३१ भाद्र २०८१, सोमबार | September 17, 2024

पाण्डेको सेनापतिको मार्ग खुल्ला ?


November 3, 2023
0
Shares

काठमाडौं, १७ कात्तिक । नेपाली सेनाको भावी सेनापतिका लागि ठूलै रस्साकस्सी चलिरहेको छ । अहिलेका सेनापति प्रभुराम शर्माको २०८१ को भदौमा पदावधि सकिदैछ । उनी एक महिना अघि नै घरबिदा बस्नेछन् । उनीपछि सेनापति को हुने भन्ने अबको बढुवाले निश्चित गर्नेछ । सेनाले ताराध्वज पाण्डेको नाम रथी बढुवामा सिफारिश गरेको छ । उनलाई सरकारले बढुवा गरेमा सेनापति बन्ने मार्ग प्रशस्त हुनेछ । तर, उनको नागरिकता विवादमा परेको छ । कारण हो शैक्षिक प्रमाणपत्रमा एउटा र नागरिकतामा अर्को जन्ममिति हुनु ।

सेनामा विगतमा पनि यस्तो विवाद आयो । तर, कतिपय कारबाहीमा परे त कतिपय परेनन् । यो पनि सेनापतिको चाहनामा भर प¥यो । कुनैबेला सेनामा किर्ते प्रमाणपत्र र किर्ते नागरिकता प्रकरणमाथि एक समय आक्रामक अभियान नै छेडियो । पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा प्रमाणपत्रमा चलखेल गर्ने देखि जन्ममिति सच्याउनेहरु जागिर छाड्न वाध्य पारिए । कतिपय त कारबाहीमा नै परे । आफूलाई हुनेखाने परिवारको दाबी गर्ने उच्च सैनिक अधिकारीहरु यस्तो प्रकरणमा मुछिएको पाइयो ।

सेनामा रुक्माङ्गत कटवालले जन्ममिति सच्याएको विषय निकै चर्चामा थियो । तर, उनी सेनापति भइछाडे । उनका छोरा भने किर्ते प्रमाणपत्र प्रकरणमा परेर जागिर छाड्न वाध्य भए । पूर्णचन्द्र थापाको कार्यकालमा सेनापतिको लाइनमा रहेकाहरु नै कारबाहीमा परे । सेनामा यो कारबाहीले तरंग नै ल्यायो । सेनामा रहेका इमान्दार र सोझा अधिकृतहरु उत्साही भएका थिए । तर, अहिले एकजना जर्नेल जन्ममिति सच्याएर सेनापतिको लाइनमा बस्न ठिक्क परेका छन् । उनी तिनै ताराध्वज पाण्डे हुन् । पाण्डेले झण्डै दुई वर्ष उमेर घटाएर सेनामा भर्ना भएको खुलेको छ ।उनका बारेमा सरकारले कस्तो निर्णय लिनेछ चासो बनेको छ । प्रधानसेनापति प्रभुराम शर्माले उनको जन्ममिति सच्याइएकोमा आँखा चिम्लिदिएका छन् । आफ्नो प्रीय मानिएकालाई जसरी पनि बढाउने शैली शर्मामा पनि देखिएको छ । यसले खासै विवादमा नपरेका शर्मा पनि विवादमा परेका छन् ।

हालैमात्र रथी सरोजप्रताप राणा कात्तिक १२ गते अवकाशमा गइसकेका छन् । उनको सेवावधि थप भएन । सेनाले दुई हप्ता अघि नै ताराध्वज पाण्डेको बढुवा सिफारिश गरिसकेको छ । तर, उनले जन्ममिति सच्याएको विषयले सरकार अप्ठ्यारोमा परेको छ । रोचक त यो छ कि पाण्डेले २०४३ मा सेनामा भर्ना हुँदा २०२३ मंसिर १३ को जन्ममिति बनाएको खुलेको छ । जब कि उनको शैक्षिक प्रमाणपत्रहरुमा २०२१ माघ १२ गते जन्मिएको उल्लेख छ । शैक्षिक प्रमाणपत्रमा एउटा र नागरिकतामा अर्को जन्ममिति हुनुले पाण्डे विवादमा परेका छन् । उनलाई चिन्ने जान्ने र नजिकका नातेदारले समेत उनी २०२१ मा जन्मिएको बताउने गरेका छन् । शैक्षिक प्रमाणपत्रमा भन्दा नागरिकतामा कम उमेर दखाउनुले उनको दुईवटा नागरिकता समेतको चर्चा छ ।

नियमानुसार शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरक जन्ममिति देखिएमा जुन उमेरमा बढी हो त्यही सदर हुने नजिर बनिसकेको छ । तर, पाण्डेको हकमा सरकारले के गर्ने हो प्रतिक्षाको विषय बनेको छ । जन्ममिति प्रकरण आएपछि पाण्डेले सारा शक्ति यसलाई छोप्न लगाइरहेका छन् । तर, उनको शैक्षिक संस्थाहरुमा हाल रहेको जन्ममिति सच्चिने अवस्था छैन । पाण्डेले मात्र नभई यसअघि कतिपय जर्नेलले पनि जागिर खान यस्तै हर्कत गरे । कति कारबाहीमा परे त कति माथिल्ला अधिकृतको निगाहमा जोगिए । सेनामा यस्तै प्रवृत्तिले क्षमतावान अधिकृतहरु पाखा लगाइएका छन् ।

प्रतिक्रिया