३१ भाद्र २०८१, सोमबार | September 17, 2024

चिनियाँ सुन तस्कर गिरोहसँग महराको कनेक्शन, जेल जानबाट रोक्न प्रचण्डलाई कठिन


0
Shares

काठमाडौं, २३ साउन । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र हुन् कृष्णबहादुर महरा । प्रचण्डकै विश्वास जितेर उनले पटक पटक महत्वपूर्ण जिम्मेवारी पाए । उपप्रधानमन्त्री, गृहमन्त्री हुँदै सभामुख बने महरा । तर, उनी गम्भीर आरोपमा सभामुखबाट पदमुक्त भए ।

एकजना महिलामाथि बलात्कार प्रयासको आरोप लागेपछि सभामुख हुँदा महरा पदबाट हटे । उनीमाथि अनुसन्धान भई थुनामा समेत बसे । त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री थिए भने प्रचण्ड नेकपाका अध्यक्ष थिए । प्रचण्डले निकै प्रयास गर्दा पनि जोगाउन सकेनन् ।

महराले अमेरिकी सहयोगसम्बन्धी एमसीसी सदनमा निर्णयका लागि लान रोकेका थिए । यही विषयले ओलीसँग मनमुटाव थियो । यो प्रकरणमा महराले प्रचण्डलाई निकै साथ दिएका थिए । प्रचण्ड अप्ठ्यारोमा पर्दा जहिले पनि महरा नै सहयोगी बने । गम्भीर गल्तीहरु गर्दा पनि महरालाई पदमा राखे प्रचण्डले ।

अहिले उनै महरा सुनकाण्डमा मुछिएका छन् । चिनियाँ तस्कर गिरोहसँग घनिष्ठ सम्बन्धको प्रमाणहरु फेला पर्न थालेको छ । उनीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले छानबिन बढाएको छ ।

सुन तस्करसँगको साँठगाँठ सम्बन्धमा महराका छोारहरु निर्मल र राहुल पनि अनुसन्धानको दायरामा परेका छन् । गत वर्ष पुस १० मा बरादम ९ किलो सुन प्रकरणमा महरा र उनका दुई छोराहरु मुछिएका हुन् । विद्युतीय चुरोट भेप मा लुकाएर ल्याएको ९ किलो सुन छुटाउन महराको फोन गएको थियो ।

भन्सारबाट बरामदपछि सुन लुकाइएको चुरोन लिलामी गराएर छुटाइएको विषय बाहिर आएको छ । त्यसमा महराले चिनियाँ तस्कर समूहलाई सघाएको विषय अनुसन्धानमा परेको छ । तस्कर समूहका चिनियाँसँग महराको पटक पटक फोन सम्पर्क भएको खुलेको छ । उनले सम्पर्कहरु पनि गरेर यो प्रकरणमा ठूलै आर्थिक लाभ लिएका थिए ।

सुन चोरी गरी विक्री गर्ने भन्सारका कर्मचारी रेवन्त खड्कालाई बलीको बोको बनाउन खोजिएको छ यो प्रकरणमा । तस्कर र उनीहरुलाई सघाउनेहरु जोगाउन खोजिएको छ । तस्कर समूहका चिनियाँ नागरिक फरार छन् । त्यसबाहेक संलग्न भनिएका लोकेन्द्र पौडेल, श्याम शाहलगायत फरार छन् ।

प्रचण्डले महरालाई जोगाउन खोजेका छन् । सीआइबीलाई यस मामलामा अनुसन्धानको सुई महरातर्फ नबढाउन निर्देशन गएको विश्वस्त स्रोतले बताएको छ । तर, प्रचण्ड विस्तारै दबाबमा परेका छन् ।

प्रचण्ड सरकारले सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास मामलामा विपक्षीका नेतालाई तारो बनाएकै छ । भविष्यमा अर्को सरकार गठन भएमा प्रचण्डनिकट महरा तारोमा पर्ने निश्चित जस्तै छ । यसकारण पनि महरा तनावमा छन् । अहिले नै प्रचण्ड दबाबमा परेर उनीमाथि कारबाही हुन पनि सक्छ । तर, प्रचण्ड आफ्नालाई संरक्षण गर्न जान्दछन् । दबाब कतिसम्म थेग्छन् महराको विषयमा त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया