४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

ठेक्कापट्टाको चलखेल छताछुल्ल भएपछि चिनियाँ राजदूत सोङको दौडधूप


January 19, 2024
249
Shares

काठमाडौं, ५ माघ । चिनियाँ कम्पनीहरु संलग्न निर्माणमा विवादहरु छताछुल्ल हुन थालेको छ । बुटवल-नारायणगढ सडकको बिजोगले सर्वसाधारणले दुःख पाएपछि राजनीतिक वृत्तमा समेत चासो बन्यो । रवि लामिछाने जनताले दुःख पाएको भन्दै अभियान चलाउन पुगे । त्यसले जनस्तरमा चिनियाँ कम्पनीले पाएका ठेक्कापट्टाका चलखेल छताछुल्ल भयो । योसँगै चिनियाँ राजदूत चेन सोङको सक्रियता बढेको छ ।

त्यसो त चिनियाँ राजदूत चेन सोङको सक्रियता नेपालमा आफ्नो देशका कम्पनीलाई ठेक्का दिलाउन र लिएका ठेक्का जोगाउन बढेको हो । चीनले निर्माण र टेलिकमका क्षेत्रमा बढी ठेक्का लिने रणनीति बनाए अनुसार हात पार्दै आएको छ । जसमा राजदूत सोङ सक्रिय छन् ।

नेपाल टेलिकमको बिलिङ सम्बन्धी अरबौंको ठेक्का चिनियाँ कम्पनीलाई पार्न राजदूत सोङले भेटघाट तिव्र पारेका छन् । विश्वस्त स्रोतका अनुसार चिनियाँ दूतावासका अधिकारी पनि सञ्चार मन्त्रालयका उच्च अधिकारीलाई भेटिरहेका छन् । राजदूत सोङले हालैमात्र सञ्चारमन्त्री रेखा शर्मासँग यसैका लागि भेटे ।

चीनले फाष्ट ट्रयाकका सबैजसो प्याकेजहरुमा ठेक्का पाएको छ । तर, उसका कम्पनीहरुको काम ढिलो भएपछि विवाद आएको छ । चिनियाँ राजदूत सोङले काम भइरहेको सन्देश दिन निर्माणस्थलमा पुगेर सन्देशहरु दिइरहेका छन् । ७२ मिटरको पुलको पिलर सार्वजनिक गरेर सोङले काम उत्कृष्ट भइरहेको दाबी गर्न पुगे । पोलि चाङ्दा कम्पनीले फाष्ट ट्रयाकको ७२ मिटर अग्लो पुलको काम गरिरहेको छ ।

बुटवल-नारायणगढ सडकको बिजोग छ । चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले निर्धारित समयमा काम गर्न नसकेपछि समय थपिएको छ । ठेक्का नै रद्ध गर्ने सम्मको विषय समेत आयो । चिनियाँ राजदूत सोङ निर्माणस्थल पुगी काममा आएको अवरोधहरु हटेको दाबी गर्दै ट्वीट गर्न पुगेका छन् । उनले निर्माणस्थलको तस्बिर पनि राखेका छन् ।

सोङ सिद्धबाबा सुरुङमार्ग निर्माणस्थल पनि पुगेर अनुगमन गरे । २.५९ किलोमिटर लम्बाईको सुरुङमार्गमा निर्माणको गति देखिएको छैन । पछिल्लो समय चिनियाँ सामान कमशल भएजस्तै चिनियाँ कम्पनीले लिएका ठेक्काको काममा ढिलाई र गुणस्तर पनि कमजोर भएको सन्देश गइरहेको छ ।

चिनियाँ अधिकारीहरु नेपालमा दशौं अर्बभन्दा माथिका निर्माणको ठेक्का पाउन सक्रिय रहने गरेका छन् । पछिल्ला वर्षहरुमा चिनियाँ कम्पनीले त्यस्ता निर्माणको ठेक्का पाइरहेको छ । तर, ती निर्माणहरु निकै ढिलो हुनेगर्दा समस्याहरु आइरहेका छन् ।-तस्बिरहरु: राजदूत सोङको ट्वीटर पेज

 

प्रतिक्रिया