न्युरोडमा सडक पार्किङ गर्न पाउनुपर्छ भन्नेहरु नै फुटपाथ बढाउँदा बिरोधमा उत्रिए–बालेन

काठमाडौं,१८ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायिक र सुन्दर बनाउँन एकजुट हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत मेयर बालेनले यस्तो टिप्पणी गरेका हुन् । न्युरोडमा सडक पार्किङ गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गर्नेहरु नै आज फुटपाथ बढाउँदा बिरोध गरिरहेको दाबी मेयर बालेनको छ ।
“न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?”–उनले लेखेका छन् ।
मेयर बालेनले सडक विभागलाई सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने ज्ञान नभएको समेत आरोप लगाएका छन् । “सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला ।”–उनले लेखेका छन्,“प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ ।”