६ आश्विन २०८१, आइतबार | September 23, 2024

शेरबहादुर देउवालाई काँग्रेस नेतृत्वबाट हटाउने बहादुर को होला ?


January 18, 2024
581
Shares

काठमाडौं, ४ माघ । नेपाली काँग्रेसका गएको दुईवटा महाधिवेशनबाट सभापति निर्वाचित शेरबहादुर देउवाले पार्टीभित्र शक्ति झन् बढाएका छन् । केन्द्रीय कमिटीमा उनको झण्डै दुई तिहाई पकड देखिन्छ । संसदीय दलमा पनि स्पष्ट बहुमत छ । देउवा संगठनमा बलियो मात्र छैनन् विपक्षीका भरपर्दा नेतालाई समेत साथमा लिन सकेका छन् ।

कम बोल्ने स्वभावका देउवा २०४८ सालयता शक्तिमा छन् । उनी २०४८ सालको आमनिर्वाचनपछि बनेको काँग्रेसको बहुमतको सरकारमा गृहमन्त्री बने । २०५१ सालमा बनेको एमालेको सरकार ढलेपछि देउवाको भाग्योदय भयो । देउवा त्यसपछि २०५२ मा पहिलोपटक प्रधानमन्त्री बने । राजनीतिको मूलधारमा त्यसयता रहँदै आएका उनी पाँचपटक प्रधानमन्त्री बनेका छन् ।

देउवाको विदेश सम्बन्ध पनि बलियो छ । विशेषगरी पश्चिमा शक्तिले उनलाई विश्वास गर्दै आएको बताइन्छ । सांगठनिक पकडका कारण देउवाले काँग्रेसमा गिरिजाप्रसाद कोइरालाको नेतृत्व हुँदा पनि अलग गुट चलाए । त्यो गुटलाई लिएर काँग्रेस फुटाएका थिए । पछि एक भएपछि पनि उनले ४० प्रतिशत भागवण्डा सुनिश्चित गरेर सक्रियता बढाए ।

सुशील कोइरालाको निधनपछि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई सभापतिमा पराजित गरी पहिलोपटक काँग्रेसको सभापति बनेका उनी पछिल्लोपटक डा. शेखर कोइरालालाई पराजित गरी सभापति बनेका थिए । योसँगै उनको शक्ति झन् बढ्यो ।

देउवाको कार्यकाल भने सधै विवादमा पर्दै आएको छ । उनी प्रधानमन्त्री भएपिच्छे विवादास्पद घटनाहरु भएका छन् । सांसद किनबेचको घटना २०५२ र २०५३ का खुबै चल्यो । देउवाले विगतमा संसद विघटन पनि गरेका थिए । राजाको प्रत्यक्ष शासन उनलाई नै हटाएर भएको थियो ।

देउवा शक्तिमा रहँदा काँग्रेसमा सबैभन्दा ठूलो क्षयीकरण चलिरहेको छ । प्रजातान्त्रिक धारका नयाँ शक्तिको उदय भइरहेको छ । यसले काँग्रेसलाई मात्र नभई देउवालाई समेत चुनौती थपिरहेको छ ।
काँग्रेसलाई जोगाउन देउवाको विकल्प खोज्नुपर्ने आवाज पनि उठेको छ । तर, त्यो फलामको च्युरा चपाउनु सरह हो । संसदीय दलको नेता परिवर्तनको पहलहरु काँग्रेसभित्र भइरहेको छ । डा. शेखर कोइराला र गगन थापाबीच यसबारे विभिन्न चरणमा छलफल चलिसकेको छ । तर, बिरालोको घाँटीमा घण्टी कस्ले झुण्ड्याउने ?

हालैमात्र चन्द्र भण्डारी, बालकृष्ण खाँण र एनपी साउदबीच महत्वपूर्ण भेटवार्ता भएको छ । त्यो भेट नयाँ पुस्तामा काँग्रेसको नेतृत्व ल्याउनेबारे केन्द्रित रहेको बुझिएको छ ।

देउवासँग उनकै निकटस्थहरु चिढिएका छन् । यसलाई आफ्नो राजनीतिक लाभमा ढाल्न शेखर र गगन पक्ष उद्धत छ । देउवालाई काँग्रेस नेतृत्व र संसदीय दलको नेताबाट हटाउन उनको राजीनामा आउनुपर्छ या त विधान अनुसार बहुमतले हटाउन सक्नुपर्छ । पार्टी कमिटी र संसदीय दलमा बहुमतमा रहेका देउवालाई हटाउन उनी पक्षधरलाई साथमा लिने तागत चाहिन्छ । त्यो तागत कस्मा होला ? चासो बनेको छ ।

प्रतिक्रिया