सुशासनका लागि युवाको निगरानी र खबरदारी
जानकी आचार्यः शासनलाई लोक कल्याणका लागि शक्ति र स्रोतको परिचालन गर्ने विधिको रूपमा परिभाषित गर्न सकिन्छ । सुरक्षा निकाय, कानून बनाउने तथा नीति निर्माण गर्ने, त्यसको परिचालन गर्ने, निर्णय लिने र निर्णय कार्यान्वयन गराउने जस्ता यावत कार्य शक्ति अन्तर्गत पर्दछन् भने राजश्व उठाउने र त्यसलाई परिचालन गर्ने अधिकार स्रोतको क्षेत्रभित्र पर्दछन् । कुनै पनि शक्ति र स्रोतको परिचालन आम नागरिकको हितका लागि उनीहरूको जीवन गुणस्तरीय बनाउनका लागि वा नागरिक आवश्यकता र आकांक्षा सम्बोदन गर्नका लागि गरिन्छ ।
सुशासन अर्थात् असल शासन, एउटा आदर्शतम् अवस्था, जहाँ शासकहरूले आफ्नो व्यक्तिगत हितभन्दा माथि उठेर जनताको हितका लागि कार्य गर्दछन्, जनताको सुख, दुःखमा साथमा रहेर जनताले चाहे अनुसार उनीहरूको जीवनस्तरलाई गुणस्तरीय बनाउन शासन गर्दछन् र जनतालाई सरकारले स्रोतको दुरुपयोग गरेको छैन, राम्रो अर्थात् पारदर्शी तरिकाले हाम्रो हितमा कार्य गरिरहेको छ, भन्ने कुराको अनुभूति गराइने अवस्थालाई नै सुशासनको रूपमा परिभाषित गर्न सकिन्छ ।
एउटा शासन असल हुनका लागि अर्थात्, मूलुकमा सुशासन कायम हुनका लागि हरेक निर्णय प्रक्रियामा नागरिकको अर्थपूर्ण सहभागिता हुनु आवश्यक हुन्छ, हरेक निर्णय पारदर्शी हुनु आवश्यक हुन्छ । जनतालाई स्वच्छ, पारदर्शी, सदाचारी एवम् प्रभावकारी तवरले सेवा प्रवाह गरि प्रत्येक नागरिकलाई सुखी, खुसी, सम्पन्नशाली एवम् सन्तुष्ट तुल्याउने कार्य गरिनु आवश्यक हुन्छ । सरकारले गरेका कामहरू नतिजामूलक छन् अथवा जनताको आकांक्षालाई सम्बोधन गर्ने खालका छन् भने मात्र त्यो शासन सुशासनयुक्त शासन हुन जान्छ ।
कुनै समयमा सरकार शासक हो सरकारले मात्र शासन गर्दछ भन्ने मान्यता जनमानसमा हावी थियो । शासन प्रणाली अथवा शासकिय क्रियाकलाप सबै सरकारको हातमा सिमीत हुदैन सरकार शासनको एउटा पात्र मात्र हो सुशासन कायम राख्न सरकार सँगसँगै नागरिक, दाता राष्ट्रहरू, स्वतन्त्र न्यायपालिका, नीजि क्षेत्र, सार्वजनिक प्रशासन, सामाजिक सञ्जाल, संसदीय समिती, राजनीतिक दल, गैरसरकारी संस्था, नागरिक समाज सबैको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यी सबै निकायलाई यस विषयमा जागरूक बनाउने प्रमुख दायित्व आजका युवा वर्गहरूको हुन जान्छ । सरकारले शक्ति पनि जनताबाटै आर्जन गर्ने हो र स्रोत पनि जनताबाट नै आर्जन गर्ने हो यो कुरा पनि हरेक नागरीकले बुझ्नु आवश्यक हुन्छ । तसर्थ कुनै एक पक्ष मात्र सक्रिय भएर पनि हुदैन विकास एवम् समृद्धिका लागि समाजका सबैपक्ष सक्रिय हुनु आवश्यक हुन्छ ।
कुनै पनि क्षेत्रमा वा समाजमा विकास एक निरन्तर प्रकृया हो निरन्तर रूपमा विकासका गतिविधिहरू कहिँनकहिँ भइ नै रहेको हुन्छ चाहे त्यो मन्द गतिमा होस् या तिब्र गतिमा, । उक्त विकासको प्रकृयालाई तिब्र गतिमा लैजाने वा मन्द गतिमा नै चलिरहन दिने भन्ने कुरा सरकार सँगसँगै हरेक नागरिकमा निर्भर हुन जान्छ । त्यसका लागि समाजमा भइरहेका गतिविधिहरूमा निरन्तर निग्रानी एवम् सहभागीता आम नागरीकले विशेष गरि समाजका युवा जनशक्तिले देखाउनुपर्ने हुन्छ ।
कुनै ठाउँमा सडक निर्माणको बजेट आएको छ, त्यो ठाउँमा अलगअलग टोलहरू छन् ति मध्ये पनि जुन टोलका वासिन्दा स्थानीय निकायको हरेक निर्णय हरेक नीति निर्माणमा सक्रिय छन्, आफ्नो क्षेत्रमा कति बजेट आएको छ, त्यो बजेट कहाँ खर्च भइरहेको छ यस बारे उनीहरू जागरुक छन् निरन्तर सरकारलाई घच्घच्याइरहन्छन्, त्यो टोलमा सडक पनि छिटो पुगेको हुन्छ, बिजुलीमा समस्या देखिएता पनि सबैभन्दा छिटो समस्या समाधान हुन्छ, स्वास्थ्यसेवाको पहुँच राम्रोसँग भएको छ उक्त टोल हरेक तवरबाट अगाडि नै हुन्छ यो नेपाली समाजमा हरेक समुदायले अनुभव गरेकै हो ।
जहाँ सरकार सँगसँगे स्थानीय वासी त्यहाँका युवा वर्ग पनि हरेक गतिविधिमा जागरूक हुन्छन् त्यहाँ विकासको गतिले तिब्रता लिइरहेको हुन्छ । अझ जब कुनै समाजका युवा जनशक्ति नीति निर्माणका हरेक प्रक्रियामा चासो देखाउँछन्, सरोकारवालाहरूलाई निरन्तर खबरदारी गरिरहन्छन् , हरेक संवैधानिक निकाय होस् या अन्य विविध सामाजिक गतिविधि हरेक प्रकृयामा निरन्तर खबरदारी, निग्रानीका साथ आफ्नो अर्थपूर्ण सहभागीता जनाउने गर्दछन् तब त्यस क्षेत्रले आम तवरभन्दा तिब्र गतिले विकासको क्रममा फड्को मारिरहेको हुुन्छ । समाजका हरेक नागरीक हरेक युवावर्ग यो विषयमा जागरूक हुन आवश्यक छ ।
युवा भविष्य सँगसँगै वर्तमान पनि हो । वर्तमानको कर्मको माध्यमबाट भविष्यको दिशा निर्माण गर्ने माध्यम नै युवा हो । जोश र जागरको सही उपयोग एवम् सदुपयोगका साथ लक्ष्य प्राप्तिमा निरन्तर कटिबद्ध रही कार्य गर्न सक्ने सामथ्र्य युवामा हुने गर्दछ । देशको नीति निर्माणको क्षेत्रमा जति युवा वर्गको सहभागिता बढ्दै जान्छ त्यति नै समाज तथा राष्ट्रका हरेक कार्य न्यायोचित एवम् पारदर्शी तरिकाले अगाडि बढ्न सक्दछन् । तसर्थ समाजका हरेक गतिविधिहरूमा युवावर्गहरूको अर्थपूर्ण सहभागिता हुनु आवश्यक हुन्छ । हरेक नीति निर्माण, स्रोत बाँडफाँड तथा परिचालनका हरेक निर्णय प्रक्रियामा युवाहरूको अर्थपूर्ण सहभागिता हुनु आवश्यक हुन्छ ।
वर्तमान परिप्रेक्ष्यमा केही हदसम्म युवा जनशक्तिको चासो हरेक नीति निर्माणको क्षेत्रमा बढ्दै गएको पनि देख्न पाइन्छ । राजनीति भन्दा अलिक माथी रहेर सामाजिक गतिविधिलाई नियाल्ने जनशक्तिको मात्रा विस्तारै बढ्दो क्रममा छ जसले अबका दिनमा समाजमा न्यायोचित व्यवस्था वा गतिविधिहरू सृजना हुने र देशका हरेक क्षेत्रमा अब सुशासन प्रकृया र विकासले तिब्रता लिनसक्ने आँकलन गर्न सकिन्छ । समाजलाई सुशासन तर्फ अग्रसर गराउन हरेक युवा जनशक्तिले चासो दिइरहेको, सुशासनमा मेरो सहभागिता पनि हुनु आवश्यक छ भन्ने विचार समाजका युवाहरूमा बढ्दै गएको देखिदैछ । त्यसमा पनि दलगत राजनीति भन्दा अलग रहेर स्थानीय तहको विकासका लागि बढ्दै गएको युवा नेत्रित्वको सहभागिता, स्वतन्त्र युवा नेत्रित्वमा भइरहेको वृद्धिले समाजमा सुशासनको नयाँ किरण जागृत भएको अनुभव हामीले गर्न सक्छौँ । यो आशको किरणलाई निरन्तर प्रकाशित गरिरहन हरेक युवा शक्तिमा राष्ट्र प्रेम, समाज र राष्ट्र उन्नतीमा हाम्रो सहभागिता के छ भन्ने भावना उत्पन्न हुनु आवश्यक छ। सामाजिक सञ्जालले