३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सुनिल पौडेलले भ्रष्टाचार गरेको अख्तियारको निष्कर्ष, मुख्यसचिव देखि राष्ट्रपतिका सल्लाहकारसम्म तानिए


September 3, 2023
0
Shares

काठमाडौं, १८ भाद्र । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले भ्रष्टाचार गरेको निष्कर्षमा अख्तियार पुगेको छ । अख्तियारले नेसनल पेमेन्ट गेटवे घोटालामा सुनिल पौडेलले राज्यलाई २५ करोड क्षति पुर्याएको निष्कर्ष निकालेको छ । यससँग जोडिएका व्यक्तिहरुसँग बयान लिएपछि अख्तियारले कुनैपनि बेला मुद्याको तयारी गरेको छ ।

अख्तियारले हालका मुख्यसचिव तथा तत्कालीन सञ्चार सचिव बैकुण्ठ प्रसाद अर्यालसँग पनि बयान लिएको छ । अर्यालले सञ्चार सचिवका रुपमा नेसनल पेमेन्ट गेटवेसम्बन्धी नीतिगत निर्णय गर्दा निर्देशक समितिको संयोजकको भूमिका निभाएका थिए । यो प्रकरणमा तत्कालीन गर्भनर चिरञ्जीवी नेपाललाई पनि बयानका लागि बोलाउने भएको छ ।

राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठलगायतसँग पनि बयान लिइसकेको छ । सम्बन्धित व्यक्तिहरुसँग बयान लिएपछि सुनिलमाथि अख्तियारले विशेष अदालतमा मुद्या हाल्ने बुझिएको छ । यो प्रकरणमा अन्य व्यक्तिहरु पनि मुछिने भएका छन् । राज्यको २५ करोड डुबाइएको यो घटनामा ठूलो कमिशनको खेल भयो । खरिद गरिएको नेसनल पेमेन्ट गेटवेमार्फत् काम पनि भएको छैन ।

सुनिल पौडेल २५ करोडको खरिद हुँदा राष्ट्रिय सूचना केन्द्रका कार्यकारी निर्देशक थिए । यो खरिद प्रकरण केपी शर्मा ओली प्रधानमन्त्री र गोकुल बाँस्कोटा सञ्चारमन्त्री हुँदा भएको थियो । यसमा विकल पौडेल पनि मुछिएका छन् । उनीमाथि अख्तियारले अर्को प्रकरणमा मुद्या दायर गरिसकेको छ ।

विकल र सुनिल दुवै जोगिन ठूलो आर्थिक चलखेल गर्न खोजेका थिए । तर, चलखेल गर्दा धेरै तथ्यहरु छताछुल्ल भइसकेको छ । अब सुनिल पौडेल अख्तियारबाट कुनै हालतमा नजोगिने निश्चित भएको छ ।

प्रतिक्रिया