७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

३६५ दिन दशैं मनाउने दशैं विरोधीहरु


October 6, 2023
0
Shares

डा. दीपेश केसीः दशैं नजिकिदै गर्दा एकथरी नेताहरु देशमा बिदा धेरै भयो भनेर चिन्ता देखाउन थालेका छन् । यसरी चिन्ता देखाउनेमा पूर्वप्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल अगाडि छन् । उनीहरु गैरहिन्दुको कार्यक्रममा सबैभन्दा बढी सहभागी हुनेमध्येका हुन् । गैरहिन्दुको चाँडपर्वमा बिदा दिलाएर उनीहरुको कार्यक्रममा गर्वका साथ उपस्थित हुनेहरु हिन्दुको चाँडपर्वमा बिदा घटाउनुपर्छ भन्दै आवाज बढाइरहेका छन् ।

बाबुराम भट्टराई र माधव नेपाल दुवै कम्युनिस्ट पृष्ठभूमिका हुन् । बाबुरामले त माओवादी सशस्त्र गतिविधिको योजना नै बुनेका थिए । उक्त सशस्त्र गतिविधिको तारो हिन्दू नै थिए भन्ने घटनाक्रमले पुष्टि गर्दै लगेको छ । माधव नेपाल त होली वाइन भनिने युनिभर्शल पिस फेडरेशन नामक इशाईसम्वद्ध संस्थासँग जोडिएका छन् । उनीहरुले दशैं आयो कि बिदा धेरै भयो भन्नुलाई अन्यथा मान्न सकिंदैन । तर, उनीहरुले के चाहिं बुझ्नुपर्छ भने कम्युनिस्ट सत्ता लामो समयसँग चल्दा पनि पश्चिम बँगालमा दशैंको लामो बिदा कहिले कटौती भएन । धर्मसंस्कृति र चाँडबाँडमाथि प्रहार गर्ने साहस बँगालका कम्युनिस्ट नेताहरुले पनि कहिले गरेनन् । तर, बाबुराम र माधव नेपालहरु हिन्दुमाथि निरन्तर प्रहारको आँट किन गरिरहेका छन् ? यो निकै गहिरिएर केलाउनुपर्ने विषय बनेको छ ।

वास्तवमा दशैं हिन्दूहरुको सबैभन्दा महत्वपूर्ण चाँड हो । नेपालमा हिन्दू मात्र नभई अन्य धर्मालम्बीले पनि दशैं आफ्नै तरिकाले मनाउने गर्छन् । नेपालीहरुले सबैभन्दा लामो बिदा पाउने भनेकै दशैंमा हो । विशेषगरी विपन्न आर्थिक अवस्थाका जनताले पनि दशैं मनाउने गर्छन् । रुखोसुखो खाएर भएपनि चाँडबाँड हर्षोल्लासका साथ मनाउँछन् । उनीहरुका लागि वर्षमा दुई तीनपटकका चाँडबाँड नै महत्वपूर्ण हुन्छन् । १० दिन नागरिकले दशैं मनाउँदा पनि बाबुराम र माधव नेपालहरुलाई किन पेट पोलिरहेको हो ? उनीहरुका लागि त वर्षको ३६५ दिन नै दशैं जस्तै हो । चुल्होमा सधैं मीठो मसिना पाकेकै हुन्छ । कतिपय नेताले त सात पुस्तालाई पुग्ने गरी आर्जन गरिसकेका छन् । उनीहरुले कमाएको धन मात्र जोगाउने हो भने कैयन पुस्तालाई सुतेर खाए पुग्छ । त्यस्तै प्रवृत्तिका नेतालाई जनताले चाँडबाँड मनाएकोमा पनि पेट पोल्न थालेको छ ।

नेपालमा राजनीतिक पदलाई शक्तिको दुरुपयोग गरी २० पुस्ताका लागि धन जोहो गर्ने माध्यम बनाइएको छ । देशको प्रधानमन्त्री र शक्तिशाली मन्त्री बनेकाहरुको जीवनशैली सामान्य छैन । उनीहरु एकपटक पदमा पुगेपछि राज्यबाट जीवनभर सुविधा लिन्छन् । कतिपय यस्ता सुविधाहरु कानूनबाट वर्जित छन् । पदमा बसेकाहरुले आफ्ना सन्तानलाई विचौलिया बनाएर धन आर्जनमा लगाएको ललिता निवास प्रकरण, भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण जस्ता घटनाले छताछुल्ल पारेको छ । यी सबै हुनुमा राजधर्म विपरितको गतिविधि हो । धर्म छाड्ने र धर्मविरुद्ध गतिविधि गर्ने नेताहरु नैतिक रुपमा पतन हुन्छन् । तिनले त भ्रष्टाचार गरेकै हुन्छन् सन्तानलाई पनि त्यही सिकाउँछन् । वर्षमा ३६५ महिना नै दशैं जस्तै मस्तीको जीवन बिताउन थाल्छन् । अनि आफूचाहिं जनताले दशैं तिहारमा बिदा पाएकोमा पनि रिस गर्न थाल्छन् ।

एकाथरी समूह दशैं आयो कि पशु अधिकारको आवाज निकाल्न थाल्छन् । दशैंमा खसीबोका, राँगाको अधिक बली चढ्ने गरेको छ । तर, के अन्य धर्मालम्बीको चाँडबाँडमा पशु हत्या गरी मनाइँदैन ? त्यतिबेला उनीहरु केही बोल्दैनन् ? बलीप्रथाको विरोध गर्नेहरु आफै होटलमा प्लेटभरी मासु लिएर खाइरहेको दृश्य सामाजिक सञ्जालमा आइसकेको छ । यसबाट त्यस्ता समूहको उद्देश्य बुझ्न सकिन्छ ।
अहिले दशैं तिहारको मौका पारेर कालोबजारी सलबलाएका छन् । चिनी लुकाउन थालेका छन् । दाल, चामल जस्ता उपभोग्य सामाग्रीको कृत्तिम मूल्य बढाइरहेका छन् । त्यसतर्फ, कमरेड माधव नेपाल र भुतपूर्व कमरेड बाबुराम भट्टराई चुइक्क बोल्दैनन् ? दशैं आयो कि कालोबजारी गराउन कम्युनिस्ट सरकारहरु उद्धत रहन्छन् । यसबाट सरकारमा बस्नेहरुले कालोबजारी गर्नेबाट पैसा पाउँछन् र हिन्दूको चाँडलाई समेत मान्न नसक्ने गरी जनतालाई विचलित बनाउने दोहोरो योजना बुन्ने गर्छन् । कालोबजारी बढ्दा प्रचण्ड नेतृत्वको सरकार आँखा चिम्लिएर मात्र बसेको छैन त्यसलाई प्रश्रय दिइरहेको छ । यसतर्फ, दशैं विरोधीहरुले नबोल्नु स्वाभाविक नै हो ।

दशैं आयो कि हिन्दुमाथि आक्रमणको घटना हुने गरेको छ । हिन्दुहरुलाई सदभाव कायम गर्न आव्हान गर्ने सम्मको हाँस्यास्पद गतिविधि हुने गरेको छ । ४ प्रतिशत मुसलमानको लागि देशमा मस्जिद र मदरसा च्याउसरी बनिरहेका छन् । १ प्रतिशत इशाईको लागि गाँवै पिच्छे चर्च बनिरहेका छन् । हिन्दुको मन्दिर सामुन्ने चर्च बनाउने सम्मको गतिविधि भएको छ । यसमा पनि हिन्दुले सहिष्णुता देखाएका छन् । आफ्नो धार्मिक कार्यक्रम गर्दा भएको आक्रमणलाई पनि सहेकै छन् । काठमाडौंको मुटुमा मस्जिद छ । चर्चहरु पनि बनिरहेका छन् । हिन्दुले त्यसमा कुनै अवरोध गरेका छैनन् । नेपालका हिन्दु जतिको सहिष्णु विश्वमा कुनै धर्मालम्बी छैनन् । यति हुँदा पनि हिन्दुलाई सहिष्णुताको पाठ सिकाउन खोजिएको छ ।

प्रतिक्रिया