पनि त्यसमा विशेष भूमिका निर्वहन गरिरहेको छ । आजको दिनमा सामाजिक सञ्जालले कुनै पनि सूचना तिब्र गतिमा हरेक क्षेत्रमा सजिलै पुर्याउनका लागि विशेष भूमिका खेलिरहेको हुन्छ । विशेषगरि सामाजिक सञ्जालप्रति युवाहरूको बढ्दो आकर्षणले गर्दा पनि त्यसको माध्यमबाट सजिलैसँग उनीहरूमा देशको नीति निर्माणमा भइरहेका गतिविधिहरू, राष्ट्र हितमा चालिएका कदमहरू लगाएत हरेक तहका विविध सूचना तिब्र गतिमा प्रवाह भइरहेका छन् ।
सामाजिक सञ्जालको उचित एवम् न्यायोचित सदुपयोगले पनि मूलुकमा सुशासन कायम गर्न सहयोग गरिरहेको छ । समयमै सूचनाको प्रवाहले गलत गतिविधिहरूको समयमा नै खबरदारी गर्न सहज वातावरण सिर्जना भएकाले पनि यसलाई वर्तमान समयको सकारात्मक पक्षको रूपमा नै लिन सकिन्छ र यस्ता गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउनका लागि प्रत्येक निकाय अझ विशेषगरि युवा वर्गहरू झन् बढि जागरूकताका साथ सजग हुन आवश्यक छ । समाजमा विकास एवम् सकारात्मक परिवर्तनका लागि निरन्तर रूपमा सरोकारवालाहरूलाई खबरदारी गर्ने, उनीहरूलाई निरन्तर घच्घच्याइरहने गर्नुपर्छ । विभिन्न तहका सरकारको निरन्तर कार्य सँगसँगै समाजका समग्र नागरीक, युवावर्गहरूको निरन्तर खबरदारिता र अर्थपूर्ण सहभागिताले नै मूलुकमा सुशासन कायम भइरहन सक्छ ।
जब नागरिक स्वयम् सक्षम एवम् जागरूक हुन्छ तब सम्बन्धित निकायलाई पनि त्यो क्षेत्रको कार्य गर्न दबाव सिर्जना हुन्छ । युवावर्ग भनेको त्यही दबाव समूह हो । बढ्दो राजनीतिक अस्थिरता तथा असन्तुलनका कारण अधिकांश युवा, नागरिकहरूमा वितृष्णा, निराशावादी प्रवृत्ती देखिएता पनि सम्बन्धित निकायको निरन्तर निग्रानी गर्ने उनीहरूलाई खबरदारी गर्ने कार्य निरन्तर जारी राखिरहनुपर्दछ । तब मात्र दबाव समूहले देशको सुशासन प्रकृयालाई अगाडि बढाउन सहायक भूमिका निर्वहन गर्न सक्दछ । नैराश्यताको भावना उत्पन्न हुदै गर्दा यो नैराश्यताको समाधान पनि हामी नै हो भन्ने भावना हरेक युवाको मनमा जागृत हुनु आवश्यक हुन्छ । व्यवस्था मात्र परिवर्तन भएर हुँदैन अवस्था परिवर्तन हुनका निमित्त समाजका हरेक नागरीक जागरूक हुन आवश्यक हुन्छ । संसदमा भइरहेको गतिविधि, आफूले मतदान गरेर जिताएका जनप्रतिनिधिहरूको संसदमा सहभागिता, कुन सांसदले कति पटक बोले?, महिला प्रतिनिधिको सहभागिता कस्तो रह्यो?,कुन कुन विषयविन्दुमा चर्चा भयो यावत कुराहरूको हेक्का पनि युवा वर्गहरूले राख्नुु जरूरी हुन्छ । यसैको आधारमा अर्काे पटक कुन प्रतिनिधिलाई माथि लैजाने भन्ने कुराको उचित निर्णय पनि हामीले गर्न सक्छौँ ।
युवा पुस्ताले आफ्रलाई समाजको एक सचेत नागरीक, सामाजिक पहरेदारको रूपमा स्थापित गर्नु आवश्यक हुन्छ । कुनै राजनीतिक पार्टीको चस्मा लगाएर हेर्नु पूर्व म र मेरो देशका लागि मेरो कर्तव्य के हो, आफूलाई राजनीति भन्दा अलिक पर राखी निष्पक्ष ढंगबाट सहीलाई सही र गलतलाई गलत भनि आफ्नो तर्क राख्न सक्ने युवाशक्तिको आजको समाजमा आवश्यकता छ र हामी समस्ता युवाले यस विषयमा चिन्तन गर्नु आवश्यक हुन्छ ।-आचार्य प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको राष्ट्रिय सचिव हुन्