३१ भाद्र २०८१, सोमबार | September 17, 2024

टिकटक र बीआरआईमा प्रचण्डलाई ओलीले यसरी फसाए


August 23, 2024
2k
Shares

काठमाडौं, ७ भाद्र । टिकटक चिनियाँ कम्पनीबाट सञ्चालित सामाजिक सञ्जाल हो जसको विश्वभर प्रभाव छ । तर, अमेरिका, भारत, यूरोपेली देशलगायतले यसलाई प्रतिबन्ध लगाएका छन् । नेपालले पनि प्रतिबन्ध लगाएकोमा १० महिनामै फुकुवा गरेको छ । यो विषयलाई देशको हित या अहितसँग जोडेर भन्दा नेताहरुले आफ्नो राजनीतिक अस्त्रका रुपमा प्रयोग गरेका छन् ।

टिकटक प्रतिबन्ध लगाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जोडबल गरेका थिए । एमाले नेताहरु टिकटक प्रकरणले समस्यामा परे । त्यसपछि ओलीले प्रचण्डलाई दबाब दिए प्रतिबन्ध लगाउन । काँग्रेस सभापति शेरबहादुर देउवा त झन् टिकटक प्रतिबन्ध चाहन्थे । प्रचण्ड प्रधानमन्त्री हुँदा टिकटकमाथि प्रतिबन्ध लाग्यो ।
चिनियाँ पक्षको दबाबका बाबजुद गत वर्षको कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लागेको थियो । प्रचण्डप्रति चीन असन्तुष्ट बन्यो ।

प्रचण्डले बीआरआई कार्यान्वयनको सम्झौता गरेर चीनको विश्वास जित्न खोजे । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सम्झौता भएको बीआरआई कार्यान्वयनमा प्रचण्ड उत्साही भए । माओवादी र एमाले मिलेर सरकार बनाएकाले प्रचण्ड ओलीको साथ मिल्नेमा ढुक्क थिए । ओलीले पनि बीआरआई सम्झौतामा अगाडि बढ्न प्रचण्डलाई दबाब दिए । तर, यसलाई उनले अस्त्रका रुपमा प्रयोग गरेका थिए ।

बीआरआई कार्यान्वयनको सम्झौता हुनेबारे प्रचण्डले सदनमा नै बोले । तर, यही बोलीले उनलाई धक्का पर्यो । ओलीले उल्टो खेल खेले । प्रचण्डमाथि चीनका प्रतिद्वन्द्वी देशहरुले अविश्वास गरे । यसले सत्ता राजनीतिमा हलचल ल्यायो ।

एमाले र काँग्रेस मिल्ने अवस्था बनायो । प्रचण्डले धक्का खाए । सरकार ढल्यो । ओली प्रधानमन्त्री बने र टिकटक प्रतिबन्ध खुलाउने निर्णय गरे । अब उनले बीआरआईबारे के गर्लान् प्रतिक्षाको विषय छ ।

प्रतिक्रिया