पुरानो र ठुलो दलको खिचातानीले फैलिएको विकृति र नयाँ जन्मिएको अवसरवादीको झुण्डः नेता गुरुङ्ग
संजिब गुरुङ्ग । नेपालको समग्र इतिहासलाई हेर्दा विभिन्न राजनीतिक दलहरुले नेतृत्व गर्दै आएको देखिन्छ । २००७ साल पछिको इतिहासलाई हेर्ने हो भने केही दलहरु समाजमा उदाए र अस्ताए पनि । २०८१ सालमा आइपुग्दा इतिहासलाई फर्केर हेर्दा अहिले नेपाली कांग्रेस, नेकपा एमाले र ०६३/०६४ को आन्दोलनपछि उदाएको नेकपा माओवादी केन्द्रले सत्ता र शक्तिलाई प्रयोग गरेको देखिन्छ । ती शक्तिहरुबीच आफैभित्रको खिचातानीले र आफुमुखी राजनीतिले प्रत्येक दलभित्र साना–साना स्वार्थी झुण्डहरु मौलाएको देखिन्छ । जुन दलमा जसले नेतृत्व गरेपनि आफु केन्द्रीत भएको स्पष्टै देखिएको छ ।
त्यसो त कांग्रेसभित्र वर्तमान सभापति शेरबहादुर देउवाले आफु निकटका केही, श्रीमती,भाई भतिजालगायतलाई राजनीतिमा ल्याएका छन् भने छोरालाई पनि व्यवसायिक रुपमा स्थापित गर्न चाहेको देखिन्छ । त्यस्तै, एमालेमा अध्यक्ष केपी शर्मा ओलीले आफु निकटका केहीलाई आफुभन्दा तलका पदहरु बाडेर बाचेसम्म आफै एकतन्त्रिय शासन लागु गर्न चाहान्छन् । ओलीले अन्य साना दलहरुलाई पनि आफु केन्द्रीत गर्न उद्यत भएको देखिन्छ । सोही राजनीतिक पद्धतिलाई पछ्याउँदै समाजमा परिवर्तन गर्ने सोच बोकेर हत्या,हिंसा र आतंकको बाटो रोजेर राजनीतिक धारमा उभिएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि ति इतिहासलाई बिर्सिएर आफ्नो स्वार्थमा रहेर परिवारभित्र राजनीतिलाई केन्द्रीत गरेको देखिन्छ । उनले पनि छोरी,ज्वाई,बुहारी र अन्य केही आसेपासेहरुमा मात्र अबसर सिमित गर्दै लगेका छन् ।
यस्ता आफुहरुमा मात्र सिमित राजनीतिले समाजमा दिगो शान्ती र जनताको हितमा काम हुन नसकेको आम मानिसहरुले बझ्न आवश्यक छ । यहि खिचातानीबाट आफु–आफुमा भएको फुट, एकले अर्कालाई गर्न नसकेको सम्मान र आम नागरिकमा राजनीतिक चेतना नहुँदा स्वतन्त्रको नाममा नयाँ शक्ति उदाएको भन्न गाह्रो छैन् । वैखाश ३०, २०७९ मा सम्पन्न गत स्थानिय चुनावबाट बालेन,हर्कको साथै केही स्वार्थीहरु जो अवसरका खोजीमा रहेका रवि लामिछाने,ज्ञानेन्द्र शाही,दुर्गा प्रसाई र अन्य केही शक्तिहरु समाजमा देखा परे । यि शक्तिहरुबाट आम नागरिकहरुले सोचेको जस्तो सेवा नपाउँदा जनताहरुमा झन् निराशा थपिएको छ । हरेक प्रशासन, प्रत्येक न्यायालयमा आम नागरिकले पाउनुपर्ने सेवा र सुविधाबाट अझै बन्चित भएको देखिन्छ ।
सञ्चारकर्मी हुँदै राजनीतिमा उदाएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने अमेरिकाको समग्र अवस्था बुझेर फर्किएका, त्यहाँभन्दा नेपाली नागरिकहरुलाई बोलीको प्रभावले आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने बुझे र त्यो उद्देश्य सफल भएपछि राजीनितीमा प्रवेश गरेका पात्र हुन् । गृहमन्त्रालय नै पाउनुपर्ने गठबन्धनमा अडान लिएका लामिछानेले गृहमन्त्रीको जिम्मेवारी पाएलगत्तै आफ्नो मातहतमा रहेको प्रशासनलाई उथुलपुथुल पारेका थिए ।
