९ माघ २०८१, बुधबार | January 22, 2025

टेलिकममा अख्तियार लाग्नेलाई प्रबन्ध निर्देशक बनाउने चलखेल, संगिता र डिल्लीलाई मात्र मिल्ने गरी कार्यविधि


498
Shares

काठमाडौं, ६ जेठ । नेपाल टेलिकममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा पर्ने पात्रमध्येबाट प्रबन्ध निर्देशक बनाउने चलखेल चलेको छ । अख्तियार लाग्ने गरी अनियमित भएको टेलिकमको खरिद प्रक्रियाको निर्णयमा सहभागी पात्रहरुमध्येबाट प्रबन्ध निर्देशक बनाउने चलखेल भएको हो । यसमा वर्तमान सञ्चारमन्त्री रेखा शर्माको पनि स्वार्थ गाँसिएको छ ।

अख्तियार लाग्नेलाई प्रबन्ध निर्देशक बनाएर आफू अनुकूलको निर्णयमा वाध्य पार्ने गरी शर्माले योजना बुनेको बुझिएको छ । त्यसै अनुसार प्रबन्ध निर्देशकको छनोटको कार्यविधि समेत बदलिएको छ । कार्यविधि अनुसार विगतमा टेलिकमको प्रबन्ध निर्देशक हुने योग्यताका लागि ५६ वर्ष नकटेको हुनुपर्नेमा अहिले बढाएर ५८ वर्ष उमेरहद राखिएको छ । अर्कोतर्फ, कम्तिमा ३ वर्ष प्रबन्धकको अनुभव र १५ वर्ष यस क्षेत्रमा कार्य अनुभव उल्लेख छ । नयाँ कार्यविधि अनुसार टेलिकमको प्रबन्ध निर्देशक बन्न वर्तमान निमित्त प्रबन्ध निर्देशक संगिता पहाडी र पूर्व प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी मात्र योग्य हुनेछन् । टेलिकम भित्रका अन्य प्रतिष्पर्धी योग्य हुनेछैनन् । उमेरहद संगिता पहाडीका लागि फेरिएको छ । यसमा पनि ठूलै चलखेल भेटिन्छ ।

सञ्चारमन्त्री रेखा शर्माको स्वार्थ अनुसार बनाइएको कार्यविधिले संगिता पहाडी र डिल्लीराम अधिकारी मध्येबाट नै छनोट हुने अवस्था बनाइएको छ । यी दुवै पात्र टेलिकमका विवादास्पद र भ्रष्टाचार भएका खरिद प्रक्रियामा सलग्न भएको विभिन्न उजूरीका आधारमा अख्तियारको छानविनमा परेका छन् । अख्तियारले छानविन गरिरहेको र कुनैपनि बेला मुद्दा हाल्न सक्ने निर्णय प्रक्रियामा संगिता र डिल्ली दुवै संलग्न पाइएका छन् । यीनै पात्रमध्येबाट मात्र किन प्रबन्ध निर्देशक बनाउन खोजियो भन्ने चासोको विषय बनेको छ ।

टेलिकमका कतिपय विवादास्पद निर्णयहरुमा सञ्चालक समितिको बैठक बस्छ जसमा उनीहरु सहभागी भई हस्ताक्षर समेत गरेका छन् । हस्ताक्षरकर्ताका रुपमा उनीहरु छानविनमा परेका छन् । टेलिकमको विलिङ प्रणालीको लागि एएमएस अपग्रेडसहितको खरिद गर्ने सम्बन्धी ६ वर्षीय प्रस्तावमा विशेषज्ञ मनोनयन टिप्पणीसम्बन्धी कमिटिका अलावा विभिन्न कमिटिको सदस्यका रुपमा तत्कालीन प्रमुख व्यवसायिक अधिकृत संगिता पहाडी थिइन् । उनी अहिले निमित्त प्रबन्ध निर्देशक हुँदा यससम्बन्धी निर्णय भएको छ । डिल्लीराम अधिकारी पनि विभिन्न कमिटिमा थिए । विलिङ प्रणालीमा व्यापक अनियमितता भएकोमा अख्तियारले चासो राखेको छ । संगिता सम्झौतामा हस्ताक्षर गर्ने पदाधिकारीहरुमध्ये पनि छिन् । त्यतिबेला सुनिल पौडेल प्रबन्ध निर्देशक थिए टेलिकमको ।

सुनिल विगतमा उनी संलग्न संस्थामा भएका भ्रष्टाचारमा मुछिएर जेल पु¥याइएका छन् । सुनिलले जुन जुन विवादास्पद निर्णयहरु गरेमा त्यसमा पनि संगिताकै नाम देखिन्छ । सिंगल भेन्डर गरेर अनियमितता गर्न सुनिल खप्पिस थिए । उनी जेल गएपछि संगिताले पनि त्यस्तै लाइन समातेकी छिन् । सुनिल त अख्तियारको छानविनपछि जेल गए । अब विवादास्पद निर्णय गरेर टेलिकम र राज्यलाई नै नोक्शान पु¥याउने निर्णयहरुमा संलग्नमाथि छानविन बढिरहेको छ । त्यसमा सुनिल मात्र नभई उनलाई सघाउने हस्ताक्षरकर्ता पनि कारबाहीमा पर्ने बुझिएको छ । जसमा संगिताको नाम पनि अग्रस्थानमा छ ।

अख्तियारको छानविनमा परिरहेको र कुनैपनि बेला कारबाहीमा पर्न सक्ने पात्रहरुलाई टेलिकमको नेतृत्व दिन खोज्नुमा मन्त्री रेखा शर्माको स्वार्थ देखिन्छ । उनले टेलिकमलाई धराशायी बनाउने समूहको हितमा काम गराएर एनसेललाई लाभ दिलाउन खोजेकी छिन् । उनको त्यही योजना अनुसार दूरसञ्चार क्षेत्रमा नियुक्ति भएको छ । टेलिकमलाई बर्बाद बनाउने योजनाकारहरु दूरसञ्चार क्षेत्रमा छिर्नुले राज्यलाई ठूलै नोक्शानी पर्ने देखिन्छ ।

संगिता पहाडी चिफ कमर्शियल अफिशस सीसीओ भए दखि नै कयौं प्रकारका टेण्डरहरुमा सुनिल पौडेल सँग मिलेर एकलौटि रुपमा टेण्डरको स्पेशिफिकेशनतयार गरी एउटै कम्पनीलाई मिल्ने गरी टेण्डर आह्वान गरिएको थियो । सुनिल पौडेललाई आफै निलम्बन हुनु भन्दा पहिला जानकारी प्राप्त हुनासाथ उनले संगिता पहाडीलाई चिफ टेक्निकल अफिशर सीटीओमा संगिता पहाडीलाई स्थानान्तरण गरिएको थियो । नेपाल टेलिकममा वरिष्ठताको आधारमा हाल कार्यरत निमित्त प्रबन्ध निर्देशक संगिता पहाडी त्यति बेला चौथो नम्बरको वरियता मा थिइन् । तर, आफूहरु फस्न लागेको देखेर सुनिल पौडेलले मन्त्रालयको सिफारिसमा संगिता पहाडीलाई निमित्त प्रबन्ध निर्देशक बनाउन सफल भए ।

संगिता पहाडीलाई निमित्त प्रबन्ध निर्देशक बनाए पछि सुनिल पौडेलको कामहरुले निरन्तरता पायो । जसध्ये हुवावे सिंगापुरलाई इन्टरकनेक्शन बीओआई एन्ड एसेसरिज टेन्डर र एमएपी इन्टरप्रेनर्सलाई अप्टिकल फाइबर टुल्स र अप्टिकर फाइबर टुल्स एसेसरिज टेन्डरहरु । यी सबै टेण्डरहरुमा स्पेशिफिकेशन एउटा मात्रै कम्पनी पूर्व छनोट हुने गरी बनाइएको छ । एउटै कम्पनिलाई प्रिक्वालिफाइड गर्ने योजनामा ठूलै घोटाला भेट्न सकिन्छ । अहिले अख्तियारले यी सबै टेण्डरहरुलाई छानबिन गरिरहेको छ । छानविनका क्रममा टेलिकमका उच्च अधिकारीहरु निगरानीमा परेका छन् । उनीहरुमाथि कुनैपनि बेला मुद्दा लाग्न सक्छ ।

एशिया इन्फोको पुरानो बिलिङलाई पाँच वर्षका लागि एएमएस एक्स्टेन्सन को सम्झौता गरिएको छ । अहिले अख्तियारले नेपाल टेलिकममा कार्यरत र भुतपूर्व कर्मचारीहरु गरी ४२ जनाबाट यो मामलामा बयान लिने क्रम चलाएको छ । यो एएमएस एक्स्टेन्सन हुँदा बिलिङको मेन्टिेनेन्स अर्थात् पुननिर्माणको जिम्मा संगिता पहाडी चिफ कमर्शियल अफिसर सीसीओ कै अन्तर्गत थियो ।

नेपाल टेलिकमको संचालक समितिको बैठकहरु (बैठक नं. ९९९ देखि हाल सम्म बिलिंग प्रणालीको लागि एएमएस विथ अपग्रेड खरिद गर्ने सम्बन्धी समितिहरु रिभ्यु एमओएम, रिभ्यु स्वीकृति तथा संचालक समितिमा पेश गर्ने टिप्पणीमा उनी संलग्न रहेको तथ्य भेटिन्छ । यी मामलामा अनियमितता भएको खुलेपछि अख्तियारले छानविन चलाइरहेको छ । हालै अख्तियारले मागेको विवरण अनुसार उर्पयुक्त समितिहरुमा संगिता पहाडीको संलग्नता देखिन्छ । यसरी अख्तियारले कुनैपनि बेला मुद्दा दायर गर्ने पात्रलाई प्रबन्ध निर्देशक बनाउने गरी कार्यविधि नै बदल्नुमा टेलिकम कमजोर बनाउने निहित उद्देश्य देखिन्छ ।

प्रतिक्रिया