६ मंसिर २०८१, बिहिबार | November 22, 2024

मणिपुर द्वन्द्वबाट नेपालीले सिक्नुपर्ने पाठ 


166
Shares

श्याम खनाल: मित्रराष्ट्र भारतको उत्तरपूर्वी राज्य मणिपुरको घटनाका बारेमा हामी सबैले साँझ विहान आउने न्युज च्यानलका माध्यमले सुन्ने र देख्ने काम त पक्कै गरेका छौँ । तर त्यस किसिमको अमानवीय घटना हुनुको पृष्ठभूमिका बारेमा हामी लगभग धेरै व्यक्तिहरू अज्ञात छौँ । केही जानेका भए पनि सायद त्यस घटनाको चुरोलाई अन्तै मोडेर निर्दोषीलाई दोषी र दोषीलाई निर्दोषी देखाउने खालका झार उम्रेझैँ उम्रेका न्यूज च्यानलका माध्यमले अर्कैतिर बुझेका हुन सक्छौँ । तर त्यहीँ बसोबास गर्ने एवम् मणिपुरको सच्चा इतिहास जान्ने जानकारका माध्यमले त्यहाँको घटनाको मुख्य कारणका साथ हामी नेपालीले त्यो घटनाबाट कस्तो किसिमको पाठ सिकी अगाडि बढ्नुपर्दछ भन्ने विषयमा यहाँ केही भन्ने प्रयास गरिएको छ ।

भारतका उत्तरपूर्वका सातओटा प्रदेशहरू मध्येको एक राज्य मणिपुर वर्मासँग सीमा जोडिएको प्रदेश हो । यो प्रदेशलाई प्राकृतिक सुन्दरताको हिसाबले भारतको स्वीट्जरल्याण्ड भनेर पनि चिनिन्छ । सन् १८९१ मा अङ्ग्रेजहरूले मणिपुरका शासक टीकेन्द्रजीतलाई फाँसी दिई यहाँको शासन व्यवस्था आफ्नो कब्जामा लिएका थिए । भारत अङ्ग्रेजको कब्जाबाट मुक्त भइसकेपछि यसको पनि पुनर्गठन भई केन्द्रशासित भइरहेकोमा सन् १९७२ जनवरी २१ देखि मात्र भारतको स्वतन्त्र राज्यको अभिन्न अङ्गको रुपमा कागजी मान्यता पाएको देखिन्छ । लगभग नेपालकै जति जनसंख्या रही नेपालका पहाडी र तराईका भागको जस्तो वातावरण भएको यस प्रदेशको राजधानी भने इम्फाल हो । प्राकृति हिसावले स्वर्गीय आनन्द रहेको यस प्रदेश अहिले जातीय द्वन्द्वको चपेटामा गहिरो किसिमले फसेको छ । यहाँका मुख्य आदिवासी मैतेयी जातीहरू हुन् । त्यसपछि नागा जाती पनि यहाँका मुख्य आदिवासीहरू नै हुन् ।

कुकी समुदायका केही थोरै मानिसहरूलाई चाहिँ अफिम खेतीका लागि अङ्ग्रेजहरूले वर्माबाट ल्याएका हुन् । त्यसैले मणिपुरमा बसोबास गरिरहेको यो विदेशी मूलको कुकी समुदाय १५० वर्षअघिदेखि मात्र पहाडमा आएर बसोबास गरेको थियो । परापूर्वकालदेखि नै मणिपुरमा बस्दै आएका सत्य सनातन वैदिक हिन्दू धर्मका अनुयायी यी मैतेयी जातीहरू अत्यन्तै करुणाले युक्त भएका हुन्छन् । यस्तै करुणाले युक्त भएकै कारणले यिनीहरूले आफ्नो राज्य मणिपुरमा अङ्ग्रेजहरूले ल्याएपछि पनि वर्माबाट शरणार्थीको रुपमा आएका कुकी समुदायका मानिसहरूलाई बस्नका लागि आश्रय दिए । आश्रय दिनुको अर्को कारण चाहिँ उनीहरू सस्ता सिपाही पनि थिए । तर तिनै सस्ता सिपाही नै मणिपुर राज्यका लागि घातक भएका छन् ।

वर्माबाट आएर त्यहाँ बस्ने क्रम हालमा पनि राोकिएको छैन । यो घुसपैठ रोक्न सरकार प्रयासरत छ तर पूर्णतया सफल हुन सकेको छैन । वर्मामा अङ्ग्रेजको शासनकालमा नै यी पिछडिएका जातिहरूको धर्म परिवर्तन गराई इसाइ बनाइएको थियो । यिनीहरू मणिपुर आइसकेपछि अफिम मात्रको खेती गरेनन् यिनले धर्मान्तरणको पनि खेती गर्न लागे । अझ भारतको स्वतन्त्रता पछि, जब इसाई मिसनरीहरूले उत्तर पूर्वमा स्वतन्त्र हात पाए, तिनीहरूले बाँकी रहेका सबै कुकीहरूलाई धर्म परिवर्तन गराए । त्यसैले अहिले लगभग सबै कुकीहरू ईसाई छन् । यिनैको प्रभावले गर्दा मणिपुरको दोस्रो आदिवासी नागा जाति पनि अधिकांश इसाइ बन्न पुग्यो । यसले केही रुपमा मैतेयीलाई पनि छोयो । मूलतः विदेशी इतिहासकारहरूले मिलेको समाज फुटाउनका लागि थेप्चो अनुहार भएकालाई मङ्गोल नामकरण गरिदिएका मानिसहरू नै कुकी समुदायका मानिसहरू हुन् । तिनीहरूको व्यवहारमा आएको यो क्रूरता विदेशीहरूका झुट्टा इतिहासका कुराहरूले गर्दा नै हो ।

विदेशीहरूले उनीहरूलाई प्रणाली विरुद्ध नै प्रतिरोधको भावना जगाइदिएका छन् । माथि नै बताइसकियो कि मेइतेई मेइती वा मैतेयीहरू मणिपुरका मूल निवासी हुन्। सधैं वनवासीहरू जस्तै जीवन विताउने सभ्य सनातनी मानिसहरू हुन् । पुरानो जमानामा शक्ति उनैको साथमा थियो, उनीहरु मध्येबाट राजा चुनिन्थ्यो । अहिले राज्य छैन, जमिन पनि छैन । मैतेयीहरू मणिपुरको आधाभन्दा बढी जनसंख्या हुन्, तर तिनीहरूसँग करिब १० प्रतिशत मात्र जमिन छ। अर्कोतर्फ, कुकीहरूको जनसंख्या ३०% छ, तर भूमि ९०% छ। तर अचम्म त के छ भने ९० प्रतिशत जमिनको स्वामित्वमा रहेका कुकीहरूले १० प्रतिशत जमिनको स्वामित्वमा रहेका मैतेयीहरू जसले कुकीहरूलाई नै मणिपुरमा आश्रय दिएर राखेका थिए तिनैले मैतेयीलाई नै जनजातिको दर्जा दिन नहुने माग गरेका छन् । उनीहरूको भनाई छ – ती मानिसहरू विकसित छन्, समृद्ध छन्।

अनुसूचित जनजातिको हैसियत दिएमा हाम्रो विकास हुँदैन । हामी शोषित छौं, हामी कुपोषित छौँ । यदि उनीहरूलाई जनजातिको दर्जा दिने हो भने हामीलाई अब इसाइ राज्यको रुपमा छुट्टै राज्य चाहिन्छ । यता हाम्रो देश नेपालमा पनि अब मणिपुरको अवस्था नआउला भन्ने आधार नै छैनन् । हामी बुद्धु नेपालीलाई भूटान र सिक्किमको डर देखाएर भित्र भित्रै मणिपुरको अवस्था ल्याउने योजनामा यस्तै विदेशीबाट पालित पोषित भई उल्टा पुल्टा कुरा सिकाइएकाहरू नै लागिपरेका देखिन्छन् ।

मनाङ् मुस्ताङ्ग आदि हिमाली जिल्लाहरूमा अमेरिका पालित तिब्बतीहरू भरिन थालेका छन् । उनीहरूको धर्म बाहिर बाहिर बुद्धिष्ट जस्तो देखिए पनि भित्र भित्रै क्रिश्चियनका अधिकारका लागि लागेका आङ्‌काजीको जस्तै छ । पहाडहरूका वस्ती वस्ती पनि नव इसाइहरूले भरिन लागेका छन् । उनीहरूलाई विदेशीले इसाइ धर्मका माध्यमले मुक्ति भन्दा पनि यो वर्ग र त्यो वर्ग भनी फुटाएर जातीय द्वन्द्व गराउने खालको प्रशिक्षण दिइरहेका छन् । पहिले पहिले त मणिपुरमा जस्तै यहाँ थेप्चो नाकको आधारमा मङ्गोल भनिएकाहरूलाई हामी हिन्दू धर्मावलम्बी होइनौँ हामी त बौद्ध धर्मावलम्बी हौँ भन्ने पाठ सिकाई विस्तारै विस्तारै इसाइ धर्ममा लगिरहेका थिए । तर अहिले त बाहुन क्षेत्रीलाई पनि यो हिन्दू धर्म त नेपालको धर्म नै होइन । यो त भारतबाट आयातित धर्म हो भन्न भ्याएका कुरा सामाजिक सञ्जालमा आइरहेका छन् ।

उनीहरूको लक्ष्य भनेकै मङ्गोल खस या अरु कुनै मन्दविषका आधारमा जसरी पनि फुटाउनु मात्र हो । मधेशतिर त झन् अति नै विकराल अवस्था छ । मधेसीका नाममा वङ्गलादेश र पाकिस्तानबाट आएकाहरूले नागरिकता त पाएकै थिए । त्यो भन्दा अचम्मको कुरो त १५-१६ वर्ष अघि नेपालमा आएका वर्मेली रोहिङ्ग्याहरूले पनि नागरिकताको लागि आन्दोलन गरिसके । त्यसैले यस्तो अवस्थामा यहाँका आदिवासीहरू विदेशतिर वसाइ सराइ गर्ने अनि यो नेपाल चाहिँ तिनै शरणार्थी र विखण्डनको भाषा सिकाइएकाहरूको रजाईले छिट्टै नै मणिपुरको घटना आउँदैन भन्न सकिँदैन । मणिपुरको घटनाको प्रारम्भिक रुप कोसी प्रदेशमा चलिरहेको घटनालाई लिन सकिन्छ जहाँ भइरहेका घटनामा मङ्गोलियन र नव नागरिकता धारीहरूको प्रबल हात रहेको प्रत्यक्ष देखेकै छौँ । अतः यस्तो अवस्थामा अब के गर्ने भन्ने चेतना सच्चा देशभक्त नेपालीले लिन पर्ने अवस्था आएको छ । अस्तु ।

प्रतिक्रिया