श्रीराम मन्दिरको प्राण-प्रतिष्ठा: इतिहासको सबै भन्दा दिब्य क्षण
लाल बहादुर चौधरी: घरवारविहीन हुनुको अवस्था कस्तो हुन्छ ? आफ्नै माटोबाट अलग पारिनुको पिडा कस्तो हुन्छ ? आफ्नो परिवारको सदस्य वा कोही प्रियजन वर्षौंदेखि आफूबाट टाढा हुँदा कस्तो अनुभूति हुन्छ ? हामीले यी सबै स्थिति बारे कल्पना गर्न सक्छौं, र आफ्नो व्यक्तिगत जीवनमा भोगिरहेका पनि हुन्छौं l यस्तै संयोग हिन्दूहरूका आराध्यदेव श्री राम र हिन्दूहरूको पनि रह्यो l श्री राम जन्मभूमि हुँदा पनि वर्षौदेखि राम-मन्दिर हुन नसक्नुको विडम्बना ! यद्यपि, यो विडम्बनापूर्ण अवस्थाको अब अन्त्य भएको छ l आराध्यदेव श्री रामले पनि अन्ततः न्याय पाउनुभएको छ l
हिन्दूहरूले भारतको उत्तर प्रदेशमा रहेको श्री राम जन्मभूमि अयोध्यामा राम–मन्दिरको पुनर्निर्माण गर्न र गुमेको अस्मिता पुनः स्थापित गर्न लामो समयसम्म सङ्घर्ष गर्नुपर्यो l यो सङ्घर्ष केवल आस्थाको आधारमा थिएन l यो सङ्घर्ष हिन्दूहरूले गुमाएको आत्मसम्मानको लागि थियो l न्याय प्राप्तिको लागि थियो l धर्म स्थापनार्थ थियो l
सयौं-हजारौंले आफ्नो जीवनको आहुति दिनुपर्यो, विभिन्न बाधा-अड्चनको सामना गर्नुपर्यो, समाजमा अपहेलना सहनु पर्यो, राज्यको बर्बरता झेल्नुपर्यो l राम-जन्मभूमि आन्दोलनमा होमिनेहरूले जेलनेल खेप्नुपर्यो l यद्यपि, यो सङ्घर्ष, यो अनथक प्रयास नदीको पानी सरह थियो l अन्ततः विशाल सागरमा गएर टुंगिने l आज लगभग ५०० वर्षपछि विश्वका समग्र हिन्दूहरूको सपना साकार भएको छ l अयोध्यास्थित राम–मन्दिरको पुनर्निर्माण भएको छ l
आराध्यदेव श्री राम आफ्नो घर फिर्ता पाउनुभएको छ l आफ्नो आसनमा विराजमान हुनुभएको छ l सत्य तथा न्यायको पक्षमा उभिने सबैलाई लामो समयपश्चात् सत्, चित्त, आनन्दको अनुभूति भएको छ l २२ जनवरी, २०२४ (२०८० माघ ८ गते) सम्पन्न भएको राम मन्दिरको प्राण-प्रतिष्ठाले यस घडीलाई इतिहासकै सबै भन्दा दिब्य क्षण तुल्याएको छ l
यो समय एक ऐतिहासिक समय हो l स्वर्णिम समय हो l आजको यस क्षणको लागि कैयनले आफ्नो पूर्ण जीवन लगाए l कैयनले सर्वश्व नै न्यौछावर गरे l तर यो हाम्रो अहोभाग्य हो कि हामी यस दिब्य घडीको साक्षी हुन पाएका छौं l लाखौँ, करोडौं हिन्दूहरूको आफ्नै जीवन-कालमा राम-मन्दिरको निर्माण कार्य पूरा भएको देख्ने सपना थियो होला l
शौभाग्यवस, हाम्रै समयमा यो महत्वपूर्ण शुभ कार्य सम्पन्न भएको छ l विभिन्न साधु-सन्त, महात्मा, ज्योतिषविद, शास्त्रका ज्ञाता तथा विद्वानहरूका अनुसार पनि राम मन्दिरको प्राण-प्रतिष्ठा एकदमै शुभ साइतमा भएको मानिन्छ l हुन त इश्वरीय कार्य सधै शुभ हुन्छ l इश्वरीय कार्यले जस्तोसुकै समयलाई शुभ बनाउँछ l यद्यपि, कुनै पनि धार्मिक कार्य विधिसम्मत, शास्त्रसम्मत र वैज्ञानिक आधारमा हुनु आफैमा एक महत्वपूर्ण विषय हो, जुन अहिलेको सन्दर्भमा अत्यन्तै ठूलो महत्व राख्दछ l जगदगुरु रामभद्राचार्यले यो समयलाई – “कलयुगमा त्रेतायुगको छाया” भन्नुभएको छ l
वास्तवमा हो पनि, वर्तमान अयोध्या अहिले त्रेता-युगीन अयोध्याझैँ भएको छ l वर्षौदेखि तिरस्कृत अयोध्या अहिले परिस्कृत भएको छ l सु-शोभित भएको छ l बेहुलीझैं सजिएको छ l यस घडीले त्रेतायुगमा सिता, राम र लक्षण १४ वर्षको वनवास पछि आफ्नो नगरीमा फर्किंदाको झझल्को दिएको छ l यो झझल्कोले समग्र रामभक्तहरूलाई आनन्दको अनुभूति गराएको छ l
यो कलीयुग हो l कलीयुगमा नकारात्मक पक्ष हुनु अस्वाभाविक पनि होइन l यस घडीलाई सारा जगतले उत्सवको रूपमा मनाइरहँदा केही दुखी हुने, नकारात्मक टिप्पणी गर्ने नभएका भने होइनन् l भारतमै पनि त्यहाँका भारतीय काँग्रेस लगायत केही अन्य दलका राजनीतिकर्मीहरू र अन्य केही व्यक्तित्वहरूले विविध कारण देखाइ यस प्राण-प्रतिष्ठा समारोहको विरोध गरे, गर्दैछन् र गर्नेछन् l तिनीहरूले जेसुकै-जस्तोसुकै कारण देखाए पनि भारतमा रहेका बहुसंख्यक हिन्दूहरूको जनभावना बुझ्ने तथा त्यसको सम्मान गर्ने र सो महत्वपूर्ण उत्सवको हिस्सा बन्न पाउने मौका गुमाएका छन् l
एक थरी भारतीय छन् जसले बुद्ध भारतमा जन्मेको तर्क दिन्छन् l एक थरी नेपाली छन् जसले अयोध्या, हरिद्वार, आदि तीर्थ-स्थलहरू नेपालमै छन् भनी तर्क गर्छन् l दुवै खाले तर्क अर्थहीन छन्, घातक छन् l वास्तवमा, असल हिन्दू, शाश्वत सनातन धर्ममा आस्था एवं विश्वास राख्ने जो कोहीले पनि भारत र नेपालमा रहेका, वा अन्यत्र कुनै पनि स्थानमा रहेका कुनै पनि धार्मिकस्थलहरूप्रति सामान रूपमा श्रद्धा-भाव राख्छन् l आम भारतीयले नेपालमा रहेको पशुपति नाथ, मुक्तिनाथ, आदिप्रति त्यतिनै श्रद्धाभाव राख्छन् जति श्रद्धाभाव तिनीहरूले त्यहाँ स्थित धार्मिक मठ-मन्दिर तथा तीर्थस्थलहरूप्रति राख्छन् l नेपालीहरूले पनि नेपालका धार्मिक स्थलहरू सरह भारतका मठ-मन्दिर, तीर्थस्थलहरूप्रति सामान श्रद्धाभाव राख्दछन् l यसमा विवाद गर्नुको कुनै अर्थ छैन l
धर्म नै नमान्ने विचारधारा बोकेर हिडेको कथित राजनीतिक व्यक्तिले धर्म तथा आस्था बारे गरेको टिप्पणीको भरमा विवाद सिर्जना गर्न खोज्नु कतिको औचित्यपूर्ण होला ? यस पावन घडीमा धर्मलाई अफिम मान्ने, कथित लिबरल र सेकुलरहरूको टाउको दुख्नु स्वाभाविक हो l हामी सबै आफैले चिन्तन-मनन गर्न सक्छौं l
जहाँसम्म यस समारोहप्रति हिन्दू धर्मको सर्वोच्च पदमा रहेका चार शंकराचार्यहरूको विचार छ, त्यस विचारको हामी सबैले सम्मान गर्नुपर्छ l यद्यपि, यस प्राण-प्रतिष्ठा समारोहको साइतप्रति लगभग अन्य सबै सन्त, महात्मा, योगी, पण्डित, ज्योतिषविद, हिन्दू धर्मशास्त्रका अध्यता एवं ज्ञाता आदिको एक मत देखिन्छ र सबैले यसमा आफ्ना सकारात्मक विचार राखेका छन् l पछिल्लो समय शंकराचार्यहरू पनि यस प्राण-प्रतिष्ठा समारोहप्रति लचिलो भएका छन्, आफ्ना सकारात्मक विचार राखेका छन्, र शुभकामना पनि दिएका छन् l हुन पनि हामी “वादे वादे जायते तत्त्वबोधः—अर्थात्, संवादले सत्यको बोध हुन्छl” भन्ने विचारधाराको अनुयायी हौँ l हिन्दू समाजमा कसैको विचारलाई पनि निषेध गरिँदैन l
वादविवाद भन्दा संवादले समस्याको समाधान हुन्छ l त्यसै पनि यहाँ एकै सत्यलाई विद्वानहरूले फरक-फरक तरिकाले बुझ्छन् – (एकम् सत् विप्रा बहुधा वदन्ति) यस घडीलाई केवल भारतीय र नेपालीहरूले मात्र होइन, विश्वभरी छरिएका करोडौं हिन्दूहरू लगायत गैर-हिन्दूहरूले पनि एक दिब्य उत्सवको रूपमा मनाइरहेका छन् l भब्य, दिब्य एवं सभ्य रूपमा सम्पन्न भएको नवनिर्मित राम-मन्दिरको प्राण-प्रतिष्ठा अत्यन्तै दैविक-अलौकिक रहेको छ l यो क्षण सत्यको जीत हो, धर्मको जीत हो l यसले हामी सबैलाई जोड्ने प्रयास गरेको छ l यो सांस्कृतिक पुनरुत्थानको समय हो l यस उत्सवलाई हामीले मुक्तकण्ठले स्वागत गर्नुपर्छ, हर्षोल्लासका साथ मनाउनु पर्छ l यो दिब्य क्षणलाई इतिहासको पानामा अवश्य पनि स्वर्णिम अक्षरले लेखिनेछ l
यतो धर्मस्ततो जयः —जहाँ धर्म (आफ्नो कर्तब्यको पालना छ), त्यहाँ विजय छ l