६ मंसिर २०८१, बिहिबार | November 21, 2024

बंगलादेश घटना र प्रचण्डका दुई बोली


August 15, 2024
9k
Shares

श्याम खनाल: एउटै देशका रूपमा रहेका भारत र पाकिस्तान बृटिश उपनिवेशबाट स्वतन्त्र भइसकेपछि सँगै रहन सकेनन् । फलस्वरूप सन् १९४७ मा विभाजित हुन पुगे । धर्मका आधारमा विभाजित यी दुई राष्ट्रमध्ये भारतमा हिन्दूहरूको वासस्थान हुने र पाकिस्तानमा मुसलमानहरूको वासस्थान हुने सहमति भएता पनि तात्कालिक भारतीय सरकारले भारतमा मुसलमान पनि बस्न सक्नेछन् भनी निर्णय दियो । यही घटनाबीच महात्मा गान्धीले ज्यान गुमाउनुपर्यो । भारत र पाकिस्तान दुई चिरा हुँदा बंगाल क्षेत्र पनि दुई भागमा विभाजित हुन पुगेको थियो । मुसलमान बहुल क्षेत्र पाकिस्तानतिरको भएको थियो भने हिन्दू बहुल क्षेत्र भारततिरको हुन आएको थियो । पुनः पाकिस्तान पनि दुई चिरा हुन पुग्यो । तात्कालिक भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले पूर्व र पश्चिम गरी दुई भागमा रहेको पाकिस्तानलाई पनि दुई टुक्रा बनाइदिई बंगलादेश स्वतन्त्र बनाइदिएकी हुन् भन्ने कुरा बेलाबेलामा सुन्न पाइन्छ । राजनैतिक कुरा जे जस्ता भए तापनि धर्ममा एकरूपता भएको तर जाति र भाषामा भिन्न रहेको पूर्वी पाकिस्तान पश्चिमी पाकिस्तानको हेपाई सहन नसकी सन् १९७१ मा स्वतन्त्र हुन पुगेको हो ।

आतंककारीको सामूहिक पारिवारिक हत्यामा मृत्युवरण गर्न पुगेका वंगबन्धु शेख मुजिबुर रहमान जो निवर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता पनि हुन् उनी नै वंगलादेशका राष्ट्रजनक र प्रथम राष्ट्रपति हुन् । यस देशको सुरुका अवस्था साह्रै अप्ठ्यारो भए तापनि विस्तारै विस्तारै विकासको कार्यमा वामे सर्दै आइरहेको थियो । यसको फलस्वरुप बंगलादेश एसिया महादेश भित्रका देशहरू मध्येमा आर्थिक रूपले धेरै नै अगाडि बढिरहेको थियो । केही समय पहिलेसम्म पूर्व प्रधानमन्त्रीहरू वेगम खालिदा जिया र शेख हसिनाका बीचको राजनैतिक खिचातानीमा समय वितिरहेको वंगलादेशका लागि शेख हसिनाको पार्टीले स्थिर सरकार बनाइसकेपछि भने स्वर्णयुगकै अवस्था आएको थियो । करीब १४ वर्ष सरकारमा रहँदा शेख हसिनाले देशको आर्थिक उन्नतिमा धेरै राम्रो भूमिका खेलेकि थिइन् । हुन सक्छ उनले आफ्नी विपक्षी पूर्व प्रधानमन्त्री वेगम खालिदा जियालाई केही भ्रष्टाचारका मुद्दामा जेल पनि हाली होलिन् तर देशको उन्नतिका लागि भने दिलैदेखि लागेकी थिइन् । मानिस भइसकेपछि गल्ती त सबैका हुन्छन् । राज्य चलाउँदा केही निरङ्कुश पनि पक्कै बन्न परेको थियो होला तर पनि कंगाल हुँदै गइरहेको देशलाई बंगाल बनाएको कुरामा कसैले नकार्नै सक्दैन ।