त्यसैगरी, कांग्रेसको शासन सत्तालाई प्रयोग गरेर स्वर्णिम वाग्ले जस्ता व्यक्ति अवसरको खोजीमा रविको सारथीको रुपमा समाजमा अझै भ्रम छर्न खोजेको बुझिन्छ । कांग्रेस सभापति देउवाले वाग्लेलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत बनाएका थिए । त्यसअघि नै वाग्लेलाई कांग्रेसकै पुर्व सभापति शुशिल कोइरालाले आयोगको सदस्यमा नियुक्त गरेका थिए । यसरी वाग्लेले पटक–पटक कांग्रेसबाट अन्य नेताहरुले भन्दा धेरै अवसर पाएका थिए । त्यही शिक्षाबाट प्रेरित राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही पनि उनीहरु भन्दा कम देखिदैनन् । यसरी हेर्ने हो भने उनीहरु भन्दा केही समयपछि स्वास्थ्य व्यवसायीको रुपमा चिनिएका दुर्गा प्रसाई हरेक राजनीतिक दललाई प्रभावमा पारी आफु अनुकुल बनाउदै अघि बढेको देखिन्छ । र शासन सत्ताबाट बाहिरिएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई सम्म प्रयोग गर्न पनि पछि नहटेको पाइन्छ ।
यस्ता नचाहिंदो तरिकाले समाजमा परम्परा स्थापित रहिरहने हो भने आम सर्वसाधारणलाई एक छाक टार्न पनि मुस्किल हुनेछ । आजको परिवेसलाई यथार्थमा हेर्ने हो भने छाडापनको सुरुवात नीति निर्माण गर्ने उद्देश्य बोकेर जनप्रतिनिधिको रुपमा संसद भवनमा छिरेका सांसदहरुबाट भएको देखिन्छ र सोही छाडातन्त्र हरेक प्रशासन हुँदै समाजमा फैलिदैं समाज गलत दिशातिर मोडिदै गएको छ । यो चिन्ताको विषय हो । समाज गलत बाटोमा जादा उज्वल भविष्य बोकेका युवापुस्तामा नैरश्यता र उदासिनता बढ्नु स्वभाविक हो ।
हरेक प्रशासनमा जागिर खान होस् वा सरुवा बढुवामा दलालहरु नै हाबी हुने गर्छन् । देशमा अवसर नपाएपछि इमान्दार युवाहरु देश छाडेर विदेशमा जानु पर्ने र त्यहाँ पनि दलालीहरुबाट नै ठगिन परेको तितो यर्थाथ हाम्रो सामु छर्लङ्ग छ । देशमा सत्ताको खिचातानी, राजनीतिक भागवण्डा,तेरो र मेरो,आफ्नो र अर्काको,आरोप र प्रत्यारोप गर्नमा ब्यस्त राजनीतिक अगुवाहरु समाजमा भएपछि देशको भविष्य कता जादैछ ? भन्ने ठुलो चिन्ताको विषय बनेको छ ।
एकले अर्कोलाई विश्वास गर्न नसक्नु,आफैलाई मात्र सर्वोपरी र परमेश्वर ठान्दा कतै समाज द्धन्द्धमा फस्ने त होइन ? अब आउने युवा पुस्ता यी सबै कुरालाई नजिकबाट नियाल्ने र समाज परिवर्तनको बाटोमा अग्रसर हुने बेला आएको छ । नत्र हामीले भोग चलन गर्दै आएको देश नेपाल कतै एकादेशको कथा त हुने होइन् ?
अब हरेक तह र पद्धतीमा रहेका (सेना, प्रहरी, निजामती कर्मचारी, स्वास्थ्यकर्मी ,शिक्षक,निजी क्षेत्रमा आबद्ध) यूवा पूस्ता परिवर्तनको बाटोमा एकै ठाउँमा उभिनु पर्छ । हरेक पत्रकारिता पेशामा लागेका राष्ट्रप्रेमीहरुको कलम सत्य र परिवर्तनको रेखा कोर्न निस्कने बेला भएको छ । राज्यको चौथों अंग पत्रकार अब समाजमा ज्योती र प्रकाशको रुपमा उदाउँनु पर्ने छ । अबका दिनमा सम्पुर्ण युवा शक्तिहरु कुनै स्वार्थ,लोभ,मोहमा केन्द्रीत भए भने अगाडी लेखिएका नामहरु जस्तै फरक नाम र अनुहार भएका नयाँ स्वार्थी र अवसरबादीहरु फेरी जन्मिने छन् ।
(लेखक गुरुङ्ग नेपाल तरुण दलका केन्द्रीय सदस्य हुन् ।)