समाजवादी केन्द्र नेपालको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक

काठमाडौं,२७ पुस । युवराज सफल नेतृत्वको समाजवादी केन्द्र नेपालले आर्थिक वर्ष २०७९–०८० को लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ ।
आइतबार निर्वाचन आगोगमा पेस गर्ने तयारी गरेको समाजवादी केन्द्रको सो प्रतिवेदन सर्वोच्च नेता युवराज सफलले आज (शुक्रबार) सार्वजनिक गरेका हुन् ।
आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै आयोगले राजनीतिक दलहरुलाई पुस मसान्तभित्र आर्थिक प्रतिवेदन आयोगमा बुझाउन र सञ्चारमाध्यमहरुमार्फत सार्वजनिक गर्न समय सीमा तोकेको थियो ।
सोही निर्देशनअनुसार समाजवादी केन्द्रले आयोगले तोकेको समयावधिमै लेखा परीक्षण प्रतिवेदन बुझाउने र सार्वजनिक गर्न लागेको हो ।
समाजवादी केन्द्रको यो वर्षको कुल सम्पति १४ हजार ८० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । गत वर्षको कुल सम्पत्ति ६ हजार ५ सय ८५ रुपैयाँ सार्वजनिक गरिएको थियो ।
प्रतिवेदनअनुसार पार्टीले गत वर्ष सदस्यता लेभी तथा नविकरणबाट १ लाख १९ हजार २ सय रुपैयाँ आम्दानी गरेको थियो भने यस वर्ष त्यो रकम घटेर १ लाख ३ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।
त्यसैगरी, पार्टीले गत वर्ष चन्दा तथा सहयोगबाट ११ हजार ९ सय रुपैयाँ आर्जन गरेको थियो भने यो वर्ष ५ हजार ४ सय ५० रुपैयाँमात्र आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
यो वर्ष कुल आय २ लाख ४२ हजार २६५ रुपैयाँ भएकोमा पार्टीको प्रशासकिय खर्च मात्रै २ लाख ४२ हजार ३ सय ३५ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ ।