१२ श्रावण २०८१, शनिबार | July 27, 2024

राजनीतिक दलहरुले राष्ट्रिय हितका कुरा बिर्सियौं : नेता यादव


January 6, 2024
83
Shares

काठमाडौं, २१ पुष । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री राजकिशोर यादवले भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणमा भएका चार बुँदे सम्झौता स्वागतयोग्य रहेको भन्दै प्रशंसा गरेका छन् । उनले नेपालले भारतको ‘छिमेकी पहिले नीति’ बाट लाभ लिनुपर्ने सुझाव दिए ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष–साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालको यसअघि भएको भारत भ्रमणको क्रममा भएका दुई देशबीचका सम्झौतालाई अहिले भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको क्रममा मूर्त रूप दिने काम भएको उनको भनाई छ ।

क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सम्माननीय प्रधानमन्त्री प्रचण्डज्यूको भारत भ्रमणको क्रममा जुन सम्झौता भए, ती सम्झौतालाई मूर्त रुप दिन भारतीय विदेशमन्त्री नेपाल आउनुभएको थियो । सम्झौता पहिले दुई सरकारबीच भएको थियो । अहिले नेपाल–भारत विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा बुँदागत हिसाबले ४ बुँदे सहमति भयो । त्यो एकदमै सराहनीय छ । खासगरी १० हजार मेगावाट विजुली भारतले किन्ने सम्झौता भयो । यो नेपालको आर्थिक क्षेत्रमा माईलस्टोन भयो । फड्को हो । यो काम पहिल्यै हुनुपर्दथ्यो । अरुण तेस्रो त्यतिवेला नै भएको भए र यी सम्झौता पहिले भएको भए आज देशको अवस्था अर्कै हुन्थ्यो । तत्कािलन नेतृत्वले आफ्नो दुरदर्शीता देखाएनन् ।’

यादवले भारतीय विदेशमन्त्री नेपाल आएर यसअघि भएका सम्झौतालाई मूर्त रुप दिएको भन्दै आगामी दिनमा नेपालले भारतबाट लाभ लिनसक्नुपर्ने सुनाए । उनले भने,‘भारतको छिमेकी पहिले भन्ने नीति छ । त्यो पोलिसीबाट नेपालले पनि आफ्नो हितमा फाईदा लिन सक्नुपर्छ । सबै जिम्मेवार दल र नेतृत्व लाग्नुपर्छ । अहिलेको हाम्रो चूरो कुरा भनेको देशमा आर्थिक समृद्धि र युवाहरुलाई रोजगारी सिर्जना गर्नुपर्छ ।’

उनले आर्थिक रूपमा समृद्धि हाँसिल गर्न नसकिए देशभित्र ठूलो चूनौति सामना गर्नुपर्ने अवस्था रहेको पनि सुनाए । उनले भने,‘अब हामीले हाम्रो आन्तरिक उत्पादनलाई बढाउनुपर्छ । छिमेकीसँग विश्वासको आधारमा सम्बन्ध बनाएर मुलुकको राष्ट्रिय हितलाई सम्वद्र्धन र प्रवद्र्धन गर्दै जानुपर्छ ।’
सो क्रममा यादवले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था एकदमै चिन्ताजनक र संकटोन्मुख रहेको टिप्पणी गरे । उनले भने,‘आज हाम्रो देशको जुन सामाजिक, राजनीतिक र आर्थिक अवस्था छ, त्यो चिन्ताजनक र संकटोन्मुख छ । आज मुलुकमा रोजगारी गर्न नपाएर विदेश जान्छु भन्ने युवाले गोली खानुपर्ने स्थिति छ । सम्मानजनक काम देउ भन्दा, राज्य आर्थिक रुपमा यति कमजोर अवस्थामा पुगेको छ की कुनै रोजगारी दिनै सक्दैन् । युवाहरुलाई राम्रो रोजगारी र शिक्षादिक्षा दिने अवस्था छैन् ।’

अहिले देश संकटग्रस्त अवस्थामा पुग्नुमा सबै दल र खासगरी राज्य सञ्चभालनमा रहेकाहरु नै जिम्मेवार रहेको उनको आरोप छ । उनले भने,‘सबै दल, हिजोका दिनमा राज्य सञ्चालनमा रहेकाहरुले जिम्मेवारी लिनुपर्छ । यो मुलुकमा प्रचुर सम्भावना हुँदाहुँदै पनि देशको अवस्था यस्तो छ । हामीलाई प्रकृतिले वरदान दिएको छ । आजको तितो यथार्थ के छ भने यो देशमा हाम्रो भविष्य छैन भन्ने युवाहरुको मनमा छ । अहिले भैरहेको राजनीतिको केन्द्रविन्दुमा आर्थिक मुद्दा देखिएन । जसको कारण हामी पछि पर्यौं ।’

नेपालका दलहरू आन्तरिक रूपमा राजनीतिक रूपमा विभाजित हुँदा आर्थिक मुद्दा ओझेलमा परेको उनको टिप्पणी थियो । उनले भने,‘राष्ट्रिय हितका कुरा बिर्सियौं । एक अर्कामा आरोप लगाउने काम भयो । ०७२ मा संविधान जारी भयो, आज ८ वर्ष भैसकेको छ । संविधानमा भएका प्रावधानहरुलाई कानून र ऐन बनाएर संस्थागत गर्नुपर्ने थियो, त्यो काम पनि भएको छैन् । व्यापार घाटा धेरै छ। यो मुलुक आयातको मात्र केन्द्रविन्दु भएको छ । यसले हामी दिनप्रदिदिन कमजोर भएका छौं ।’

बहुदलीय व्यवस्थामा जहिलेपनि सरकार असफल भयो भने वेटिङ गभर्मेन्ट पनि छ है भनेर प्रमुख प्रतिपक्षी दललाई हेरिने गरिएको भएपनि अहिले प्रमुख प्रतिपक्षी दल पनि नदेखिएको उनको टिप्पणी छ । उनले भने,‘व्यवस्थालाई नै विरोध गर्ने परिपाटी देखियो । यो एकदमै डरलाग्दो कुरा हो ।’

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया