद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ । हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ ।
मनकामना मन्दिर
मनकामना मन्दिर गोरखाको एक महत्त्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ । मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो। गोर्खाका राजा राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ । दशैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ । यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ । मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । त्यहाँको पुजारीहरू भने मगर जातीको पिथकोते थरको हुने पाइन्छ । यो मन्दिर गोर्खाको सदरमुकामको पोखरीथोक बजारबाट १२ किलोमिटर दक्षिण, तनहुँको आबुखैरेनी देखि ५ किलोमिटर पूर्व र चितवनको मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित छ ।
वराहक्षेत्र
वराहक्षेत्र सुनसरीको मात्र नभएर नेपालकै सर्वाधिक महत्त्वपूर्ण र प्रख्यात तीर्थस्थल हो । कोका र कोशी नदी संगममा पर्ने यो स्थान बराहक्षेत्र नगरपालिका वडा नं.–१ मा अवस्थित छ । ब्रह्मपुराण वराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको तथा महिमा गाइएको यो स्थान नेपालको सबैभन्दा पुरानो मध्येको एक देवस्थल हो। बराहक्षेत्रमा वराह अवतार विष्णुको पूजाआज हुने गर्दछ । यो स्थान धरानदेखि करिब २५ कि.मी. उत्तर पश्चिममा अवस्थित छ। वराहक्षेत्रको मूल मन्दिरको वर्तमान स्वरूप वि.सं. १९९१ सालको हो। वराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यवराह, कोकावराह र नागेश्वर लगायतका ९ वटा मन्दिर र थुप्रै धर्मशाला छन्। त्यहाँ कार्तिक पूर्णिमा र मकर संक्रान्तिमा ठुला–ठुला मेला लाग्छन् भने यसबाहेक ऋषि पूर्णिमा, ब्यास पूर्णिमा, फागुपूर्णिमा लगायत विभिन्न एकादशी तथा अन्य व्रत र उत्सवका दिनहरूमा पनि तीर्थयात्रीहरू प्रसस्त मात्रामा बराहक्षेत्र पूग्ने गर्दछन्।
बडीमालिका
बडीमालिका नेपालका प्रमुख मन्दिरहरूमध्ये एक मन्दिर हो । समुन्द्रसतहदेखि करीब १५,००० फिटको उचाइमा अवस्थित बडीमालिकाको मन्दिरमा भाद्र शुक्ल पक्षको दिनमा ठूलो मेला लाग्दछ । यो स्थान सुदुरपश्चिम प्रदेशको कैलाशमाण्डौ त्रिवेणी ६ पन्धारा बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रत्येक वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ । बडीमालिकामा २ वटा पुजारीले पूजा गर्छन् । यीमध्ये १ जना कालिकोटबाट आउँछन् भने अर्को १ जना बाजुराका पुजारी छन् ।
वैजनाथ धाम
अछाम जिल्लाको बुढीगङ्गा र साफे खोलाको किनारमा पर्दछ । शिवरात्रीको समयमा यहाँ ठूलो मेला लाग्छ । नेपालका विभिन्न स्थानदेखि भार तसम्मबाट श्रद्धालुको ठूलो भीड लाग्दछ ।
देवघाट धाम
तनहुँको देवघाट गाउँपालिकाअन्तर्गत पर्ने हिन्दूहरूको पवित्र तीर्थस्थल देवघाटमा सप्तगण्डकी नदीको सङ्गम भएको हुँदा यो ठाउँमा स्नान गर्दा सम्पूर्ण पापहरूबाट मुक्ति पाइने, यहाँ प्राणत्याग गर्दा कैवल्य मुक्ति पाइने कुरा नेपाल महात्म्यमा उल्लेख छ । समस्त हिन्दू धर्मावलम्वी हरूको पवित्रस्थल देवघाटधाम हिन्दूहरूको महत्त्वपूर्ण तीर्थस्थलका प्रयागहरु मध्ये आदिप्रयाग देवघाट धाम भएको विद्वानहरूले बताएका छन् । यहाँको प्राचीन भग्नावशेष मणिमुकुन्दसेनद्वारा निर्मित मन्दिरहरू र चक्रवर्त्तितशीला हो्रसिद्धबाबा गलेश्वर ब्रह्मचारिद्वरा स्थापित आश्रम र वेदवेदांग विद्यालय हो ्रअन्य आश्रमहरूमा महेश आश्रम, हरिहर आश्रम आदि रहेका छन् । चितवन र तनहुँको संगमस्थल देवघाटमा विभिन्न चाड पर्वहरूमा ठूलो मेला लग्दछ । माघे सक्रातिको दिन त्रिवेणी नुहाउनेको घुइँचो लाग्छ ।
त्यसैगरी, बैतडीको प्रमुख तीर्थस्थल त्रिपुरासुन्दरी,अछामको वैजनाथ धाम, कर्णाली प्रदेशको जुम्लामा रहेको चन्दननाथको मन्दिर,गुल्मी,पाल्पा र स्याङ्जा ३ जिल्लाको रुरु गंगा र कालीगण्डकी नदीको तटमा अवस्थित रुरुक्षेत्र, अर्घाखाँची जिल्लामा रहेको सुपादेउराली मन्दिर, नवलपरासीको चुरे पहाडको काखमा रहेको दाउन्ने गढी, चितवन जिल्लाको दक्षिण पूर्वी भागमा स्वर्णभद्रा,तमसा र नारायणी नदीको त्रिवेणीमा त्रिवेणीधाम,वाल्मिकी आश्रम र गजेन्द्रमोक्ष धाम, चितवन राष्ट्रिय निकुञ्जभित्र नदीको किनारा कसरामा अवस्थित विक्रम बाबाको थान धार्मिक पर्यटकीय तीर्थस्थल हुन् ।
यस्तै, बाग्लुङ जिल्लामा रहेको बाग्लुङ कालिका मन्दिर,नुवाकोटको देवीघाट, काठमाडौंको बीच भागमा रहेको भद्रकाली मन्दिर, ललितपुर कुम्भेश्वरस्थित बंगलामुखी मन्दिर, काठमाडौंको पुर्वोत्तर भागमा अवस्थित बुद्धको ठुलो स्तुप बौद्धनाथ,काठमाडौंकै नक्साल भगवती, स्वयम्भु महाचैत्य,काठमाडौंकै फर्पिङ क्षेत्रको दक्षिणकाली देवी,काठमाडौंको उत्तरमा रहेको बुढानीलकण्ठ मन्दिर, पशुपति मन्दिरको नजिक रहेको गुहेश्वरी मन्दिर,भक्तपुरको सूर्यविनायक गणेश मन्दिर, भक्तपुरकै पुर्वीभागमा रहेको चाँगुनारायण मन्दिर, सुनसरीको बुढासुब्बा, धनुषा जिल्लामा रहेको राम मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती, इलामको गजुरमुखी देवी, इलामकै माईस्थान, इलामकै माइवेनी,संखुवासभाको सिद्धकाली मन्दिर पनि देशमै पुराना र प्रख्यात धार्मिक पर्यटकीय तीर्थस्थल हुन् ।