३ आश्विन २०८१, बिहिबार | September 19, 2024

चीन संलग्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अरबौं भ्रष्टाचार, अख्तियारले बढायो अनुसन्धान


November 7, 2023
0
Shares

काठमाडौं, २१ कात्तिक । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण यसै पनि विवादमा परेको छ । यो विमानस्थल निर्माणको जस चीनले लिदै आएको छ । यसले यो परियोजना बेल्ट एण्ड रोड इनिशिएटिभ बीआरआई अन्तर्गत दाबी गरेको छ ।

चीनको एक्जिम बैंकको ऋणमा बनेको हो पोखरा विमानस्थल । सुरुमा १२ अर्ब लागतमा निर्माण पूरा गर्ने भनिएकोमा २४ अर्ब पुर्याइयो । लागत बढाएर भ्रष्टाचार गरेको आशंकामा अख्तियारले छानबिन बढाएको छ ।

अख्तियारले पोखरा विमानस्थल निर्माणसँग सम्बन्धित कर्मचारी र ठेकेदारहरुको समेत फाइल खोलेको छ । कतिपयको बैंक खाता रोक्का गरिसकेको छ ।

चीनको ऋण र चीनकै सीएएमसी इन्जिनियरिङ कम्पनीले निर्माणको जिम्मा पाउनु सेटिङ नै थियो । नेपाली ठेकेदार कम्पनी क्षमादेवी कन्स्ट्रसनलाई संयुक्त ठेक्कामा संलग्न गराइएको थियो यसमा । निर्माणमा ठूलो भ्रष्टाचार भएको निष्कर्षका साथ अख्तियारले अनुसन्धान बढाइसकेको छ ।

२३ जेठ २०७३ मा सरकार र नागरिक उड्डयन प्राधिकरणबीच निर्माण सम्झौता भएको थियो । चीनको एक्जिम बै)कबाट २ प्रतिशत ब्याजदरमा २२ अर्ब ऋण प्राप्त भएको थियो । २ अर्ब अनुदान उल्लेख छ । सम्झौता अनुसार सात वर्षसम्म २ प्रतिशतका दरले ब्याज मात्र तिर्ने उल्लेख छ । यसको अर्थ वार्षिक ४४ करोड ब्याज तिर्नुपर्ने हुन्छ । सात वर्षपछि २६ किस्तामा साँवा समेत चुक्ता गर्नुपर्ने हुन्छ । तर, विमानस्थल अन्तर्राष्ट्रिय उडानमा प्रयोगमा नआउनुले ब्याज समेत तिर्न नसक्ने अवस्था बनेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा केही दलका नेताहरुको ठूलै राजनीतिक र आर्थिक स्वार्थ जोडिएको छ । नेकपा एसका नेता झलनाथ खनालका छोरा यो निर्माणमा संलग्न कम्पनीसँग जोडिएका छन् । वामदेव गौतमका छोरा पनि जोडिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पोखरा विमानस्थल निर्माणमा भूमिका खेल्ने व्यक्ति हुन् । उनी पोखरा विमानस्थल निर्माण हुँदा आयोजना प्रमुख थिए । उनी पछि प्राधिकरणका महानिर्देशक भए । अधिकारी माथि पनि छानबिन बढेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उही समयमा निर्माण भएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणभन्दा निकै बढी लागतमा बनेको छ । ७ करोड ६० लाख डलर लागतको यो विमानस्थल निर्माणमा एशियाली विकास बैंक र ओपेक फन्डको ऋण सहयोग छ । बाँकी नेपाल सरकारले लगानी गरेको छ । त्यतिबेलाको डलरको मूल्य अनुसार यो विमानस्थल निर्माणमा ११ अर्ब लागेको छ । जुन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लागतभन्दा आधा भन्दा कम हो ।

अख्तियारले निर्माण सामाग्री देखि विविध विषयमा छानबिन थालेपछि राजनीतिक तहमै तरंग आएको छ । पोखरा विमानस्थल निर्माणमा आर्थिक स्वार्थले भूमिका खेलेको र यसमा ठूलै नेताहरु भित्री रुपमा संलग्न भएको खुल्दै गएको छ ।

विमानस्थल निर्माणमा ठूलो कमिशन आउने बुझेर केही नेताहरु निजगढको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको खेलमा लागेका छन् । उनीहरुको विकास गर्ने भन्दा अरबौं हात पार्ने योजना देखिएको छ ।

प्रतिक्रिया