८ आश्विन २०८१, मंगलबार | September 24, 2024

राज्यमन्त्रीमा नियुक्त रुपा विक को हुन् ?


4k
Shares

काठमाडौं,१८ साउन । राजनीतिक पृष्ठभूमिमा हुर्किएकी नेपाली कांग्रेस केन्द्रीय सदस्य रुपा विक कलिलै उमेरमा वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएकी छिन् । पाल्पामा जन्मिएकी विक पछिल्लो समय कपिलवस्तुबाट प्रतिनिधित्व गर्दै कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय छिन् ।

शुक्रबार नेपाली कांग्रेसको तर्फबाट विकसहित कांग्रेसकै पूर्णबहादुर तामाङ र नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवा नजिक रहेकी समानुपातिक सांसद विक वन तथा वातावरण राज्यमन्त्री बनेकी हुन् । उनले विद्यार्थी जीवनमै नेपाल विद्यार्थी संघको इकाइ अध्यक्ष हुँदै कांग्रेसको राजनीतिमा प्रवेश गरेकी थिइन् । नेविसंघ हुँदै नेपाल महिला संघको केन्द्रीय सदस्य भएर लामो समय योगदान दिएकी विक नेपाल दलित संघको केन्द्रीय कार्यसमितिमा १३ वर्षसम्म सक्रियपुर्वक काम गरिन् ।

स्कुल जीवनबाटै राजनीतिमा होमिएकी राज्यमन्त्री विक कहिल्यै पछाडी फर्कनु परेको छैन् । उनको योगदानलाई उच्च मुल्याकंन गर्दै पार्टीले विभिन्न पद र जिम्मेवारी दिंदै आएको छ । बाल्यकालदेखि नै तिक्ष्ण बुद्धि भएकी नवनियुक्त राज्यमन्त्री विकमा नेता तथा कार्यकर्ताहरु मिलाउन सक्ने कुशल क्षमता सानैदेखि रहेको उनका सहपाठीहरु बताउँछन् ।

राजनीतिक पृष्ठभूमिमा हुर्किएकी हुनाले पनि विकमाथि त्यसको प्रभाव छर्लङ्ग देखिन्छ । राजनीतिको काम कर्तव्य र मर्मलाई भित्रि रुपमा बुझेर अघि बढीरहेकी उनी सफल युवा नेतृहरुमा पर्छिन् । निकै भद्र र शालिन स्वभावकी उनलाई पछिल्लो समय कांग्रेसकै आशावादी नेताको रुपमा हेरिएको छ ।

पहिलो पटक विकले महासमिति सदस्यको रुपमा पार्टीको १२औं केन्द्रीय महाधिवेशनमा सहभागिता जनाइन् । उनी १४औं महाधिवेशनबाट निर्वाचित १३४ सदस्यीय केन्द्रीय सदस्यमा सबैभन्दा कान्छी केन्द्रीय सदस्य भनेर चर्चित समेत भएकी थिइन् । विकले अंग्रेजी विषयमा स्नातकोत्तर उत्तिर्ण गरेकी छिन् ।

पुरानो र ठुलो पार्टी कांग्रेसभित्र सानै उमेरमा नै बलियो प्रभाव पार्न सफल विक पाल्पाको उदबुद्ध मा.वि.बाट एसएलसी र प्लस टु उत्तिर्ण गरेकी हुन् । उनी प्रतिनिधि सभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्य समेत हुन् ।

समितिको पूर्व सभापति डा.आरजु राणा देउवा परराष्ट्र मन्त्रीमा नियुक्त भएसँगै कांग्रेसकै सांसद कुसुमदेवी थापा सभापति भएकी छिन् । विक मन्त्री नियुक्त नभएको भए समितिको सभापति हुने ठुलो सम्भावना थियो । नवनियुक्त राजयमन्त्री विकलाई २०७९ साल मंसिरको निर्वाचनपछि कांग्रेसले समानुपातिक सूचीमा राखेको थियो ।

 

प्रतिक्रिया