भारतको पश्चिम बंगाल प्रदेश र बंगलादेश धर्मका आधारमा भिन्नभिन्नै देखिए तापनि भाषा र संस्कृतिका आधारमा अत्यन्तै नजिक देखिन्छन् । दुबैतिर बस्ने सबैका पूर्खा हिन्दू नै थिए, तर देश बाहिरबाट आएकाहरूले केहीलाई धर्म परिवर्तन गराइदिइ मुसलमान बनाइदिए । तर ती मुसलमान भएकाहरूले निराकार ईश्वर अल्लाहलाई नै माने तापनि उनीहरूले आफ्नो भाषा, लवाइ(खवाइ र संस्कृति विर्सन सकेनन् । यसैले पनि पाकिस्तान र वंगलादेशका वंगाली मुसलमानहरूको धर्म एउटै भए तापनि संस्कार र संस्कृति भिन्न छ । लज्जा उपन्यासकी लेखिका तसलिमा नसरिन एवम् शेख हसिनालाई नै हेर्दा पनि उनीहरूको लवाइ खवाइ र शालीन पनले यो कुराको प्रमाणित गरेकै छ । लज्जा उपन्यासकी लेखिकाले हिन्दूहरू माथि भएको ज्यादतीको बारेमा मुख फोरेकै हुन् भने निवर्तमान प्रधानमन्त्री शेख हसिनाले पनि वंगलादेशमा भएका हिन्दूहरूको संरक्षण गरेकै थिइन् । उनलाई स्पष्ट थाहा थियो ( भोलिका दिनमा पनि हिन्दूहरू देशका लागि बाधक कुनै पनि हालतमा हुने छैनन् ।

यसरी आर्थिक प्रगति गरिरहेको बंगलादेशले भरखर मात्र आन्दोलनको सामना गर्दा सत्ता परिवर्तनलाई स्वीकार्नु परेको छ । सामान्य विद्यार्थी आन्दोलनका रूपमा रहेको आन्दोलनले प्रजातान्त्रिक ढंगले आएको सरकारलाई उछिट्ट्याएको छ । सेनाले पनि सरकारलाई साथ नदिँदा निवर्तमान प्रधानमन्त्री भारतमा निर्वासित हुनु परेको छ । बंगलादेशका राष्ट्रजनककै मूर्ति फोरिएको छ । राष्ट्रिय सम्पत्तिको हिनामिना गरिएको छ । भ्रष्टाचारमा आरोपित अन्तरिम सरकार प्रमुख र पूर्वप्रधानमन्त्री लगायतको मुद्दामा माफी दिइएको छ । यस्तो अवस्थामा बंगलादेशको इतिहासलाई राम्ररी जानेकाहरूलाई यसको कारण बुझ्न खासै अप्ठ्यारो पर्दैन । आन्दोलन गर्नेहरूले जनतालाई बडा मीठो ललीपप खुवाएर शेख हसिनालाई लखेटेका छन् । त्यहाँको सेनाले समेत राष्ट्रपिताको मूर्ति भत्काएको छ । यस्तो देख्दादेख्दै पनि हाम्रा देशका केहीले पनि लौ लौ बंगलादेशको जनलहर भनेर लेखेको लेखै छन् । बंगलादेशलाई छुट्टै देश बनाउनु नै हुँदैन भनेर तात्कालिक अवस्थामा पाकिस्तान त लागेकै थियो । यसको फलस्वरुप बंगालका राष्ट्रजनकलाई परिवारसहित हत्या गरिएको थियो । यस देशलाई असफल बनाएर पुनः आफ्नो बनाउने खेलमा पाकिस्तान लागिरहेको थियो । तर यस कुराले त्यतिखेर सफलताको मार्ग पुरा गर्न सकेन । पाकिस्तानले सधै तुष राखिरह्यो । फलस्वरूप अहिले मात्र बंगलादेशका सैनिक आदि क्षेत्रमा बंगाली मुसलमान भन्दा पनि पाकिस्तानी मुसलमान र आफ्ना पूर्वज विर्सिई पाकिस्तानीहरूका शब्द जालमा फसी कट्टर भएकाहरूले समेत देशका जनककै मूर्ति तोडफोड गरे । देश विदेशका आफुलाई ठूलो प्रजातन्त्रवादी हौँ भन्नेहरूका जालमा अहिले बंगलादेशमा भएको विध्वंशलाई क्रान्तिका रूपमा परिभाषित गरे तापनि यस विध्वंशले बंगलादेश अब माओवाद नारापछिको नेपालजस्तै नराम्ररी पछाडि पर्ने कुरामा दुइमत नै छैन ।

यसै सिलसिलामा केही दिन अघिको कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डजीले सत्ताच्युत भएपछिको क्रन्दनका कारणले जुँगा मुसार्दै “बहुमतका गफ नचुटे हुन्छ नेपालमा पनि बंगलादेशमा जस्तै हुन सक्दछ” भन्ने अभिव्यक्ति दिएको सुन्न पाइयो । हुन त नेपालका अधिकांश नेताहरूको काम नै सत्तारोहण नहुँदासम्म यस्तै यस्तै नै अभिव्यक्ति दिने हो तर यी हाम्रा पूर्व प्रधानमन्त्रीको काम त उही सशस्त्र द्वन्द्वको डर देखाएरै सत्तारोहणको यात्रा गर्ने हुन थाल्यो । सत्तामा रहँदासम्म सबै ठिकठाक हुन्छ । सत्ताबाट तल खसिसकेपछि भने जनजाति, दलित, मुस्लिमका नाममा ठगी धन्दा नै चल्ने गरेको छ । यिनै जनजाती आदिहरूको टेको टेकेर सत्तारोहणका लागि जसो पनि बोल्ने । यति मात्र कहाँ हो र । फेरि त्यसको केही दिनपछि प्रचण्डले बंगलादेशमा सत्ता परिवर्तन गराउने र मलाई सत्ता परिवर्तन गराउने एकै साम्राज्यवाद हुन् रे । के भन्नु जसो बोले पनि भयो । ताक परे तिवारी नत्र गोतामे । जनतालाई झुक्क्याएर सत्ताको स्वाद चाखे ।

पूर्व प्रधानमन्त्रीज्यू जसरी बंगालमा जनतालाई आरक्षणका कुरा ल्याएर झुक्काएर आन्दोलन गराई आखिरमा राष्ट्रपिताकै मूर्तिलाई नै फाल्ने काम गरियो त्यसै गरेर तपाइँहरूले जनतालाई नयाँ नेपालको कुरा ल्याएर बेकुप बनाउने काम गर्नुभयो । देशका राष्ट्रनिर्माताको सालिक ढालेर देशलाई नै क्रिश्चियनीकरण गरी द्वन्द्वभूमि र रणभूमि बनाउनु भयो । देश कति पछि पर्यो भन्ने कुरा त लगभग सँगसँग आर्थिक उन्नतिमा रहेका मित्रराष्ट्रहरूको प्रगति देखेरै प्रत्यक्ष प्रमाणित हुन पुगेको छ ।

त्यसैले अझै पनि त्यस्तै खालका कुरा गरेर जनता भड्काउँछु र सत्तारोहण गर्छु, जनतालाई कहिले अमेरिका त कहिले भारतलाई गाली गरेर बेकुप बनाएर सत्तारोहण गर्छु भन्ने भुल सपनामा पनि नदेख्नुहोला । पहिले नेपालका जनतालाई झुक्काइयो, अहिले बंगालका जनता झुक्किए भन्दैमा नेपाली जनता अब झुक्किनेवाला छैनन् । अब जनता जागे भने तपाइँहरूले ल्याएको यो खलाती सिस्टम नै परिवर्तनका साथ तपाइँहरूलाई लखेट्ने गरी पृथ्वीनारायण भएर जाग्नेछन् नकि तपाइँहरू जस्तै दलमर्दन भएर । अस्तु ।

प्रतिक्रिया