१२ पुस २०८१, शुक्रबार | December 27, 2024

‘बैंक तथा वित्तिय संस्थाहरु मनोमानी ढंगले चल्दा उद्योग व्यवसायी सडकमा’


December 21, 2023
4.7k
Shares

काठमाडौं, ५ पुस । राजनीतिक विश्लेषक तथा लेखक प्रकाश रायमाझीले नेपालमा बैंक तथा वित्तिय संस्थाहरु मनोमानी ढंगले चलेको आरोप लगाएका  छन् । एक टेलिभिजनको कार्यक्रममा बिहीबार पत्रकारसँग बोल्दै रायमाझीले यस्तो टिप्पणी गरेका हुन् ।

बैंकले ऋणिहरुलाई कर्जा दिँदा पनि कमिसन लिने र उद्योग धन्दाहरु धराशयी बनाउने काम गरेको उनको भनाइ छ । “बैंकले ऋणिहरुलाई दिने कर्जामा पनि कमिसन लिने गर्छन् । ऋण लिंदा ८/१० प्रतिशतमा सम्झौता हुन्छ, त्यसको प्रिमियम जोड्ने,अनेक किसिमका चर्को ब्याज थप्दै जाने १८/२० प्रतिशत पनि लिने गरेर उद्योग व्यवसायीहरुलाई धराशायी बनाउने काम बैंकहरुले गरेका छन् ।”–उनले भने ।

बैंकबाट करौडौंको जग्गा धितो राखेर एकजनाले ५०/६० लाख ऋण लिएपनि बैंकले अनेक झमेला गरेर दुख दिने गरेको उनले बताए । उनले भने,“बैंकबाट करौडौंको जग्गा धितो राखेर  ऋण लिएको हुन्छ, त्यसमा पनि अनेक प्रकारका बखेडा खडा गर्ने र बैंकहरुले दुःख दिने गरेका छन् । बैंकले धितो र जग्गा लिलाम गरिदिन्छु भनी त्रसाउने,धम्काउने र परिवारलाई टर्चर दिने काम पनि गर्छ ।”

बैंकको टर्चरले गर्दा उद्योगी व्यवसायीहरुको मानसिक र शारिरीक रुपमा मनोवैज्ञानिक रुपमा असर गरेर आत्महत्याको स्थितिमा पुगेको बताए । “धम्कीले मानसिक ,शारिरीक  र  मनोवैज्ञानिक रुपमा असर गर्छ,जसको कारण आत्महत्या गर्नुपर्ने जस्तो स्थिति नेपालमा आएको छ ।”–विश्लेषक रायमाझीले भने ।

बैंक तथा वित्तिय संस्थाहरुले कर्जा प्रवाह गर्दा गरेकै सम्झौता अनुसार ब्याज लिनुपर्ने उनको भनाइ छ ।  बैंकहरुले थप ब्याज लिएको भन्दै त्यो ब्याज हटाउनुपर्नेमा उनले जोड दिए । उनले भने, –“बैंकहरुले ६/७ प्रतिशत भन्दा बढी ब्याज लिन हुँदैन् । अहिले १८/२० प्रतिशत छ र राष्ट्र बैंकले पछिल्लो समयमा केही घटाउने प्रयत्न गरेको छ तर त्यो पनि गलत हो ।”

नेपालको वस्तुस्थिति अनुसार नीजि बैंकहरुले मौका दिनुपर्ने भन्दै उनले भने,–“ नेपालको वस्तुस्थिति,रोजगार स्वरोजगारहरुलाई काम दिनको निमित्त प्राइवेट बैंकहरुले मौका दिनुपर्छ । ५/७ प्रतिशत ब्याजमा दिएर १०/१५ वर्षको प्रोजेक्ट हामीले दियौं भने स्वरोजगारहरुले काम गर्न सक्छ,काम गरे बापतको बैंकमा ब्याज पनि तिर्न सक्छन् र सरकारलाई कर पनि तिर्छ र आफु पनि जीवन गुजार्छ । अहिले आफु पनि काम नगर्ने अवस्था छ, भएको जायजेथा बैंकले लिलाम गर्ने अवस्थामा पुगेको छ, उद्योग व्यवसायीहरुको धन्दा सबै बन्द छ । यस्तो अवस्थामा बैंक मात्र मोटाउने ?”

लेखक समेत रहेका रायमाझीले बैंकमा सर्वसाधारणले सम्पत्ति धितो राख्ने र त्यसको फाइदा भने बैंकले मात्र लिने गरेको उनले बताए । बैंकमा सम्पत्ति धितो राख्ने उद्योगी व्यवसायी र सर्वसाधारणको अवस्था भने सडकमा आएको भन्दै त्यस्तो अवस्थामा पुग्नु दर्दनाक भएको बताए । “बैंकमा सम्पत्ति धितो राख्छौं, हरेक वर्ष सधै बैंकहरुका साधारण सभामा हजारौं नाफा सञ्चालकले लिन्छन् । तर आम मानिस वा जो बैंकमा सरोकार राख्छन्, ऋण लिन्छन् उनीहरुको अवस्था चाँही दर्दनाक छ, उनीहरु सडकमा आउनु दुर्भाग्य हो ।”–उनले भने । बैंक नीजि होस् वा सरकारी उद्योगपतिसँग नङ र मासुको सम्बन्ध हुनुपर्ने उनको भनाइ छ ।

बैंकहरुले सामन्तीको भूमिका निभाइरहेको आरोप लगाउँदै विश्लेषक रायमाझीले भने,“जथाभावी ऋण दिने, ऋण दिंदा अनावश्यक, अनेक किसिमका शर्तहरु राख्ने, प्रोजेक्टको पुरा ऋण पनि दिएको हुँदैन् १५/२० प्रतिशत मात्र दिन्छ, बाँकी पैसा थप्दै जान्छ । बैंकमा राखेको करोडौंको धितो २०/२५ लाखमा पनि लिलाम गराइदिन्छ र आफैले सकारेर अरबौंमा बेच्छ त्यसकारण उद्योग व्यवसायीहरु सडकमा आइरहेका छन् ।”

प्रतिक्रिया