३१ भाद्र २०८१, सोमबार | September 17, 2024

कृष्णजन्माष्टमी पुण्यदिनः शास्त्रअनुसार विशिष्ट योग


August 26, 2024
2.8k
Shares

श्याम खनालः भगवान् श्रीकृष्ण जन्मिनुभएको भाद्रकृष्णपक्षको अष्टमी तिथि सहित रोहिणी नक्षत्र पनि परेको आज शुभ दिन । तन, मन र वचन शुद्ध गराउँदै भगवान्का लक्षणहरू हामीमा ल्याई भगवान्का अंश हामी भगवान्सँगै मिल्न पाउँ भन्ने अभिलाषाका साथ गरिने कृष्णजन्माष्टमीको व्रत परेको शुभ दिन । यस दिनको व्रत नगर्दा के हुन्छ भन्ने कुरामा विभिन्न स्कन्दादि शास्त्रले विभिन्न वचनहरू यसरी दिएका छन् –

ये न कुर्वन्ति जानन्तः कृष्णजन्माष्टमीव्रतम् ।
ते भवन्ति नराः प्राज्ञ व्यालाः व्याघ्राश्च कानने ।।
जन्माष्टमीदिने प्राप्ते येन भुक्तं द्विजोत्तमम् ।
त्रैलोक्यसम्भवं पापं तेन भुक्तं न संशयः ।।

कृष्णजन्माष्टमी व्रत गर्नुपर्दछ र नगर्दा राम्रो नहुने कुरा त शास्त्रहरूले भने । तर कृष्णजन्माष्टमीको व्रत चाहिँ कहिले गर्नुपर्दछ भन्ने कुरामा धेरै व्यक्तिहरू अन्योल भएको देखिन्छ । अन्योल हुनुको कारण भनेको शास्त्रमा लेखिएका कुराहरूलाई राम्ररी नपढ्नु र नजान्नु नै हो । यहाँ शास्त्रादिले जन्माष्टमी व्रत कहिले गर्ने भन्ने कुरालाई यसरी बताएका छन् –

अर्द्धरात्रे तु रोहिण्यां यदा कृष्णाष्टमी भवेत् ।
तस्यामभ्यर्चनं शौरेर्हन्ति पापं त्रिजन्मजम् ।।
मासि भाद्रपदेऽष्टम्यां कृष्णपक्षेऽर्द्धरात्रके ।
शशाङ्के वृषराशिस्थे ऋक्षे रोहिणीसंज्ञके ।।
योगेऽस्मिन्वसुदेवाद्धि देवकी मामजीजनत् ।
तस्मान्मां पुजयेत् तत्र शुचिः सम्यगुपोषितः ।।
त्यस्तै पूजाकाल कतिखेर होला त भन्ने विषयमा विष्णुधर्मोत्तरपुराणमा यसरी व्याख्या गरिएको छ –

रोहिणीसहिता कृष्णा मासि भाद्रपदेऽष्टमी ।
सप्तम्यामर्धरात्राधःकलयापि यदा भवेत् ।।
तत्र जातो जगन्नाथः कौस्तुभी हरिरीश्वरः ।

त्यस्तै वसिष्ठले यसरी बताएका छन् –

अष्टमी रोहिणीयुक्ता निश्यर्द्धे दृश्यते यदि ।
मुख्यकालः स विज्ञेयस्तत्र जातो हरिः स्वयम् ।।

त्यस्तै पद्मपुराणमा पनि यसरी भनिएको छ –

सप्तमीसंयुताष्टाम्यां निशीथे रोहिणी यदि ।
भविता साऽष्टमी पुण्या यावच्चन्द्रदिवाकरौ ।।
यसरी शास्त्रका कुरा विचार गर्दा तिथि या नक्षत्र दुबै मान्नेहरूले यस वर्ष आजै १० गते सोमवार नै मनाउँदा उपयुक्त देखिएको छ । रोहिणी नक्षत्रले युक्त अष्टमी रातीको मध्यभागमा नै पर्नु अत्यन्तै शुभ र विशिष्ट योगयुक्त भएकाले सप्रमाण यस्तो भनिएको हो । रोहिणी नक्षत्रका आधारमा मनाउनेहरूका लागि पनि आजकै दिन व्रतादि ठिक हुने कुरा हाम्रो अध्ययनले गरेको छ । अरु कुनै प्रमाणले अन्यत्रै मनाउनुहुन्छ भने पनि कुनै पनि दिन भगवान्को भक्ति गर्न केही भएन ।

अन्त्यमा शास्त्रले कृष्णले भनेका कुरा गर्नु रामले गरेका कुरा गर्नु भन्दछ । यही कुराको अनुसरण गर्दै हरे राम हरे राम राम राम हरे हरे । हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे महामन्त्रका साथमा महाभारत गीता भागवद् आदि ग्रन्थहरूको पनि अध्ययन गरौँ । भक्ति जगाउन पुजा आदि कर्मकाण्ड गर्दै शास्त्रको अध्ययनका माध्यमले ज्ञानको पनि बृद्धि गरौँ । जय श्रीकृष्ण ।

प्रतिक्रिया