दुरदर्शी किशुनजी
समाचार विश्लेषण । नेपाली राजनीतिका शिखरपुरुष कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्ती आज पुस ८ मा । भट्टराई त्याग र तपस्यले भरिएको जीवन बिताएर बिदा भए । तर, उनी सदा स्मरणीय रहेका छन् ।
१९८१ पुस ८ मा जन्मिएका भट्टराईको २० फागुन २०६७ मा निधन भयो । उनी कठिन घडीमा पनि सिद्धान्तबाट विचलित भएनन् । राणा, निरंकुश राजतन्त्र र लोकतन्त्रमा मनपरीतन्त्रविरुद्ध संघर्ष गरिरहे ।
तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिंदा भट्टराईले शालिन भाषामा विनाशको बाटो समातेको प्रतिक्रिया दिएका थिए । ठट्यौली पारामा प्रस्तुत भएर पार्टी र देश चलाउने खुबी राख्दथे ।
२०४७ सालको संविधान निर्माणको श्रेय किशुनजीलाई जान्छ । तत्कालीन सेनापति शच्चित शमशेर जबरा जर्नेलहरु बोकेर राजाको अधिकारी संविधानमा बढाउन पुग्दा किशुनजीले ठट्यौली गर्दै फर्काइदिएका थिए ।
नेपाली काँग्रेसले राष्ट्रवादलाई प्राथमिकतामा राख्नुपर्ने र देशको हितमा राजनीतिक प्रणाली रहनुपर्ने पक्षका थिए उनी । देशमा हिन्दुराष्ट्र कायमै हुनुपर्ने र सेरेमोनियल राजसंस्था हुनुपर्ने अडान राख्थे । नेपाल राष्ट्रको दुरगामी हितका लागि यी विषय अनिवार्य रहेको उनको तर्क थियो । त्यसैले २०४७ को संविधानमा यी विषयहरु स्पष्ट उल्लेख गरे ।
भट्टराईले जीवनको अन्तिम समयतिर काँग्रेस नै छाडे । काँग्रेस सिद्धान्तबाट विचलित भएकोमा उनको आपत्ति थियो । उनले छाडेको काँग्रेस अहिले कम्युनिष्ट जस्तै भएको छ । किशुनजी दुरदर्शी थिए भन्ने काँग्रेस र देशको अहिलेको हालतबाट बुझ्न सकिन्छ ।
जीवनमा आफूभन्दा माथि उठेर देश र समाजको हितमा भट्टराई समर्पित भए । प्रधानमन्त्री भएपछि पनि सामान्य जीवनयापन गरे । बालुवाटारबाट प्रधानमन्त्रीबाट बिदा भई निस्कदा सुराई र ट्यांका अनि छाता लिएर ट्याक्सीमा चढेका थिए ।
रोचक त यो छ कि सन्त नेता कृष्णप्रसाद भट्टराईलाई दुई दुई पटक चुनावमा हराइएको थियो । योजनावद्ध रुपमा हराइएका भट्टराई कहिले विचलित भएनन् ।
लोभीपापीहरुप्रति इंकित गर्दै भट्टराई भन्ने गर्थेः मलाई थाहा छ म फेरि प्रधानमन्त्री बन्दिनँ तर बन्दिनँ भनेमा लोभीपापीको भीडले मलाई वास्ता गर्नै छाड्छन् ।