नागरिकता नपाउदा प्रहरी बन्ने सपना अधुरै
वास्तविक नेपाली चाहिँ नेपाली नागरिकता पाउनबाट बञ्चित ।
काठमाडौं,२० असार । काभ्रेको भुम्लु गाउंपालिका वडा नं ७ का सरिता तामाङ उप्रेती नामकी आमाबाट जन्मेका २२ बर्षीय अञ्चल उप्रेतीले सोही पालिका तथा वडामा रहेका बिद्यालयहरुबाट १२ कक्षासम्म उत्तिर्ण गरिसकेका छन् ।
उनलाई वडा कार्यालयले जन्म दर्ता प्रमाण पत्रपनि दिएको छ,नागरिकताको लागि सिफारिस पनि दिएको छ,नाता प्रमाणित पनि छ,उनले हासील गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरु र जन्मदर्तामा समेत बाबुको नाम चिन्ताहार उप्रेती स्पष्ट छ,प्रहरी प्रशासनको लिखित रिपोर्टपनि छ,पालिका प्रमुख प्रेम भुजेल स्वयं जिल्ला प्रशासनमा उपस्थित भएर उनलाई नागरिकता दिलाउन प्रयास गरे ।
साथै, उनको जन्म,बाबु र आमाबारे उक्त वडाबासी प्राय सबैलाई जानकारी छ,उनका बुबा र आमापनि सोही वडामा जन्मेका हुन र उनका बुबाको भने मृत्यु भईसकेको छ सो बारेमा वडा अध्यक्ष रमेश खरेल समेत बसेर सर्जिमिन मुचुल्का पनि गरेको भएता पनि उनले नागरिकता पाउन सकेका छैनन् । उनले बिगत ४ बर्षदेखि नेपाली नागरिकता पाउनको लागि सम्बन्धित निकाय सबैमा धाउदै अनुनय बिनय गर्दै भौतारिई रहेका सामाजिक अभियन्ता हेम शंकर गिरीले जानकारी दिए ।
“नागरिकता प्राप्त हुनासाथ नेपाल प्रहरीमा सेवा गर्ने उनको योजना रहेछ तर अहिलेसम्म सफल हुन सकेनछन् उनी र उनकी आमा अहिले ज्यादै पिडित भएको देखिएको छ ।”–पुर्ब सैनिकसमेत रहेका गिरीले भने । गिरी आफैले सो विषयमा जिल्ला प्रशासन काभ्रेमा सम्बन्धित अधिकारीहरुसंग छलफल गरे तर ती युवा अंचल उप्रेतीले सजिलै नागरिकता प्राप्त गर्ने संभावना देखेनन् ।
नदेखेपछि सोही ब्यहोरा सामाजिक संजाल आफ्नो फेसबुक पेजमा लेख्छन र त्यो पढेपछि नागरिकता बिज्ञ एवं अधिबक्ता एसके तिमल्सीनाले सो सम्बन्धमा ८ पानाको अनुसन्धान प्रतिबेदन नै तयार गर्छन र प्रजिअलाई फोन गरि सुझाब दिन्छन । ती पिडित युवाले सत्य न्यायको खोजि अभियानमा समेत गुहार्न पुग्छन र उक्त अभियानका अध्यक्ष बरिष्ठ अधिबक्ता धुर्बलाल श्रेष्ठ (जो संयुक्त राष्ट्रसंघबाट निबृत कानुन अधिकृत समेत हुन्) उनले समेत काभ्रेका प्रजिअ कृष्णवहादुर सेंडाईलाई फोन गर्छन तरपनि नागरिकता दिने कुनै लक्षण देखिदैन् ।
त्यसपछि पीडित पक्ष न्यायालय,राष्ट्रिय मानबअधिकार आयोग,गृह मन्त्रालय,महिला आयोग र महिला बालबालिका मन्त्रायको ढोका ढकढकाउने र त्यसपछि पत्रकार सम्मेलन गर्ने पक्षमा पुगे । अभियन्ता गिरीका अनुसार किशोरकी आमाले पहिलो पतिसँग पारपाचुकेको प्रमाणपत्र लिनुभन्दा पहिले नै माइतीमा बस्दा ती युवकलाई जन्म दिएकी रहिछन् ।
उनले भने,“ती युवकको जन्म २०५८ सालमा भएको र आमाले अघिल्लो पतिसंग लिएको सम्बन्धबिच्छेद प्रमाण पत्रको मिति २०७९ भएको अनि बुबाको मृत्यु दर्ताको प्रमाण पत्र नभएको,बिवाहा दर्ता नभएको भन्ने जस्ता जवाफ पाईयो । तर मेलमिलापको माध्यमबाट सम्बन्धबिच्छेद लिन गरेको मञ्जुरी पत्र हेर्दा उनिहरु दुबैजना २०५४ सालदेखि नै छुट्टिएर माईतमा बस्दै आएको अबस्थामा माईती गाउंकै चिन्ताहार उप्रेतीसंग बिवाहा गरेपछि ती युवाको जन्म भएको कुरा सहजै देखिन आएको छ ।”
बिदेशीलाई सहजै नेपाली नागरिकता प्राप्त हुने नेपालमा साच्चीकै नेपालीको अवस्था भने कहाली लाग्दो छ । यस्ता बिषयमा सम्बन्धित निकाय गृह मन्त्रायलले ध्यान दिनुपर्ने देखिन्छ ।