१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्ड-ओली मिलाउने कसरत


January 2, 2024
1.4k
Shares

काठमाडौं, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एक अर्काको विरोधमा खुलेरै लाग्छन् । माओवादी सशस्त्र हिंसाका बेला ओली प्रचण्डका कटु आलोचक थिए । शान्ति प्रक्रियाको सुरुवाती वर्षहरुमा ओली प्रचण्डविरुद्ध आक्रामक नै बनेका थिए । तर, २०७४ को चुनावअघि ओलीले प्रचण्डसँग हातेमालो गरेर सबैलाई आश्चर्यचकित पारे ।

एक अर्काविरुद्ध जतिसुकै विरोधमा उत्रिएपनि प्रचण्ड र ओलीको सगमस्थलहरु धेरै छन् । दुवै कम्युनिस्ट नेता हुन् । जसका कारण दुवैले नेकपा समेत बनाएर संयुक्त अध्यक्ष बने । प्रधानमन्त्रीमा आधा आधाको सहमति गरे । सहमति अनुसार नभएपछि सत्ताको लडाईं चल्यो । जसमा ओलीले धक्का खाए ।
२०७९ को चुनावमा ओली एक्लो परे । प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासँग हात मिलाए । एमाले छाडेर नेकपा एस गठन गरेका माधव नेपाल पनि प्रचण्डसँग मिले । चुनावमा ओली नेतृत्वको एमालेले ठूलो धक्का खायो । तर, सत्ताको खेलले प्रचण्ड र ओलीलाई फेरि एकै ठाउँमा पुर्यायो । तर, त्यो पनि लामो समय टिकेन । प्रचण्ड फेरि देउवासँगै हात मिलाउन पुगे ।

प्रचण्डले एक वर्ष सत्ता सञ्चालन गरिसकेका छन् । यस क्रममा उनले विरोधी तह लगाउने गरी भ्रष्टाचारका घटना उठाए । माओवादी छाडेर एमालेमा लागेका टोपबहादुर रायमाझी जेल हालिए । एमाले पक्षका व्यापारीहरु समस्यामा पारिए । ओली निकै छटपटिए त्यसपछि ।

एनसेल प्रकरणमा प्रचण्डले ओलीलाई समेत बोल्न नसक्ने बनाइदिए । उनले यो प्रकरणमा ओली र देउवा समेतको संलग्नता रहेको संकेत गर्ने गरी संसदीय समितिमै बोले । यो घटना सामसुम पार्न खोजिएको छ । टेरामेक्स घोटाला प्रकरणमा अख्तियारबाट मुद्या रोक्ने चलखेल शीर्ष नेताकै तहमा चलिरहेको छ । यो प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्की, मोहन बस्नेत देखि गोकुल बाँस्कोटा मात्र नभई वर्तमान मुख्यसचिव बैकुण्ठ अर्याल पनि जोडिएका छन् । यसमा पनि ठूलै राजनीतिक लेनदेनको खेल चलिरहेको छ ।

सोमबार प्रचण्ड र ओलीबीच ४५ मिनेट भेटवार्ता भएको छ । यो भेट अर्थपूर्ण छ । सत्ता गठबन्धन यताउता पार्ने खेल चलिरहँदा ओली प्रचण्डलाई भेट्न पुगेका हुन् । राष्ट्रिय सभाको चुनाव पनि हुँदैछ । यो चुनावमा एमाले धक्का खाने अवस्थामा छ । गठबन्धनका सबै उम्मेदवार जित्ने परिस्थिति छ । ओलीलाई राष्ट्रिय सभामा केही सदस्य दिएर राजनीतिक लाभ लिने रणनीतिमा छन् प्रचण्ड ।

सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा पनि भागवण्डा भएको खुलिसकेको छ । ६ न्यायाधीश नियुक्तिमा एमालेलाई पनि चित्त बुझाउने गरी भित्री सहमति गर्न प्रचण्ड सफल भए । यसरी ओली विस्तारै प्रचण्डसँग नजिकिदै गएका छन् ।

सत्ता गठबन्धन भत्काउन निकै कठिन पर्ने देखिसकेका छन् ओलीले । यसकारण उनी जतिसक्दो लाभ लिने गरी सक्रिय छन् । यसरी दुवै नेता नजिकिदै गइरहेका छन् ।

प्रचण्ड र ओलीलाई मिलाउन बाह्य शक्ति पनि सक्रिय छ । विशेषगरी चीनले विभिन्न कोणबाट प्रयास गरिरहेको छ । माओवादी र एमालेका नेताहरुको चीन दौडधूप तिव्र छ । उनीहरुनिकट बुद्धिजिवि र विभिन्न संस्थाका अधिकारीहरु पनि हरेक हप्ताजसो चीन गइरहेका छन् । चीनले विगतमा पनि प्रचण्ड र ओलीलाई मिलाएको खुलाइसकेको छ । दुवैलाई नेकपा नफुटाउन चीनले दबाब दिएको थियो तर त्यो काम लागेन ।

अहिले फेरि चीनको सक्रियता ओली र प्रचण्डलाई मिलाउने दिशामा छ । सम्पर्क माध्यममार्फत् पनि यी दुई नजिकिदैछन् । ओली र प्रचण्डले आफूहरु नमिले नयाँ शक्तिको चुनौती सामना गर्न नसक्ने निष्कर्ष निकालिसकेका छन् ।

अबको चुनावसम्म नेपाली काँग्रेस र राप्रपा जस्ता गैरकम्युनिस्ट शक्ति निकै कमजोर भइसक्ने परिस्थिति विकास भइरहेको छ । काँग्रेसकै नेताहरु आगामी चुनावमा पत्तासाफ हुनुपर्ने खतरा औल्याइरहेका छन् । कम्युनिस्टहरुका पुराना कार्यकर्ताले नयाँ शक्तिको केही सामना गर्ने अवस्था रहला । तर, त्यो पनि सजिलो छैन । अबको चुनावसमम उदयीमान नयाँ शक्तिहरु हावी हुन सक्छन् । जसको सामना गर्न पनि ओली र प्रचण्ड मिल्ने अवस्था बन्न सक्छ । यसैकारण पनि उनीहरु नजिकिदै छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया