१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चाँगुका मेयरले डेढ वर्षमा जनताका लागि के के गरे


December 25, 2023
83
Shares

काठमाडौं, ९ पुस । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्ना नगरवासीलाई निःशुल्क रगत वितरण गर्न  थालेको धेरै भइसकेको छ । बागमती प्रदेशको विपन्न नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णयअनुसार काम अगाडी बढाएको मेयर जीवन खत्रीले बताए ।

“बिरामी भएर जसलाई रगतको आवश्यकता पर्छ,उनीहरुलाई रगत कसरी लिने,कहाँ लिने, कुन समुहको लिने एकदम झन्झट हुन्थ्यो, कसैले पैसा तिरेर पनि रगत नपाउने अवस्थामा बिरामीहरु छटपटाएका हुन्थे ।’ उनले भने,‘आम सर्वसाधारणलाई त्यस्तो अवस्थाबाट मुक्त दिन नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर तुरुन्तै निःशुल्क रुपमा उपलब्ध गर्ने निर्णय पहिलो नगरसभाले गरेको हो ।’

नेपाली पेन डटकमसँग कुरा गर्दै मेयर खत्रीले आफ्नो नगरपालिकाले विगतमा ५० प्रतिशत स्वास्थ्य बीमा दिने गरेकोमा त्यसलाई सुधार गर्दै अवस्था कमजोर हुनेले कत्ति पनि नतिरी निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको सुनाए । ‘हुनेले ५० प्रतिशत पनि नलिने र नहुनेले त्यो पनि नपाउने अवस्थाको अन्त्य गरेका छौं ।’ खत्रीले सुनाए ।

त्यसैगरी नगरपालिकाले संघीय सरकारको तर्फबाट ८० प्रतिशत र नगरपालिकाको २० प्रतिशत थप गरेर पशु बीमा पनि निःशुल्क गरेको छ । स्वास प्रश्वासका बिरामीलाई मध्यनजर गर्दै नगरले अक्सिजन प्लान्ट पनि चाँगुनारायण अस्पतालमा जडान गरेको छ । त्यसबाट पनि आम नागरिकहरुलाई निःशुल्क उपचार गरेर सेवा दिइरहेको खत्रीले बताए ।

चाँगुनारायण पुरानो परम्परा, इतिहास, कला संस्कृति बोकेको चर्चित धार्मिक क्षेत्र पनि हो । जसलाई विश्वसुचीमा राखिएको छ,कला सस्कृतिले सम्पन्न चाँगुमा आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न आउने गर्छन् । आफ्नो क्षेत्र विकासको लागि चाँगुनारायण नगरपालिकाले २०८२ नगरकोट भ्रमण वर्ष मनाउने समेत निर्णय गरेको छ ।

नगरप्रमुख खत्रीले भने, ‘२०८२ वर्षभित्रमा चाँगु नारायण नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्म पर्यटकहरुलाई धार्मिक,ऐतिहासिक,कला संस्कृति,परम्परा,रितिरिवाज,त्यहाँका हरेक सांस्कृतिक चिजहरुलाई देखाउने,उनीहरुलाई पुराउनको लागि आवश्यक पुर्वाधार तयार गर्ने,बाटोघाटोदेखि विभिन्न सुविधायुक्त ठाउँहरु र दृश्यवलोकन गर्ने क्षेत्र सबैलाई पुर्वाधार निर्माण गर्ने लक्ष्यका साथ भ्रमण वर्ष २०८२ मनाउन लागिरहेका छौं ।’

 

स्वास्थ्य क्षेत्रको विकासको लागि नगरवासीहरुलाई विभिन्न सेवा दिएको उनको भनाइ छ । खत्रीले आफु निर्वाचित भएपछि नगरले ज्येष्ठ नागरिक सदस्यहरुलाई घर–घरमै गएर स्वास्थ्य परिक्षण गराउने,चाँगुनारायण अस्पतालमार्फत स्वास्थ्य बीमाको उपचार सेवा दिन थालनी गरेको सुनाए । ‘चाँगुको शैक्षिक क्षेत्रको वृद्धि विकासको लागि विभिन्न कामहरु गरिरहेका छौं ।’-उनले भने ।

खेलकुदलाई प्राथमिकतामा राखेर नगर खेलकुद समिति गठन गरेर प्रथम र दोस्रो प्रतियोगिता समेत नगरले सम्पन्न गरिसकेको छ । पालिकाले खेलाडीहरुको वृत्ति विकासको लागि विभिन्न वडामा निःशुल्क खेलकुद प्रशिक्षण पनि सञ्चालन गर्दै आएको छ ।

नगरभित्रका जनताका अपेक्षा केही पुरा गरेको, केही वाचा पुरा हुने प्रक्रियामा रहेको खत्रीले जानकारी दिए । जनताले आफुमाथी राखेका अपेक्षाहरु पुरा हुन भने अझै केही समय पनि लाग्ने भन्दै उनले भने,‘हामी प्रयासरत हुनेछौं । नगरसँग भएको सिमित स्रोत साधनलाई बढी भन्दा बढी प्रयोग गरेर नगरवासीको हितको लागि प्रयोग गर्न निरन्तर रुपले लागिरहेका छौं ।’

मेयर खत्री निर्वाचित भएपछि पालिकाको २ वटा नगरसभा सम्पन्न भएको छ । पहिलो नगरसभाले पारित गरेको नीति, कार्यक्रम र बजेट उपत्यकाकै सर्वोत्कृष्ट कार्यान्वयन गर्ने पालिकामा परेको पनि उनले बताए । नगरले दोस्रो नगरसभामा पनि जनताले अपेक्षा गरेका अल्पकालिन,दिर्घकालिन र मध्यकालिन गरी ३ तहको कार्ययोजना गराएको छ । सो योजना कार्यान्वयनका लागि निरन्तर खटिरहेको उनले सुनाए ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया