५ माघ २०८१, शनिबार | January 18, 2025

बालेन, हर्क र रविको के होला ?


September 3, 2023
0
Shares

काठमाडौं, १८ भाद्र । राजनीतिमा एकाएक उदाएको देखिएपनि बालेन साह, हर्क साम्पाङ र रवि लामिछानेको लामो तयारी थियो भन्ने घटनाक्रमले देखाइसकेको छ । बालेन र हर्क त विगतमा चुनाव लडेर हारेका थिए । त्यतिबेला उनीहरु खासै चासोमा परेनन् पनि ।

मुख्य दलहरुप्रतिको वितृष्णा र चुनावमा टिकट खरिद विक्रीको वास्तविकता छताछुल्ल भएपछि जनताले ठूलो धक्का दिने अवस्था बनिसकेको थियो । यही अवस्थालाई आफू अनुकूल लाभ लिन सके बालेन र हर्कले । जनअसन्तुष्टि बुझेका रवि लामिछानेले पनि मौकामा दल खोले । उनको दलले चौंथो स्थान हासिल गर्न सक्यो ।

राजनीतिक सफलता हासिल गरेपछि बालेन, हर्क र रवि तीनैजना चासोमा मात्र परेनन् विवादमा पनि आए । बालेन साह कहिले सिंहदरबारभित्र फोहोर नउठाउने भन्नथाले त कहिले अदालतविरुद्ध बोल्न थाले । हुँदा हुँदा उनी सिंहदरबार जलाउँछु भन्ने थाले । यी अभिव्यक्तिले उनलाई ठूलो विवादमा पार्यो ।

हर्क साम्पाङ धार्मिक विवाद बढाउने भूमिका निभाउन थाले । शुरुमा दलहरुलाई गाली गर्ने उनी हिन्दुप्रति अनुदार हुन थाले । धरान गोरुकाण्डको केन्द्रर्बिन्दु बन्यो । उनले मन्दिर अगाडि चर्च बनाएर विवाद बढाए । एकपछि अर्को विवादास्पद अभिव्यक्ति र क्रियाकलापले हर्कलाई पनि समस्यामा पार्यो ।

रवि लामिछानेको नागरिकता विवाद पर्यो । उनी फेरि चुनाव लडेर संसदमा त पसे तर विस्तारै कमजोर अभिव्यक्ति दिन थाले । उनी पनि गोरुकाण्डमा दिएको अभिव्यक्तिले विवादमा परे । रविको भूमिकाप्रति आशंकाहरु बढ्न थाल्यो ।

राजनीतिमा एकाएक उदाएको देखिएपनि लामो योजनाबाट आएका बालेन, हर्क र रविको उदय उस्तै प्रकारको देखिन्छ । उनीहरुको भूमिकामा पनि निकै समानताहरु देखिनथालेको छ । पछिल्लो घटनाले उनीहरुलाई यति विवादमा पारिसकेको छ कि आगामी चुनावसम्म अहिलेको लोकप्रीयता जोगाइराख्न कठिन पर्न सक्छ ।

प्रतिक्रिया