१२ श्रावण २०८१, शनिबार | July 27, 2024

राजनीतिक अस्थिरताले विकासमा उल्झन


13.3k
Shares

संजिब गुरुङ्ग । समग्र नेपालको इतिहासलाई नजिकबाट हेर्ने हो भने आम नेपालीहरु एक प्रकारको द्धन्द्धमा पटक–पटक परेको र पारिएको देखिन्छ । इतिहासलाई फर्केर हेर्दा १८१४ देखि १८१६ सम्म ब्रिटिस इस्ट इण्डिया युद्ध भएको थियो । जसलाई गोर्खा युद्ध पनि भनिन्छ । सो युद्ध पश्चात १८१६ मा सुगौली सन्धीमा नेपालले हस्ताक्षर सँगै युद्ध समाप्त भएको पनि देखिन्छ । उक्त सन्धिपछि नेपाल र ब्रिटिसबिच मित्रताको हात अगाडी बढेको हो ।

नेपाल–ब्रिटिसबिच प्रत्येक नीतिगत होस् वा भौतिक योजनामा सहकार्य भएको देखिन्छ । र सोही सिको गर्दै जुन सरकार नेपाल भूमिमा थियो र ब्रिटिस आवरण झल्किने केही विकासका संरचनाहरु आज पनि जिवितै छन् ।
एउटा पराक्रमी र बहादुरीको विरताले चिनिएका नेपालीहरु समग्रमा विश्वमा चिनाउन सफल भएको देखिन्छ । त्यसैक्रममा जुन एकतन्त्रिय शासन पद्धती राज्यमा मौलाएर जादा पटक–पटक भएका आन्दोलन र युद्धले त्यो जहानिया र एकतन्त्रिय शासनलाई परास्त्र पारिएको देखिन्छ । त्यसपछि प्रजातन्त्रको स्थापना भएको थियो ।

सोही प्रजातन्त्र प्राप्तिसँगै हरेक नीतिका कुरा,विधिका कुरा र विकासका संरचनाहरु नयाँ ढंगले अघि बढेको देखिन्छ । हरेक व्यवस्थासँगसँगै आएको परिवर्तनमा त्यही प्रजातन्त्रलाई गलत प्रविधिबाट प्रयोग गरी विधि, विधान र विकासमाथि प्रहार भएको देखिन्छ ।

प्रत्येक परिवर्र्तनसँगै आएका समय संगै जन्मिएका राजनीतिक दलहरुले पटक–पटक राज्यसत्तामाथि हालिमुहाली गरी राज्यलाई खोक्रो बनाउने काम गरेको देखिन्छ । सबै पार्टी र पद्धतीहरु नीति र सिद्धान्तको नयाँ समाजको परिकल्पना गरी खोक्रो आर्दशमा आफु सर्वेसर्वा बन्नलाई मात्र अग्रसर भएको देखिन्छ । सोही क्रममा राजनीतिक अस्थिरता देशमा बढेर जाने,स्थिर सरकार नहुँदा विभिन्न पाटोबाट आम नागरिकले सास्ती भोग्न परेको छ । यसरी हेर्दा जति हुनुपर्ने र गर्नुपर्ने विकास निर्माणमा बन्देज लागेको अनुमान गर्न गाह्रो छैन् । सो बन्देज सँगै नागरिकले भोग्नु परेको सास्ती व्याख्या गर्न नसकिने अवस्थामा छ । राजनीतिक खिचांतानी र स्थायी रुपमा सरकार नबन्दा प्रत्येक ३/३ महिनामा बदलिने सरकारले राज्यलाई अधोगति तिर धकेलिएको देखिन्छ ।

राजनीतिक दलभित्र मौलाएको खिचांतानी, अंहमता र स्वार्थले हरेक पार्टीको वास्तविकतालाई समाजमा नंग्याएको छ । नेतृत्वमा रहेका नेतृत्वकर्मीहरुले आफैले बनाएको नीति आफु अनुकुल संचालन गर्दैगर्दा विकासका संरचनाहरु विनासतिर धकेलिएको छन् । स्थानीय तहदेखि केन्द्रसम्मको नीति बाजिँदा विकासमा ठुलो दरार आएको देखिन्छ । र प्रक्रियागत रुपमा हेर्ने हो भने आम सर्वसाधारण विकासको पर्खाइमा बसिरहँदा वर्षौवर्ष विकासको अनुभुति गर्न नपाउँदा पीडामा छटपटिएको देखिन्छ । हिजोको इतिहासलाई हेर्ने हो भने र ति इतिहाससँगै परिवर्तनमा आएका हाम्रा छिमेकी राष्ट्रहरु हाम्रो देशको विकासको तुलनामा धेरै अगाडी पुगिसकेका छन् । त्यसो त हामीले टाढाको देशलाई मूल्याकंन नगरी छिमेकी राष्ट्र चीनलाई हेर्ने हो भने पनि आज संसारको सबैभन्दा धेरै टनेल बनाउने राष्ट्रको रुपमा चिनिन्छ । र नेपाललाई हेर्दै गर्दा ३/३ महिनामा परिवर्तन हुने सरकारको नीतिलाई हेर्दा हरेक व्यक्तिले निर्माण गर्ने नीतिले गर्दा विकासलाई राजनीतिक एजेण्डा बनाएर एकअर्कामा आरोप र प्रत्यारोप,गालीगलौज र विरोध गरेर विकासलाई अस्तव्यस्त बनाएको देखिन्छ । नेतृत्वले आफुलाई सर्वेसर्वा ठानेर गरेका कर्मबाट आम नाागरिक आफ्नो हक र अधिकारबाट बन्चित भएका छन् ।

स्थानीय सरकारले गरेको निर्णय प्रदेशले नमान्ने, प्रदेशले गरेको निर्णय संघले नमान्ने,आफुमुखि र आफुखुशी नीति भन्दा बाहिर रहेर प्रशासन चलाउन खोज्दा आम नागरिकले ठुलो सास्ती र पीडा खेप्न परेको हाम्रो सामु छर्लङ्गै छ । समय परिवर्तन संगसंगै आउनुपर्ने नयाँ नीति र नयाँ विधि कार्यान्वयन नहुँदा देशमा आएका विकृति र विसंगीतले समाज अर्को दिशातिर मोडिएको देखिन्छ । प्रत्येक ५/५ वर्षमा आउने निर्वाचन आम सर्वसाधारणले नबुझ्दा कुम्भ मेलाको रुपमा झल्किएको देखिन्छ । एकले अर्कालाई होच्याउने र गिराउने खेलमा सम्पुर्ण राजनीतिक पार्टी र पद्धती लाग्दै गर्दा समाजमा ५ वर्षमा नयाँ विचार बोकेका केही स्वतन्त्र व्यक्तिहरु पनि नेतृत्वको रुपमा स्थापित भएको देखिन्छ । नयाँ सोच बोकेर परिवर्तनको बाटोमा केही व्यक्ति हिड्न खोज्नु अत्यन्तै राम्रो कुरा हो । र सोही व्यक्तिहरु स्थानीय सरकारमा आबद्ध हुँदै गर्दा स्थानीय सरकारले कनै पनि नीति निर्माण गर्न नसक्ने र केन्द्रकै नीतिमा बाधिन पर्ने अवस्थाले गर्दा सो व्यक्तिहरुको विचार त्यही विलय हुँदै गर्दा र नयाँ विचार र विकासका संरचनाहरु त्यही ओझेलमै परेको देखिन्छ । स्थानीय सरकारले संरचना बनाउने केन्द्रको असन्तुष्टिले भत्काउँदै गर्दा आज देश झन गरिबिको रेखामुनी धकेलिएको देखिन्छ ।

यो परम्परालाई आम नागरिकको स्तरबाट आवाज नउठाउने हो भने जनताले आशा गरेका विकास निर्माणका काम अझै ओझेलमा पर्ने देखिन्छ । हरेक पार्टी र पद्धतीमा लागेका कार्यकर्ताहरु दासकै रुपमा आफ्नो नेतृत्वलाई खुशी बनाउन लागिरहने हो भने विकास पछि धकेलिदै अनिश्चिताको मार्गमा जाने र आम सर्वसाधारणले अझै सास्ती भोग्नुपर्ने देखिन्छ ।
(गुरुङ नेपाल तरुणदलका केन्द्रीय सदस्य हुन् । )

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया